माओवादी केन्द्रका नेतामाथि गम्भीर आरोप : अनुशासन समितिको ढिलासुस्ती
सिन्धुलीमा माओवादी केन्द्रका नेतामाथि लागेको गम्भीर आरोपबारे बागमती प्रदेशको अनुशासन समितिले लिएको स्पष्टीकरणको जवाफ अझै आएको छैन ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट विजयी गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष तथा बागमती प्रदेश सदस्य ज्वालाप्रसाद न्यौपाने ‘पुकार’ ले सिन्धुली जिल्ला पार्टीका संयोजक पानीराज बम्जनमाथि जनयुद्धकालमा एक कमरेडको सुराकी गरी हत्या गराएको केही महिनाअघि गम्भीर आरोप लगाएका थिए ।
तर, उक्त आरोपलाई जिल्ला पार्टी इञ्चार्ज बुद्धिमान माझी ‘वसन्त’ ले भने तत्काल नै सार्वजनिक वक्तव्यमार्फत खारेज गरेका थिए । यस प्रकरणमा सत्यतथ्य पत्ता लगाउन पार्टीका केन्द्रीय सदस्य ईश्वरी भट्टराईको नेतृत्वमा बागमती प्रदेश कमिटीले छानविन समिति गठन गरेको थियो । तर, गठन भएको लामो समय बितिसक्दा पनि समितिले कुनै प्रतिवेदन बुझाएको छैन ।
गत वर्ष पार्टीको विशेष अभियानका क्रममा ज्वालाप्रसाद न्यौपाने पुकारसहित चार जनामाथि मरिणको कार्यक्रममा अवाञ्छित गतिविधिमा प्रत्यक्ष संलग्न भएको विषय उठेको थियो । हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबामाथि वैदेशिक रोजगारीमा गएका एक श्रमिकको श्रीमतीसँग सम्बन्ध जोडिएको र त्यहाँ भ्रष्टाचारसहितका अन्य अनुशासन उल्लङ्घनका गतिविधिहरू भएको विषय पनि भट्टराई नेतृत्वकै अनुशासन समितिमा दर्ज भएको थियो ।
तर, यी सबै गम्भीर आरोपका बाबजुद अनुशासन समितिले अहिलेसम्म कुनै ठोस निष्कर्ष ननिकाल्नुका पछाडि कसैको दबाब छ भन्ने प्रश्न उठिरहेको छ।
अनुशासन समितिका प्रमुख ईश्वरी भट्टराईले यो विषयमा टिप्पणी गर्दै भनेका छन्, “पानीराजमाथि लगाइएको गम्भीर आरोप पुष्टि हुने कुनै आधार अहिलेसम्म भेटिएको छैन । समिति अझै अध्ययन र छानविनमै रहेको छ ।” उनले प्रतिवेदन ल्याउन ढिलाइ हुनुका पछाडि कुनै राजनीतिक दबाब नभएको दाबी गरे पनि पार्टीभित्रका आन्तरिक शक्ति संघर्षका कारण यो प्रक्रिया लम्बिएको हुन सक्ने आशंका गरिएको छ ।
माओवादी केन्द्रभित्रको यो प्रकरणले पार्टीभित्र अझै गुटबन्दी र आन्तरिक विवादको छायाँ रहेको प्रष्ट पारेको छ । गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले सार्वजनिकरूपमा यस्तो गम्भीर आरोप लगाउनु र त्यसको सत्यतथ्य पत्ता लगाउन अनुशासन समितिले तत्काल प्रभावकारी ठोस कदम चाल्न नसक्नु पार्टी नेतृत्वको कमजोर व्यवस्थापनतर्फ पनि संकेत गर्दछ ।
पार्टीको एकता र संगठनात्मक अनुशासनको विषयमा यस प्रकरणले ठूलो चुनौती खडा गरेको छ ।
सिन्धुलीमा माओवादी केन्द्रभित्रको यो विवादले पार्टीको आन्तरिक संरचनामा भएको कमजोरी उजागर गरेको छ । गम्भीर आरोप र अनुशासन समितिको ढिलासुस्तीले पार्टीभित्रको पारदर्शितामाथि प्रश्नचिह्न खडा गरेको छ । अब यो प्रकरण कसरी टुंगिन्छ चौतर्फी चासोका साथ हेरिएको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया