माओवादी पदाधिकारी बैठकको निष्कर्ष : पार्टीले आगामी निर्वाचन एक्लै, आफ्नै अजेण्डा लिएर लड्छ
विआरआई सम्झौता फ्रेमवर्क बारे माओवादी मौन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
आजको सो बैठकमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट संख्या र लोकप्रिय जनमत दुबै हिसाबले प्राप्त परिणामलाई उत्साहजन भएको निष्कर्ष वैठकले निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । प्रवत्ता सापकोटाका अनुसार माओवादी केन्द्र आगामी निर्वाचनमा आफ्नै एजेण्डासहित एक्लै निर्वाचन लड्न सक्छ भन्ने आधार तयार गरेको आजको कार्यालय बैठकले निष्कर्ष निकालेको छ ।
यसअघि पार्टीले जितेका रुकुमपूर्वको पुथाउत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा जित थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रुपमा लिएको छ ।
भएभरका सबै दलहरु मिलेर गठबन्धन गर्दा पनि रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडाहरु लगायतका ठाउँमा भारी मतान्तरले विजयी हुनु माओवादी केन्द्रको पदाधिकारी बैठकले उपलब्धीको रुपमा लिएको छ । त्यतिमात्र होइन २०७९ निर्वाचनमा तेस्रोमा पनि निकै कमजोर स्थितिमा रहेको काठमाडौंको कीर्तिपुर नगरपालिका सहित १२ ठाउँमा उल्लेख्य मतसहित दोस्रो हुनु आदिलाई पार्टीले जनतामा माओवादीप्रति बढेको विश्वास र उत्साहको रुपमा लिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
माओवादी केन्द्रको वैठकले विद्युत प्राधिकरणमा सरकारले गरिरहेको हस्तक्षेपको विरोध गर्ने निर्णय गरेको छ । इतिहासमा कहिल्यै नभएको अनौठो गरी विद्युत प्राधिकरणमै मन्त्रीले कार्यकक्ष खोलेर प्राधिकरणका काममा अवरोध गर्ने काम भएको भन्दै यसमा पार्टीको सशक्त बिरोध हुने प्रवक्ता सापकाटोले बताए । ‘सरकारले बिचौलिया र भ्रष्टाचारीहरुलाई जोगाउने काम गरिरहेको भन्दै यसका विरुद्ध व्यवस्थित रुपमा खबरदारी गर्ने पार्टीले निर्णय गरेको सापकोटाले जानकारी दिए । विरोधको मोडालिटीको बारेमा आगामी स्थायी समिति र केन्द्रीय समिति बैठकमा विहंगम छलफल गरेर कार्यक्रमिक रुपमा नै अघि बढ्ने उनले जानकारी दिए ।
माओवादी केन्द्रको पदाधिकारी वैठकले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको विआरआइ सम्झौताको मोडालिटीको बारेमा विस्तृत अध्ययन गरेर मात्र प्रतिक्रिया दिने भन्दै वैठकको धारणा सार्वजनिक गरेको छैन ।
‘बीआरआई’ कार्यान्वयन अघि बढाउने पक्षमा आफ्नो मत जाहेर गर्दै आएको माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले यस विषयमा कुनै धारणा सार्वजनिक गरेन ।
बीआरआईबारे कस्तो समझदारी भएको त्यो पनि प्रस्ट नभएको भन्दै माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले विस्तृत अध्ययनपछि यस बारेमा पार्टीको आधिकारिक धारणा आउने बताए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया