अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागू गर्न माओवादी पदाधिकारी बैठकको निर्णय
काठमाडौैं, १४ पुस । नेकपा (माओवादी केन्द्र)ले आफ्नो भातृ संगठन अखिल (क्रान्तिकारी)मा ३२ वर्षे उमेरहद लागू गरेर जार्नुपर्ने निर्णय गरेको छ । आज पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले अखिल (क्रान्तिकारीको) निर्वाचनबाट आएको उमेरहदको मतलाई स्वीकार गरेर जानुपर्ने निर्णय गरिएको बैठकमा सहभागी एक नेताले समयबद्धलाई बताए ।
अखिल क्रान्तिकारीले संगठनमा ३२ वर्षे उमेर हद राख्ने वा नराख्ने भन्ने प्रस्तावमा ७७ जिल्ला र गैरभौगोलिकसहित ८६ मतदान केन्द्रमा शनिबर मतदान भएको थियो ।
विद्यार्थीमा कुल दुई हजार ४ सय २८ प्रतिनिधि मध्ये एक हजार ८ सय मत खसेको थियो । जसमा ३२ वर्षे उमेर हद राख्नुपर्छ भन्नेमा बढी मत खसेको थियो ।
विवादास्पद गतिविधि र परिवारगत प्रभावको आधारमा राजनीति गर्ने प्रवृत्तिका प्रतीक मानिएका तुकमान महरा प्रवृत्ति यसपटक पराजीत भएको छ । यो पराजयले माओवादीभित्रको आन्तरिक गुटबन्दी र संगठनात्मक शुद्धीकरणमा नयाँ बहसको प्रारम्भ भएको छ ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोखबहादुर महराका छोरा तुकमान महराले सम्मेलनमा खुकुरी प्रदर्शन गरेर विवादित छवि बनाएका थिए । उमेर हद लागू गर्नु हुन्न भन्दै खुलेर विरोध गरेका तुकमान र यो संगठनमा रहेर वर्षौ तर मारिरहेको यो प्रवृत्ति यसपटक पनि शक्तिशाली छवि बनाउने प्रयासमा थिए । तर, उनीसहित यो प्रवृत्ति पराजीत भएको छ ।
माओवादी केन्द्रका नेता शक्ति बस्नेतले समेत यस निर्वाचनमा व्यापक सक्रियता देखाएका थिए । तर, उनको प्रयासले पनि नतिजा ल्याउन सकेन । संगठनभित्रको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाउँदै यस पराजयले माओवादी नेतृत्वको कमजोर संगठनात्मक व्यवस्थापनलाई उजागर गरेको छ।
तुकमान महरा र यो प्रवृत्तिको पराजयले संगठनभित्रको नयाँ पुस्ता र शुद्धीकरणको प्रक्रियालाई बल दिएको छ । ‘विद्यार्थी संगठनमा लागेर तर मार्ने’ प्रवृत्तिको अन्त्य भएको यो नतिजाले उमेर हदको पक्षलाई थप बलियो बनाएको छ । संगठनको आगामी यात्रा अब युवा नेतृत्व र विचारको आधारमा तय हुने संकेत दिएको छ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया