दुई छिमेकी मुलुकसँग दुईतर्फी सम्बन्ध नै राम्रो छ : डा आरजु राणा
कैलाली, १३ पुस । नेपाल सरकारका परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले दुई छिमेकी मुलुक भारत र चीनसंग सम्बन्ध राम्रो रहेको बताएकी छिन् । । शुक्रवार साँझ धनगढी पुग्नुभएकी परराष्ट्र मन्त्री डा. देउवाले दुई ठुला छिमेकी मुलुकसँग एकतर्फी मात्र नभई दुईतर्फी सम्बन्ध नै राम्रो भएको बताइन् ।
पत्रकारहरूले धनगढी विमानस्थलमा राखेको एक जिज्ञासामा परराष्ट्र मन्त्री डा. देउवाले भारतले नेपालका प्रधानमन्त्रीलाई औपचारिक भ्रमणका लागि चाँडै निमन्त्रणा दिने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्,“हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गत सेप्टेम्बर नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा गरेका छौ । उहाँ पनि नेपाल आउनुहुन्छ होला, हामीलाई पनि अवश्य बोलाउनु हुन्छ । उहाँहरूको व्यस्तता होला उपयुक्त समयमा पक्कै बोलाउनु हुन्छ । ”
यस्तै परराष्ट्र मन्त्री डा. देउवाले विपिन जोशी चाँडै स्वदेश फर्किने विश्वास समेत व्यक्त गरिन् । लिखित रुपमा ईजराईली राजदूतावासबाट परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नभए पनि जोशीलाई स्वदेश ल्याउनेमा आफूले निरन्तर पहल गरिरहेको उनको भनाई छ ।
यस्तै पत्रकारहरूले राखेको एक फरक जिज्ञासामा निर्मला पन्तको घटनालाई भुल्न नसकिने बताउदै पन्तकै जिल्लाका गृहमन्त्री भएकाले समेत छिट्टै पन्तले न्याय पाउने विश्वास समेत परराष्ट्रमन्त्रीले व्यक्त गरिन्।
परराष्ट्र मन्त्री डा. राणा शनिवार कैलालीका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । उनीसँगै वन मन्त्री ऐनबहादुर शाही ठकुरी समेत धनगढी पुगेका छन् ।
परराष्ट्र मन्त्री राणाको धनगढी विमान स्थलमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरू र नेता कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया