माओवादी केन्द्रको पदाधिकारी बैठक प्रचण्ड निवसमा बस्दै
काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्ने भएको छ । पार्टीको नियममित पदाधिकारी बैठक बस्न लागेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उनले भने, ‘पदाधिकारीको नियमित बैठक हो । यही महिना केन्द्रीय समिति बैठक बस्दै छ । त्यसको पनि तयारी गर्नुपर्ने हुन्छ ।’
आइतबार दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पदाधिकारीको बैठक बस्ने भएको हो ।
विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेरहदसम्बन्धी मतगणनामा विवाद भएकाले उक्त विवाद दिउँसोसम्म नमिलेमा आजको बैठकमा छलफल हुने सचिव दिनानाथ शर्माले बताए । उनले भने, ‘बैठक नियमित बैठक हो । विद्यार्थीको उमेरहदका विषयमा पनि विवाद भएकाले पनि छलफल हुन्छ होला । तर अहिले पनि अध्यक्ष कमरेड र विद्यार्थी इन्चार्ज हिमालजीलगायत छलफल भएको छ । विवाद साम्य भएमा पार्टीका विषयमा छलफल हुन्छ ।’
विद्यार्थीमा कुल दुई हजार ४ सय २८ प्रतिनिधि मध्ये एक हजार ८ सय मत खसेको छ । मतगणना सकिएको तर विवाद हुँदा मतपरिणाम भने सार्वजनिक गरेको छैन । ३२ वर्षे उमेर हद राख्नुपर्ने र राख्न नहुने पक्षमा ११ मतको अन्तर रहेको बताइएको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया