Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

अखिल (क्रान्तिकारी) संकटमा : नेतृत्वको गत्यावरोध र संगठन विघटनको संघारमा


योगेश खपाङ्गी

माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लामो समयदेखि विद्यार्थी राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आएको थियो । तर, पछिल्ला वर्षहरुमा संगठनभित्र देखिएको गुटबन्दी, नेतृत्व संकट र संस्थागत अस्थिरताले यसको अस्तित्वमै गम्भीर चुनौती खडा गरेको छ । बाढी र चाडबाडका कारणले सम्मेलन स्थगित भनिए पनि मुख्यतः सम्मेलन हलमा खुकुरी प्रदर्शन जस्ता अप्रिय घटना हुनु, २३२३ प्रतिनिधि भनिए पनि प्रतिनिधि छनोट प्रक्रियामा पारदर्शिता र समयमै निर्णय लिन नसक्नु, जो अद्यावधिक छ, उमेर हदसम्बन्धी विवाद पनि समाधान भइसकेको छैन । यी सबै समस्याहरू समाधान नगरेसम्म पुनः घोषणा गरिएको सम्मेलनको सम्भावना पनि क्षीण छ । संगठनभित्र उचित संवाद, समस्या समाधान र सहमति निर्माणको प्रक्रिया अघि नबढेसम्म यो अवस्था सुध्रन गाह्रो देखिन्छ । वास्तवमा पार्टी नेतृत्वले समयमै सही बाटोमा नलैंजाँदा संगठनभित्रको आन्तरिक विभाजन थप गहिरिएको छ ।

गुटबन्दी र संगठनभित्रको विभाजन

अखिल (क्रान्तिकारी) मा गुटबन्दी कुनै नयाँ विषय होइन । तर, पछिल्ला केही वर्षमा यो प्रवृत्ति अत्याधिक बलियो बनेको छ । नेताहरूले व्यक्तिगत स्वार्थलाई संस्थागत प्राथमिकताभन्दा माथि राख्ने र आआफ्नो गुट निर्माणमा सक्रिय रहँदा संगठनको सामूहिकता खण्डित भएको छ । लामो समयदेखि संगठनमा बसेर तर मारेकाहरु, जसको पार्टीको शीर्ष नेतृत्वसम्म पहुँच छ, तिनले आफू नेतृत्वमा आउन नसक्ने भएपछि सबैखालका अवाञ्छित हर्कत नै गरे । पार्टी अध्यक्ष प्रचण्डका लामो समय स्वकीय सचिवको भूमिकामा रहेर केही महिना लुम्बिनीका मुख्यमन्त्री बनेका जोखबहादुर महरा `प्रताप´ का छोरा तुकमान महरा, जो विघटित अखिल (क्रान्तिकारी) का उपाध्यक्ष हुन, ले उमेर हदको बारेमा मतदान गर्ने बहस चलाउँदा सम्मेलन हलमा खुकुरी प्रदर्शन नै गरे, तिनलाई सामान्य निलम्बन समेत गरिएन । राजनीतिमा लागेर वर्गाेत्थान गरेका भनेर पार्टीमा नै व्यापक आलोचित रहेका यो परिवारले काठमाडौंको टोखामा आलिशान महल बनाएको छ, त्यहीं पालिकामा स्थानीय पार्टीले विरोध गर्दागर्दै पार्टीलाई क्रस गरेर तुकमानले आफ्नो अनुकूल नेतृत्व ल्याए । यही काम सिन्धुली जिल्लामा समेत गर्न खोजे तर त्यहाँ चाहिं उनी जिल्ला पार्टी र वहुसंख्यक विद्यार्थीका कारण असफल बने । अध्यक्ष प्रचण्ड र उनको आसपासमा बस्नेहरुलाई पार्टीमा कुनै दण्ड हुँदैन भन्ने एउटा उदाहरण प्रचण्डका पूर्व स्वकीय सचिव जाेखबहादुरका छाेरा तुकमानले सम्मेलनमा देखाएको अवाञ्छित हर्कतले पनि देखाएको छ । उनलाई स्पष्टीकरण साेध्ने, निलम्बन गर्ने काम गर्नुपर्ने अधिकांंश विद्यार्थीकाे माग रहेकाे छ ।

अखिल (क्रान्तिकारी) का विघटित महासचिव दीपेश पुनको हर्कत त राष्ट्रिय राजनीतिमा नै स्थापित छ । जीबी राईसँग मिलेर सहकारी ठगी प्रकरणमा जोडिएर केही समय अगाडि मात्र रिहा भएका पुन रवि लामिछानेको छानविन प्रकरणमा सरकारले कडाइ गरेपछि फरार रहेको सरकारी पक्षले बताएको छ । अध्यक्षका उम्मेदवार भनेर प्रचारित दीपेश पुन एक हप्तादेखि सम्पर्क विहीन छन् । सरकारी स्रोतले उनी भारतमा रहेको चर्चा गरिरहेको छ ।
गुटबन्दीका कारण अहिले संगठनको नीति र कार्यक्रम तय गर्न असमर्थता देखिएको छ । विभिन्न चार/पाँच वटा गुटहरूबीच आपसी अविश्वास देखिएकाले सदस्यहरूको सक्रियता र विश्वासमा कमी देखिएको छ ।

पार्टीको असफलता

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीभित्र बलियो नेतृत्व भए पनि विद्यार्थी संगठनको एकता कायम राख्न उनले अपेक्षाकृत भूमिका निर्वाह गर्न सकेका छैनन् । प्रचण्डले चाहेर पनि उद्घाटन भइसकेको विद्यार्थी सम्मेलन नेतृत्व चयन नगरी स्थगित भएबाट पार्टीमा नेतृत्व कमाण्ड गुम्दै गएको देखिएको छ । वाईसीएल जस्तै विद्यार्थी संगठन पनि कोमामा गएर अन्ततः विघटनतिर जाने खतरा देखिदैंछ । यसले नयाँ पुस्ता नेतृत्व निर्माणको आधार माओवादी केन्द्रमा भत्कदैं गएको प्रमाणित  हुन्छ।

सम्मेलन स्थगनको असर

सम्मेलनको स्थगनले संगठनभित्रको असन्तुष्टि र अनिश्चितता थप बलियो बनाएको छ । मंसिर २३–२४ का लागि तोकिएको यो सम्मेलन अझै हुने वा नहुने अनिश्चय रहेको छ । अध्यक्ष प्रचण्डले अध्यक्षमा अगाडि सारेका पवन कार्की भन्छन, `२३–२४ गते सम्मेलन जसरी पनि गर्ने हुन्छ । सम्मलेन नहुँदा संगठन विघटनमा जान सक्छ ।´

उमेर हद र नेतृत्व परिवर्तनको बहस

संगठनभित्र उमेर हदको मुद्दा विवादको अर्को प्रमुख कारण बनेको छ । युवा पुस्ताले नेतृत्व लिने समय आएको भए पनि पुराना नेताहरूले आफ्नो पकड कमजोर हुन नदिन गरेको प्रयासले नयाँ नेतृत्वको सम्भावना कमजोर बनाएको छ । कार्की भन्छन, `एकैपटक सबै कुरा हुँदैन । मुख्य दुई चार पदमा उमेर हद नलगाउने र अधिकांश पदमा २८ भन्दा कम उमेरका विद्यार्थीलाई नेतृत्वमा लैजाने गरी सन्तुलन मिलाउन हामीहरू लागिरहेका छाैं ।´

पवन कार्कीलाई अगाडि सार्दा संगठनभित्र नकारात्मक असर पार्ने धेरै विद्यार्थीको धारणा छ । वर्षाै संगठनमा समानान्तर गतिविधि गर्नेलाई नेतृत्वमा ल्याउँदा संगठनभित्रको द्वन्द्वलाई समाधान गर्नुको सट्टा थप पेचिलो बनाउने जोखिमसमेत छ । गुटबन्दी र नेतृत्व असफलताको दीर्घकालीन असर संगठनको संरचना र कार्यक्षमतामा प्रस्टै देखिन्छ ।

`अब फेरि पनि विवादमा रहेकाहरुलाई नेतृत्वमा ल्याउँदा विद्यार्थीको राजनीतिमा घट्दो प्रभावलाई बढावा दिने, संगठनका कार्यक्रमहरूमा सामूहिक सहभागिताको कमी हुने र आमसदस्यहरूको मनोबल कमजोर हुँदै जाने खतरा रहेको´ माओवादी केन्द्रका नेता महेश्वर दाहाल बताउँछन् । उनी भन्छन, ‘यो संकटलाई समाधान गर्न केही आधारभूत सुधार आवश्यक छ । संगठनलाई वैचारिक रूपमा सशक्त बनाउने रणनीति बनाउन आवश्यक छ । विद्यार्थीहरूको वास्तविक समस्या सम्बोधन गर्ने ठोस कार्यक्रम ल्याउनुपर्छ । शैक्षिक कामलाई प्राथमिकता दिएर काम गर्नुपर्छ । नीति, नेतृत्व निर्माणमा विकेन्द्रीकरण र पारदर्शितालाई प्राथमिकता दिनुपर्छ ।´

गुटबन्दीको अन्त्यका लागि अध्यक्ष प्रचण्डले नै पहिला निष्पक्ष भूमिका खेल्नुपर्छ । उहाँ र उहाँका वरपर रहेकाले गुटबन्दी नगर्ने वित्तिकै आधा गुटबन्दी घट्छ । युवा नेतृत्वलाई नेतृत्वमा अवसर दिएर संगठनभित्र नयाँ ऊर्जा भर्न सकिन्छ । पुराना नेताहरूले मार्गनिर्देशन मात्र गर्ने भूमिका अपनाउनु पर्छ ।

र, अन्त्यमा, अखिल (क्रान्तिकारी) अहिले गम्भीर संकटको स्थितिमा छ । संगठनभित्रको गुटबन्दी, नेतृत्वको असफलता र संस्थागत अस्थिरताले यसको अस्तित्वलाई नै चुनौती दिएको छ । नेतृत्वले समयमै ठोस कदम चाल्न नसके संगठनको प्रभाव घट्दै जाने निश्चित छ । यदि संगठनभित्र एकता कायम गर्न र नयाँ पुस्तालाई आकर्षित गर्न सकिएन भने माओवादी आन्दोलनको यो प्रमुख विद्यार्थी संगठन केवल इतिहासको पानामा सीमित हुनसक्छ । समयमै सुधारात्मक कदम चालेर मात्र यसको भविष्य सुरक्षित राख्न सकिन्छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट