प्रधानमन्त्रीको निर्देशनमा राजीव पहारीलाई उन्मुक्ति, रवि लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर
प्रधानमन्त्रीको ठाडो निर्देशनमा एमालेका युवा संघका इञ्चार्ज राजीव पहारीलाई सहकारी ठगी मुद्दाबाट उन्मुक्ति दिइएको खुलेको छ । आइतबार कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा दायर गरिएको छ ।
प्रहरीको उच्च स्रोतका अनुसार राजीव पहारीमाथि मुद्दा चलाउने प्रशस्त आधार र तयारी भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उनलाई उन्मुक्ति दिइएको हो । यता, मुद्दामा प्रतिवादी बनाइएका अन्य आरोपीहरूमध्ये आठजना थुनामा रहेका छन् भने २३ जना फरार रहेका छन् ।
मुद्दामा थप पाँचजना व्यक्ति र आठवटा कम्पनीलाई कसुरजन्य सम्पत्ति जफत प्रयोजनका लागि विपक्षी बनाइएको छ । दायर गरिएको अभियोगपत्रमा सहकारी सिष्टमबाट विभिन्न मितिमा रकम लिएको प्रमाणसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलगायतलाई प्रतिवादी बनाइएको छ ।
अभियोगपत्रमा प्रतिवादी बनाइएका प्रमुख नामहरूमा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, दीपेशकुमार पुन, नेत्रपाणि बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लीला पछाई, विश्वविक्रम राई, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, ओमप्रकाश गुरुङ र वीरबहादुर रानाभाट छन्।
त्यस्तै, दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन, मीना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लीलाबहादुर गुरुङ, पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मीप्रसाद पौडेललाई समेत प्रतिवादी बनाइएको छ।
यस प्रकरणमा राजीव पहारीलाई उन्मुक्ति दिइनु कानूनी प्रक्रियामाथि प्रधानमन्त्रीको हस्तक्षेप भएको भन्दै आलोचना सुरु भएको छ । पहारी एमाले निकट युवा संघका इञ्चार्ज हुन् । उनलाई कानुनी प्रक्रिया नपु-याई उन्मुक्ति दिनु न्याय प्रणालीमाथि प्रश्न खडा हुने विश्लेषणकर्ताहरूको भनाइ छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया