Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

अधुरै छ पिएल सिंहले सुन्दर काठमाडौं बनाउन देखेको सपना


काठमाडौं । काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंह (प्रेमलाल सिंह) को ८८ वर्षको उमेरमा उनी सँधैको लागि अस्ताएका छन् तर उनले देखेको सुन्दर काठमाडौं बनाउने सपना अधुरै रहेको छ । उनी पूर्व पूर्वजनसंख्यामन्त्री समेत थिए ।

सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । उनको समेत पहलमा काठमाडौं नगरपालिकालाई २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गरिएको थियो ।
नेपाली कांग्रेसका उनी नै काठमाडौं महानगरको एकमात्र मेयर हुन् । कांग्रेसले उनीपछि काठमाडौं महानगरको प्रमुखमा जित्न सकेको छैन । पछिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले प्रकासमान सिंहकी पत्नी सिर्जना सिंहलाई महानगरपालिकाको उम्मेदवार बनाएको थियो । सिंह स्वतन्त्र उम्मेद्वार बालेन साहसँग पराजित हुनुप¥यो ।

पिएल सिंह गणेशमान सिंहका धर्मपुत्र हुन् । उनले सर्वमान्य नेता गणेशमानको प्रमुख सहयोगी भएर काम गरेका थिए । उनको निधन ठमेलको चाक्सीबारीस्थित उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा भएको थियो ।

महानगरपालिका घोषणा हुनुभन्दा अगाडि काठमाडौं 

देशको राजधानीको रूपमा रहेको काठमाडौँमा स्थानीय प्रशासनको आरम्भ तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर राणाले गरेका थिए । ‘ए श्रेणी’का राणा तथा शासकवर्गहरू हिड्ने बाटो सफा तथा व्यवस्थित गर्नुपर्ने अभिप्रायले गर्दा उनले वि.सं. १९७६ पुस २ गते सवाल सनद जारी गर्दै खड्ग निशान लगाएर भोटाहिटीमा सफाई अड्डाको स्थापना गरेका थिए । सफाई अड्डाको प्रशासनिक व्यवस्थापनमा रैती दुनियाँबाट सात जना भलादमी सदस्यहरू र तत्कालीन राणा सरकारका तर्फबाट चेयरम्यान, भाइस चेयरम्यान, इन्जिनियर र म्युनिसिपालिटी हाकिम गरेर ११ जनाको समिति बनाएका थिए । नेपालमा यसलाई नै स्थानीय प्रशासन विकेन्द्रीकरणको पहिलो प्रयास तथा जनताहरूको समेत प्रत्यक्ष पहुँच र नजिकको सरकारी अड्डाको संस्थागत संरचना मान्ने गरिन्छ । प्रारम्भिक समयमा सफाई अड्डाको स्थापना हुँदा यसलाई तल्लो फाँट र माथिल्लो फाँट गरी २ फाँटमा विभाजन गरिएको थियो जसलाई सुधार गर्न, जनताको काम व्यवस्थापन गर्न र अड्डाको कार्य क्षेत्र फराकिलो बनाउन तत्कालीन राणा प्रधानमन्त्री भीम शमशेर राणाले वि.सं. १९८८ मा सवाल सनद जारी गरेका थिए ।

सफाई अड्डाको रूपमा २८ वर्षसम्म काम गरेपछि वि.सं. २००३ फाल्गुन २ गते तत्कालीन राणा प्रधानमन्त्री पद्म शमशेर राणाले आफ्नै निवासमा मानिसहरू भेला पारी भोटाहिटी सफाइ अड्डालाई ‘काठमाडौँ म्युनिसिपालिटी’ घोषणा गरेका थिए । वि.सं. २००४ सालमा भएको काठमाडौँ नगरपालिकाको पहिलो निर्वाचनमा राणा शासनले गेहेन्द्र शमशेर थापालाई काठमाडौँको नगर प्रमुख र आम जनताबाट शंकरदेव पन्त नगर उप–प्रमुखमा निर्वाचित गरेका थिए । राणा शासनकै समयमा वि.सं. २००६ चैत्र २७ गते तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेर राणाले नेपालमा नगर पञ्चायत ऐन, २००६ जारी गरेर लागु गरेपछि ‘काठमाडौँ म्युनिसिपालिटी’ नगर पञ्चायत बन्न पुगेको थियो ।

देशमा राणा शासनको अन्त्य र प्रजातन्त्रको उदय भएसँगै वि.सं. २०१० जेठ ५ गते नेपाल राज्य नगरपालिका ऐन, २००९ जारी भएपछि वि.सं. २०१० भदौ १७ गते १८ वटा वडाहरू सहितको काठमाडौँ नगरपालिका बनेको थियो । वि.सं. २०१० सालमा भएको पहिलो लोकतान्त्रिक निर्वाचनमा जनकमान श्रेष्ठ काठमाडौँ नगर प्रमुखमा निर्वाचित भई तत्कालिन नगरपालिकाको पहिलो निर्वाचित मेयर बनेका थिए ।

वि.सं. २०१७ पौष २२ गते देशमा तत्कालीन राजा महेन्द्र शाहले पञ्चायती व्यवस्था आरम्भ गरेको २ वर्षपछि वि.सं. २०१९ भदौ ५ गते नगर पञ्चायत ऐन, २०१९ जारी गरिएको थियो जसको फलस्वरूप यो नगरपालिका स्वतः नगर पञ्चायतमा परिणत भएको थियो ।

३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य र वहुदलीय व्यवस्थाको पुनस्र्थापना पश्चात तत्कालिन सरकारद्वारा वि.सं. २०४७ साल जेठ २८ गते नगरपालिका ऐन, २०४७ घोषणा गरेपछि नगरपालिका बन्नको लागि चाहिने आवश्यक पूर्वाधार तथा जनशक्ति भएको कारणले काठमाडौँ स्वतः आधिकारिक रूपमा नगरपालिका बन्न पुगेको थियो ।

राजधानीको रूपमा रहेको यो नगरमा बढ्दो जनसंख्या, शिक्षा, स्वास्थ्य, खेलकूद, सहरीकरण, यातायात, विमानस्थल लगायतका आवश्यक भौतिक पूर्वाधार भएको कारणले वि।सं। २०५२ मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई स्तरोन्नति गर्दै तत्कालिन मेयर पिएल सिंहकै सक्रियतामा देशकै पहिलो महानगरपालिकाको रूपमा काठमाडौँ महानगरपालिका घोषणा गरिएको थियो ।

०५४ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको पहिलो नगर प्रमुखको रूपमा केशव स्थापित निर्वाचित भएका थिए ।

पिएल सिंहले सुन्दर काठमाडौं बनाउन देखेको सपना

काठमाडौंलाई कसरी सुन्दर, ऐतिहासिक र सांस्कृतिक सहरको रुपमा विकास गर्ने भन्ने आज पनि विभिन्न बहसहरु चल्ने गर्छन । गत असोजमा आएको अबिरल वर्षा र बाढीले काठमाडौंका नदी किनारमा भइरहेको अतिक्रमण र बढ्दो शहरीकरणको नतिजालाई राम्रै उजागर गरिदिएको छ ।

नेपालमा प्रजातन्त्र स्थापना भएपछि निर्वाचत भएका पहिलो मेयर पीएल सिंहले काठमाडौंका नागरिकहरूको समृद्धि र विकासका लागि विभिन्न योजनाहरू प्रस्तुत गरेका थिए । सिंहले नै खुल्ला न्युरोडको अवधारणा ल्याएका थिए । काठमाडौंको कोर क्षेत्रलाई सवारी मुक्त बनाउने योजना पनि उनले प्रस्तुत गरेका थिए । यस्तै बृहत टुँडिखेलको योजना पनि उनकै पालामा बनेको थियो । तर उनले बनाएका योजनाहरु कार्यान्वयनमा आउन सकेनन् ।

जब पीएल सिंह काठमाडौंका मेयर बने, त्यस समयमा काठमाडौंको अवस्था धेरै चुनौतीपूर्ण थियो । नगरको संरचना, यातायात, सफाई र स्वास्थ्य सेवामा धेरै सुधार गर्न आवश्यक थियो । त्यस समयमा नेपालको राजधानीको पूर्वाधारमा अत्याधिक कमजोरी रहेको थियो । र पीएल सिंहले यसलाई सुधार्नका लागि विभिन्न पहल गरेका थिए ।

त्यतिबेला, काठमाडौंका सडकहरू धेरै संकुचित र अव्यवस्थित थिए । उनले नयाँ सडकहरूको योजना बनाए । पुराना सडकहरूको चौडाइ बढाउनका लागि कदम चाल्न थाले । यसका साथै उनले सफाई र शहरी व्यवस्थापनका क्षेत्रमा पनि सुधार ल्याउनका लागि योजना बनाएका थिए ।

पीएल सिंहले काठमाडौंमा स्वास्थ्य र शिक्षाको स्तरमा सुधार गर्नका लागि पनि काम गरे । उनले स्वास्थ्य केन्द्रहरूको संख्या बढाउन र जनतालाई प्राथमिक स्वास्थ्य सेवाहरू उपलब्ध गराउनका लागि विभिन्न योजनाहरू अघि सारे । यस्ता पहलहरूले काठमाडौंमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा ठूलो भूमिका खेल्यो ।

शिक्षामा पनि कक्षा १२ सम्मको शिक्षा नागरिकहरूलाई निशुल्क उपलब्ध गराउने योजना अघि सारे । यद्यपि त्यो योजना अझै पूर्ण कार्यान्वयनमा आउन सकिरहेको छैन ।

पीएल सिंहले काठमाडौंको सफाइ र हरियालीको बारेमा पनि विशेष ध्यान दिएका थिए । उनको नेतृत्वमा काठमाडौं नगरमा सफाइको योजना लागु गरियो । सडक र गल्लीहरू सफा राख्नका लागि योजना बनाइयो ।

त्यतिबेला काठमाडौंमा जनसंख्याको वृद्धिको समस्या र आर्थिक स्रोतहरूको अभाव थियो । त्यस्तै अर्काे प्रमुख चुनौती भनेको राजनीतिक अस्थिरता थियो । भर्खर प्रजातन्त्र स्थापना भएकोले संक्रमणको समय थियो । यसको प्रभाव स्थानीय सरकार र प्रशासनमा पनि देखिन्थ्यो । यी सबै चुनौतीहरूको वावजुद पनि पीएल सिंहले विभिन्न योजनाहरू लागु गर्न भूमिका खेल्नुभयो । उनका लागु हुन नसकेका योजनाहरु लागु गर्न नेपाली कांग्रेसले अहिलेसम्म उत्तराधिकारी बनाउन सकेको छैन । अरु पार्टीबाट निर्वाचित भएका नगर प्रमुखहरुले पिएलका योजनाहरु कार्यान्वयनमा ल्याउन प्रयास नै गरेनन् ।


क्याटेगोरी : बिचार, राजनीति

प्रतिक्रिया


ताजा अपडेट