पार्टी एकता अन्योलमा
नेपालको कम्युनिस्ट आन्दोलनमा पार्टी एकता लामो समयदेखि चर्चाको विषय बन्दै आएको छ । एक महिनाअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कम्युनिस्ट पार्टीहरूसँग छिट्टै एकता हुने दाबी गरे पनि हालसम्म त्यो ‘छिट्टै’ अझै अन्योलमै छ । प्रमुख कम्युनिस्ट पार्टीहरूबीच आपसी असहमति, आरोप–प्रत्यारोप र नेतृत्वको अस्पष्ट भूमिकाका कारण सम्भावित एकता प्रक्रिया झन् जटिल बन्दै गएको छ ।
नेकपा (माओवादी केन्द्र), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बीच एकता भन्दा पनि बेग्लाबेग्लै अस्तित्व जोगाउने होड चलिरहेको छ । खासगरी माओवादी केन्द्र र विप्लव समूहबीचको वैचारिक तथा नेतृत्वबारेको अघोषित बहस र एकीकृत समाजवादीको स्पष्ट अस्वीकारले यो प्रक्रिया थप अन्योलमा परेको छ । बाबुराम भट्टराईबाट अलग भएको समूहले एकतामा उत्सुकता देखाए पनि पार्टीको नाम परिवर्तनको प्रस्तावले जटिल बनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक महिनाअघि विभिन्न कम्युनिस्ट पार्टीहरूसँग छिट्टै एकता हुने दाबी गरेका थिए । तर, प्रचण्डको उक्त ‘छिट्टै’ भनेको समय धेरै गुज्रिसक्दा पनि सम्भावित पार्टी एकताको विषय अझै अन्योलमै छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दुबैले पार्टी एकताको सम्भावना नजिक नभएको प्रस्ट पारेका छन् । विप्लव समूहले माओवादी केन्द्रकै गतिविधिलाई एकता रोकावटको कारक ठहराएको छ ।
नेकपाका महासचिव विप्लव सीले कपिलवस्तु, शिवगढीस्थित पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै एकताको मुख्य बाधक माओवादी केन्द्र र अध्यक्ष प्रचण्डको नेतृत्वलाई मानेका छन् । उनले प्रचण्डको अलमल, उदासिनता, विकेन्द्रीत मानसिकता र अस्पष्टताले पार्टी एकता अन्योलमा पारेको आरोप लगाएका छन् । विप्लवका अनुसार माओवादी केन्द्रकै केही नेताहरूले एकता विरोधी धारणा राखिरहेका छन् तर प्रचण्डको मौनता झनै अर्थपूर्ण र चिन्ताजनक रहेको छ ।
नेकपाका स्थायी समिति सदस्य अनिल सीले पनि प्रचण्डकै कारण एकता रोकिएको ठहर गरेका छन् । उनका अनुसार प्रचण्डको नेतृत्वमा स्पष्ट दृष्टिकोणको अभाव एकता प्रक्रिया अघि बढ्न नसकेको मुख्य कारण हो ।
उता, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टी एकताको सम्भावनामा पूर्णविराम लगाउने निर्णय गरेको छ । प्रवक्ता जगन्नाथ खतिवडाले तत्काल कुनै पनि कम्युनिस्ट पार्टीसँग एकता नगर्ने निर्णय सार्वजनिक गरेका छन् ।
खतिवडाले भने, ‘हालको अवस्थामा अन्य कुनै पनि कम्युनिष्ट पार्टीहरूसँग एकता गर्ने सम्भावना छैन । सहकार्यको ढोका भने सधैं खुला रहनेछ । राष्ट्रिय एजेन्डामा सहकार्यको सम्भावना जीवित रहे पनि पार्टी एकताको नाममा एकीकरणको सम्भावना नरहेको हाम्रो निष्कर्ष हो ।’
डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीबाट अलग भएका महेन्द्र राय समूह भने पार्टी एकताका लागि आतुर देखिन्छ । महेन्द्र रायले पार्टी एकताको शर्तस्वरूप पार्टीको नाम बदल्नुपर्ने माग गरेका छन् । तर, सोही समूहका गंगा श्रेष्ठ भने विना शर्त तत्काल एकता गर्नुपर्ने पक्षमा उभिएका छन् ।
विभिन्न समूह र नेताहरूबीच देखिएको असहमति र आरोप–प्रत्यारोपका कारण माओवादी केन्द्रसँगको सम्भावित पार्टी एकता अनिश्चित देखिएको छ । समयबद्ध साप्ताहिकबाट (हरेक मंगलबार प्रकाशित)
क्याटेगोरी : राजनीति
प्रतिक्रिया