Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

ओलीको स्टालिनवादी कार्यशैलीले एमालेको ओरालो यात्रा सुरु


किशोर शर्मा

नेकपा (एमाले) को बुधबार बसेको स्थायी समिति बैठकले केन्द्रीय नेता भीम बहादुर रावललाई पार्टीबाट निस्कासन गरेको छ। यसैगरि स्थायी समिति सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई पनि छ महिना पार्टी कमिटीबाट निलम्बन गरेको छ। रावल, पाण्डे र तिमिल्सिनाले पछिल्लो पटक एमालेको केन्द्रीय कार्यालय भवन जग्गा दानका विषयमा विवादास्पद व्यापारी मीनबहादुर गुरूङबाट जग्गा दान लिने निर्णयप्रति विरोध गर्दै सबै पार्टी सदस्यहरूबाट चन्दा सहयोग उठाएर पार्टी कार्यालय भवन बनाउनुपर्ने बताएका थिए । यसपछि गत ४ कात्तिकमा एमालेले रावलसहित स्थायी कमिटी सदस्य डा।बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई स्पष्टीकरण सोधेको थियो ।

बुधबारको बैठकबाट कारवाही नैं गरेपछि एमाले भित्र प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कार्यको विरोध गर्नेलाई रूसका तानाशाही कम्युनिष्ट नेता स्टालीनले जस्तै गरि कारवाही गरि भित्तामा पुर्याउन थालेका छन्।

लोकतन्त्रमा आफूलाई लागेको कुरा अभिव्यक्ति दिन पाइन्छ। कम्युनिष्ट पार्टीको कमिटीभित्र अध्यक्ष, महासचिवको भन्दा फरक धारणा राख्न पाइन्छ । फरक अभिव्यक्ति दिएकै भरमा कसैलाई कारवाही गरिन्न । परम्परागत कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिकरण नै जननेता मदन भण्डारीको जबज हो। तर पार्टीको बहुमतको निर्णय मानेर हिँड्ने पाण्डे र तिमिल्सिना पनि ओलीले छ महिना निलम्बन गरेका छन् । कम्युनिष्टहरूले भन्ने गरेको जनवादी केन्द्रीयताको संगठनात्मक सिद्वान्त उनीहरूले उल्लङ्घन नगर्दा पनि कारवाही गरिएको छ। यहाँ माधव कुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, मोहन विक्रम सिंह जस्ता स्टालिनवादी तानाशाही कम्युनिष्ट नेताहरूले विगतमा लिएको कार्यशैलीलाई नैं ओलीले पनि पछ्याएको देखियो।

सर्वोच्च अदालतले जग्गा लिनु ठिक छ भनेर रिट खारेजको गर्ने बित्तिकै ओलीले स्टालिन बनेर रावल, पाण्डे र तिमिल्सिनालाई अन्यायपूर्ण डण्डा बर्साएका छन्। यसले एमालेको ओरालो यात्रा सुरू भएको छ। अब रावललाई नेकपा (एकीकृत समाजवादी) जाने बाटो खुलेको छ। रावल अब तोरी लाहुरे बुद्धिका बामदेव गौतमसँगै भारतीय तुरूप माधव नेपालको एकीकृत समाजवादीमा जालान्। तर पाण्डे र तिमिल्सिना भने निलम्बन सहेर एमालेमा छ महिनासम्मै बस्लान्। यसले एमाले भित्र ओलीको स्टालिनवादी तानाशाही विरूद्ध कसैले नबोलेर लाचारी र दलालीपन देखाउँदै ओली समक्ष आत्मसमर्पण गरेको देखियो। यो गलत प्रवृत्ति हो।

आर्थिक रूपमा प्रधानमन्त्री ओली त्यति भ्रष्ट र घुस्याहा नेता होइनन्। उनी आर्थिक मामिलामा इमानदार नै नेता हुन्। तर उनी षडयन्त्र, जालझेर र खुराफातमा रमाउने, एक विरूद्ध अर्कोलाई उपयोग गर्ने चलाख र धुर्त नेता भने हुन् । उनी विदेशी खुफिया शक्तिहरूसँग पनि आफ्नो हितका लागि गठजोड गर्न पछि पर्दैनन। उनलाई म २०४५ सालदेखि नजिकबाटै चिन्दछु। ओलीले एमाले अध्यक्ष र सरकारको नेतृत्वमा रहेर पछिल्लो चरणमा जति राम्रो काम गर्न खोजेपनि उनले अति विश्वास गरेका आफ्नै सहकर्मीहरू अधिकांश फटाहा र भ्रष्ट भएको विगतको इतिहास छ। तित्राको मुखै बैरी भनेजस्तै ओलीले जथाभावी बोल्दा र बोलेको कुरा नपुर्याउँदा आमजनता र अन्य राजनीतिक दलहरूमाझ उनको छवि त्यति राम्रो देखिँदैन। अर्कोतिर दुर्गा प्रसाईले जथाभावी भ्रमपूर्ण अभिव्यक्ति दिँदा त्यसले जनस्तरमा ओलीले अरबौँ कमाएर विदेशमा लगानी गरेको, ओम्नी, यति, गिरीबन्धु र विद्युत बक्यौता, एनसेलमा अर्बौँ भ्रष्टाचार गरेको भन्ने विश्वास पर्न गएको छ। यो अवस्थामा अझ ओलीले रवी लामिछानेलाई सहकारी ठगीमा फसाएको भन्ने भ्रम युवा पुस्तामा परेको छ। सहकारी अपचलन र ठगीमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ जोगाएको, सार्वजनिक लेखा समितिका सभापति पोखरेलकी श्रीमतीलाई कारवाही नगरी भगाएको जस्ता कुप्रचारले जनतामा ओली बदनाम छन् र धेरै अलोकप्रिय भैरहेका छन्।

अझ उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए, काठमाडौंका मेयर बालेन साहलाई खेदिरहे भने युवा पुस्तामा अरू बदनाम हुन्छन्। यस्तै यस्तै घटना बढदै गए प्रधानमन्त्री ओली तात्कालिक बंगलादेशी शासक शेख हसिना र श्रीलंकाका राजापक्षे जस्तै बदनाम भएर जनताको आन्दोलन भड्किन सक्छ। ओली स्टालिन जस्तै निरंकुश भए, त्यसैले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई अध्यक्ष बनाएर सबैलाई मिलाएर एमालेलाई पुनर्गठन गर्ने विकल्पको खोजि एमालेभित्रबाट भैरहेको स्थितिमा पार्टीका आफ्नै सहकर्मीले पार्टी कार्यालय बनाउने विषयमा सामान्य अभिव्यक्ति दिएको विषयमै वर्षौँदेखि एमालेको संगठनमा पसिना बगाएका नेतालाई कारवाही गरेकोमा ओलीप्रति पार्टी भित्र नै बिस्फोटको अवस्था सिर्जना हुँदैछ। एमालेमा ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल, सूर्य थापाको गुटले मात्र पार्टी चल्न सक्दैन। यीनकै कार्यशैलीबाट पार्टी चलाउने हो भने एमाले अब सकिन्छ। जनतामा यी एमालेका नेताहरूको छवि त्यति राम्रो छैन। त्यसैले ओलीको स्टालिनवादी सोचलाई अब एमालेका विवेकशील नेता र कार्यकर्ताहरूले ब्रेक लगाउनै पर्छ । नत्र एमाले डुब्छ। ओलीको यस्तै कार्यशैली हुने हो भने वर्तमान सरकार पनि चार–पाँच महिना भन्दा लामो समय जान सक्दैन। ओलीले समयमै बुझुन र ओलीका हनुमानहरूले पनि समयमै उनलाई बुझाइ दिउन्।


क्याटेगोरी : जनमञ्च, बिचार, राजनीति

प्रतिक्रिया


ताजा अपडेट