जसले हठ गर्छ त्यो इतिहासबाट साइड लाग्छ : वर्षमान पुन
रोल्पा, १४ पुस । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले हठ गर्ने नेता र पार्टी सिद्धिने बताएका छन्।
आइतबार प्रेस सेन्टर रोल्पाको अधिवेशनलाई लिवाङमा सम्बोधन गर्दै उनले संविधान तथा कानुनले दिएको आदेश नमान्ने र आफ्नो हठ देखाउने राजनीतिक दल र नेता सिद्धिने बताएका हुन्।
‘जसले हठ गर्छ, त्यो नेता सिधिन्छ र पराजित हुन्छ। जुन पार्टीले हठ गर्छ, पार्टी पनि सिद्धिन्छ। २०६२–६३ को आन्दोलन पछिको अवस्था हेर्दा २० वर्ष एउटै व्यवस्था कायम छ। सहरी इलाकामा नयाँ–नयाँ मेयर आए। देशभरि पुराना राजनीतिक दलहरूमाथि प्रश्न उठ्न थाले,’ उपमहासचिव पुनले भने।
उनले संघीयता कमजोर बनाउने कुनै पनि कदम माओवादीलाई स्वीकार्य नभएको बताए। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई परिमार्जन गर्दै समाजवादी गणतन्त्रतर्फ जान नचाहने दल र नेता इतिहासबाट विलय हुने उनको भनाइ छ।
अहिलेको व्यवस्थामाथिका प्रश्नहरूको सम्बोधन र सुधार गर्दै जानुको विकल्प नभएको उनले बताए। ‘अहिलेको व्यवस्थामाथिका समस्यामा परिमार्जन गर्नुपर्छ। जहाँ हामी परिमार्जन गर्न तयार हुन्छौं त्यो दल र नेता टिक्छ। जसले हठ गर्छ त्यो इतिहासबाट साइड लाग्छ,’ उनले भने।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया