Techie IT
Samayabaddha
सोमबार, २२ पुस, २०८१

मंसिर १६ को स्थानीय तह उपनिर्वाचनको संकेत : वामपन्थीलाई धक्का


यसपटकको स्थानीय तह उपनिर्वाचनले नेपालको राजनीतिलाई नयाँ संकेत देखाएको छ । वामपन्थी गठबन्धनको फुट र यिनीहरूको बीचको मुख्य प्रतिस्पर्धाले चुनावी नतिजामा नकारात्मक असर पारेको छ । माओवादी केन्द्रका प्रभावित क्षेत्रहरूमा पराजय हुँदा नेपाली कांग्रेसले ठूलो सफलता प्राप्त गरेको छ भने एमालेको जनमत पनि घटेको छ ।

उपनिर्वाचनले विभिन्न क्षेत्रमा पार्टीहरूको प्रभावलाई स्पष्ट देखाएको छ । नेपाली कांग्रेसले धेरै स्थानमा आफ्नो स्थिति मजबुत बनाएको भए पनि केही स्थानमा पराजय भोगेको छ । यसैगरी माओवादी केन्द्र र एमालेले पनि केही विजय हासिल गरे । राष्ट्रिय स्वतन्त्र पार्टी भने अपेक्षाअनुसार विस्तार गर्न असफल भएको छ । जबकि जसपा पार्टीले तराई क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएको छ ।

कुल मिलाएर स्थानीय तहको यो उपनिर्वाचनले नेपालको राजनीतिमा नयाँ परिवर्तनको संकेत गरेको छ, यथास्थितिमा आगामी चुनावमा काँग्रेससहित गैरवामपन्थीले निर्वाचन जित्ने सम्भावना छ ।

यो समाचार तयार पार्दासम्म् बिभिन्न ४२ वटा स्थानीय तहमा भएको निर्वाचन परिणामको लागि निकै कौतुहलताका साथ हेरिएको काठमाडौंको कीर्तिपुर नगरपालिका १ को अध्यक्षमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जनले जीत हात पारेका छन् । ५६२ मतसहित उनी निर्वाचित भएका हुन् । यसअघि पनि यहाँ कांग्रेसले नै जितेको थियो ।

त्यसैगरी ताप्लेजुङको सिरिजंघा गाउँपालिका– ३ को वडाध्यक्षमा नेकपा (एमाले)की कुमारी सावादेन निर्वाचित भइन् । उनले ३५३ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)की अम्बि सावादेनले २५१ मत प्राप्त गरिन् ।

झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भए । उनले ४९३ मत प्राप्त गरी विजयी भए । यहाँ नेकपा (एमाले) का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे । यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले) का दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित भएका थिए ।

गुल्मीको मुसिकोट नगरपालिका–१ के वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठले विजयी भए । श्रेष्ठले ११ सय ८४ मत प्राप्त गरि विजयी बनेका हुन् । श्रेष्ठका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार दल बहादुर थापाले ९३० मत प्राप्त गरे । त्यसैगरी माओवादी केन्द्रका दुर्गाबहादुर बिकले १४३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ईश्वरी खातीले मात्र ५ मत प्राप्त गरे ।

त्यसैगरी महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले विजयी भएको छ । एमालेका सकिवुल खाँ ६३१ मत ल्याउँदै विजयी भएका हुन् । दोस्रो स्थानमा नेकपा माओवादी केन्द्र रह्यो । माओवादी उम्मेदवार आइती कुमार यादवले ५३४ मत प्राप्त गरिन् भने कांग्रेस उम्मेदवार मोहम्मद जनिफ खाँले २८४ मत पाए ।

स्थानीय तह उपनिर्वाचन अन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा नेकपा एमालेका लालबहादुर शाही निर्वाचित भए । उनले पाँच सय ७४ मत प्राप्त गरी उक्त पदमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका रेशमबहादुर शाहीलाई ३ मतले पराजित गर्दै उनी वडाध्यक्षमा विजयी भएका हुन्

त्यसैगरी नेकपा माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का रामबहादुर शाहीले ५३, राप्रपाका रेशमबहादुर मल्लले १३ र नेमकिपाका पूर्णप्रसाद उपाध्यायले चार मत प्राप्त गरे । यसअघि यो वडाको वडाध्यक्षमा नेकपा एमाले नै विजयी भएको थियो ।

त्यसैगरी गोरखा नगरपालिका–५ को वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर विजयी भए । उनी ४ सय ८६ मतका साथ विजयी बनेका हुन् । उनका निकटतम प्रति द्वन्द्वी कांग्रेस उम्मेदवार भाइकाजी आले ४ सय २ मत ल्याएर पराजित बने । ८४ मतान्तरले मगर विजयी बनेका हुन् । उक्त वडाको वडा अध्यक्षमा यसअघि नेकपा एमाले विजयी बनेको थियो ।

रौतहटको इशनाथ नगरपालिका वडा नं मा ७ मा कांग्रेसका शेख अब्दुल खलिक विजयी भए । खलिक ६२७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका शेख अनवरले ५७५ मत ल्याए ।

त्यसैगरी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ को अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी भए । कांग्रेसका खत्रीले पाँच सय ९० मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जसीराम बस्नेतले पाँच सय ३७ मत प्राप्त गरे ।

जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भए । उक्त पदका लागि उपनिर्वाचनमा कांग्रेस उम्मेदवार सिंहले तीन सय ४७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का गोरखबहादुर नेपालीले तीन सय ३२ मत प्राप्त गरे । त्यस्तै नेकपा (एमाले) का डम्बरबहादुर घर्तीले दुई सय ५२ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लालबहादुर खत्रीले आठ मत ल्याए ।

त्यसैगरी डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजयी भए । थापाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् । उनले ४६८ मत प्राप्त गरेका थिए भने एमालेका थापा ३०१ मा सीमित बने । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जानकी कुमारी खड्का ३१ मत, माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापाले २६ मत पाए ।

स्थानीय तहको उपनिर्वाचन अन्तर्गत दार्चुलाको दुहुँ गाउँपालिका–५ मा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भए । कुँवरले खसेको मत ८७७ मध्ये ३७६ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार मानसिहं बडालले ३५८ मत प्राप्त गरे । यस्तै माओवादी केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लाल सिंह कुँवरले २५ मत प्राप्त गरे ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा एमालेका उम्मेदवारा गंगा तामाङले ३९९ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका धनश्याम दाहालले १७७ मत पाए । रास्वपाका विष्णु पोखरेलले एक सय १५१ मत पाउँदा माओवादी केन्द्रका मानबहादुर सुनुवारले २३ मत पाए । २०७४ र २०७९ को निर्वाचनमा यहाँ कांग्रेस विजयी भएको थियो ।

निर्वाचन अन्तर्गत रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार भुपमणी पुन मगर विजयी बने । उनले ६४३ मत ल्याएर विजयी भएका हुन् । नेकपा एमालेका वेगम पुनले ५३५ मत ल्याए । यस्तै नेकपा माओवादीका नरेशजंग सिंहले ७० मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पहल बहादुर वलीले १० मत प्राप्त गरेका छन् ।

त्यसैगरी कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही निर्वाचित भए । उनी १४३ मत ल्याएर वडाध्यक्षमा विजयी भए हुन् । यहाँ एकीकृत समाजवादीको साथ पाएको माओवादीका नैशोभा शाहीले ११५, एमालेबाट ऐनबहादुर शाहीले ७८, कांग्रेसबाट पैलन बहादुर शाहीले ४९ मत पाएका छन् । यहाँ यसअघि माओवादीले जितेको थियो ।

स्थानीय तहको उपनिर्वाचन अन्तर्गत धनुषाको धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्र विजयी भयो । माओवादी केन्द्रका उम्मेदवार शुनिल कापर केवट ६ सय ८४ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अशोक कुमार मण्डलले ६ सय २ मत प्राप्त गरे ।

सुनसरीको गढी गाउँपालिका–६ मा नेपाली कांग्रेस उम्मेदवार तेतर साहु बिजयी भए । उनले ८ सय १६ मत प्राप्त गरि निर्वाचित भएका हुन् । साहले माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारलाई २४ मतले पछि पार्दै वडाअध्यक्षमा विजयी बनेका हुन् । माओवादीका खेरवारले ७ सय ९४ मत प्राप्त गरे । २०७९ को निर्वाचनमा यस वडा जितेको एमाले उपनिर्वाचनमा तेस्रो स्थानमा झरेको छ ।

त्यसैगरी बझाङको सुर्मा गाउँपालिका– ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र पुजारा विजयी भए । पुजारा ६५७ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लठिचन्द्र बोहराले ४८७ मत प्राप्त गरे । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत मात्र पाए । यो वडामा ०७९ को निर्वाचनमा एमालेले जितेको थियो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारु विजयी बने । उनले १ हजार ४३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी शेरबहादुर थारुले ६७८ मत पाए । नेकपा एमालेका विष्णुप्रसाद देवकोटा ३३७ मतसहित तेस्रो स्थानमा रहे ।

रौतहटको राजपुर नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली काँग्रेसका समसे आलम विजयी भए । आलमले सात सय ४४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिकरुलाहले चार सय ६३ मत प्राप्त गरे । (एमाले)का मोहम्मद नसिम अख्तरले चार सय ३१, जनमत पार्टीका क्यामुदिन धुनियाले ४५, स्वतन्त्र उम्मेदवार शेख रेयाजले ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनारायण प्रसाद जयसवालले १७, स्वतन्त्र उम्मेदवारहरु शेख मुस्ताक अहमदले दुई, नजमा खातुनले एक र शेख अतिउल्लाहले एक मत प्राप्त गरे ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका– ४ को वडा अध्यक्षमा जसपा नेपालका उम्मेदवार विजयी भए । जसपा नेपालका देवेन्द्र यादव ३७२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २७७ मत ल्याए ।

तेह्रथुमको लालिगुँरास नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु निर्वाचित भए । लिम्बुले ४ सय ४० मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बुद्धबहादुर लिम्बुले ३ सय ६० मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जिव खड्काले ३८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुमार विश्वकर्माले २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नबहादुर श्रीपालीले ४, स्वतन्त्र उम्मेदवार वसन्त लिम्बुले ४ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रेमबहादुर खड्काले २ मत प्राप्त गरे ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भए । चन्द एक हजार १०७ मत प्राप्त गर्दै विजयी भएका हुन् । २०७९ सालको निर्वाचनमा पनि यो वडामा नेपाली कांग्रेस नै विजयी भएको थियो ।

नुवाकोटको ककनी गाउँपालिका–२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण घिमिरे (मिलन) विजयी भए । नेपाली कांग्रेसका उम्मेदवार सुर्य तामाङलाई करिब दोब्बर मतले पछि पार्दै उनी विजयी भएका हुन् । गत २०७९ को निर्वाचनमा घिमिरेले कांग्रेसकै तिलक लामासँग १ सय ५४ मतले हार ब्यहोरेका थिए । त्यतिबेलाको पराजयलाई झण्डै दोब्बर मतले बदला लिँदै घिमिरे विजयी भएका हुन् ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका उम्मेदवार मोहमद ताहिर मुसलमाननिर्वाचित भए । एमाले उम्मेदवारका निकटतम प्रतिद्वन्द्वी कांग्रेशका दिनेशकुमार यादवले १ हजार ७६ मत प्राप्त गरेका थिए ।

त्यस्तै, जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४ सय २३ मत प्राप्त गरेका छन् भने जसपा नेपालका रामबहादुर कुर्मी चौधरीले ३ सय ४१ मत प्राप्त गरेका छन् । यहाँ माओवादी केन्द्रका उम्मेदवार रफि मोहम्मद मुसलमानले १ सय ३८ मत ल्याउँदा रास्वपाका अशोककुमार चौधरीले ९२ मत ल्याएका थिए भने राप्रपा उम्मेदवार इनताज अहमद धोवीले ६६ र नागरिक उन्मुक्तिका उम्मेदवार सूर्यकुमार चौधरी थारुले ३३ मत प्राप्त गरे ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी बने । तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी भएका हुन् । तिवारीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रबिकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरे । विसं २०७९ को निर्वाचनमा तिवारी माओवादी केन्द्रका ललितबहादुर घलानसँग ३१ मतले पराजित भएका थिए ।

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका १२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र निर्वाचित भएको छ । माओवादी उम्मेदवार नवीन कुमार बान्तावा राई ९२३ मत ल्याएर निर्वाचित भएका हुन् । नेकपा एमालेका लक्ष्मी नारायण चौधरीले ६०८ मत पाउँदा कांग्रेसका सञ्जीव काफ्लेले ३५९ मत मात्रै पाए । यसअघि यो वडामा नेपाली कांग्रेसले जितेको थियो । तर यसपटक यहाँ कांग्रेस उम्मेदवार ठूलो मतान्तरले पछि परे । २०७९ को निर्वाचनमा माओवादीले नविनलाई नै उम्मेदवार बनाएको थियो । तर उनी तेस्रो भएका थिए ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भए । साहले छ सय ५२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले पाँच सय ८७ मत प्राप्त गरिन् ।

साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भगबानी साहले दुई सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका सतिशकुमार चौधरीले एक सय ६५, जनमत पार्टीका शैलेन्द्रकुमार साह (तेली)ले ७४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमोदकुमार सन्तले २९, नागरिक उन्मुक्ति पार्टीका अनरुदप्रसाद चौधरीले २० र स्वतन्त्र उम्मेदवार सुशील साहले दुई मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी गढीमाई नगरपालिका–८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव निर्वाचित भए । यादवले ६५५ मत पाए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी जिउती देवी यादवले ६३१ मत ल्याइन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि यो वडामा जसपा नेपालका रामाज्ञा राय यादवले जितेका थिए । उनकी पत्नी जिउती एमाले प्रवेश गरेर चुनाव लडेकी हुन् । तर पराजित भइन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । सो पार्टीकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी हुन् ।

दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरिन् । त्यस्तै २ हजार २ सय १४ मतसहित कांग्रेसका देवेन्द्र पाठक तेस्रो स्थानमा रहे । नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्यामकृष्ण श्रेष्ठले ७ सय ७४ मत पाए । काठमाडौं–१६ मा १० हजार ५ सय ५८ मत खसेको थियो भने १ सय ८० मत बदर भएको छ । २०७९ को स्थानीय चुनावमा कांग्रेसबाट मुकुन्द रिजालले जितेका थिए ।

त्यसैगरी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले)की सुलोचनाकुमारी भण्डारी विजयी भइन् । उनी एक हजार ७४० मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार ४७४ प्राप्त गरिन् । निर्वाचित भण्डारी २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन् ।

उपनिर्वाचन अन्तर्गत दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १२७ मत ल्याउँदै विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक बहादुर भण्डारीले २ हजार ६७५ मत ल्याए । त्यस्तै, नेकपा माओवादी केन्द्रका जंगबहादुर बराल मगरले ८४२ मत प्राप्त गरे । यहाँ २०७९ सालको निर्वाचनमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत पाएर विजयी भएका थिए ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भइन् । नरपुराले ३ हजार ६ सय २७ मत ल्याइन् । कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १ सय २८ मत प्राप्त गरिन् । कांग्रेस उम्मेदवार तुलाचन एमालेको महिला संगठनकी केन्द्रीय सदस्य हुन् । एमाले र कांग्रेसबीच गठबन्धन भएपछि एमालेकी नेता तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी हुन् ।

पालिकाभरि कुल ११ हजार १ सय ८० मतदाता रहेकोमा ५ हजार ९ सय ३१ खसेकोमा ५ हजार ७ सय ५५ मत सदर हुँदा १ सय ७६ मत बदर भएको छ । गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा यसअघि माओवादी केन्द्रकै तर्फबाट उम्मेदवार भएका पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं. वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त भएका थिए । यसपल्टको उपनिर्वाचनमा एमालेका तर्फबाट कांग्रेसको चुनाव चिह्न लिएर केशकुमारी तुलाचनलाई र माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढालाई उम्मेदवार बनाएको थियो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट