Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

भीम रावलले गैरवामपन्थी राष्ट्रवादी शक्ति निर्माण गर्ने


काठमाडौं, १५ पुस । नेकपा (एमाले)बाट निष्कासित नेता भीम रावल नयाँ दल गठनको गृहकार्यमा छन् । उनी गैरवामपन्थी धारको राष्ट्रवादी शक्ति निर्माणको तयारीमा जुटेको सचिवालय स्रोतले बताएको छ ।

रावलको दलले राष्ट्रवादी एजेन्डामा आधारित भई संगठन विस्तार गर्ने रणनीति लिएको छ । ‘छिट्टै, सम्भवतः बुधबार पत्रकार सम्मेलन गरेर एमालेको कारबाही र आगामी योजनाबारे आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ’, रावल सचिवालयका एक सदस्य भन्छन्, ‘त्यसलगत्तै राष्ट्रवादी शक्ति निर्माणको अभियान सुरु गर्ने तयारी छ ।’

ती सदस्यका अनुसार, रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाटै नयाँ दल निर्माणको आफ्नो अभियान सुरु गर्नेछन् । त्यसक्रममा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका असन्तुष्ट नेता कार्यकर्तालाई समेट्ने रणनीति छ । त्यसैका लागि गैरवामपन्थी धारको दल गठन गर्न लागेको रावलनिकट स्रोत बताउँछ ।

झापादेखि सुदूरपश्चिम अभियान सकेपछि नयाँ दल घोषणा गर्ने कि त्योभन्दा पहिले नै दल घोषणा गरेर अभियान चाल्ने भन्नेमा रावलले निर्णय लिइसकेका छैनन् । उनी अभियान सकेर दल घोषणा गर्ने पक्षमा रहे पनि उनीनिकट केहीले पहिल्यै दल घोषणा गरेर जानुपर्ने भनिरहेका छन् ।

एमाले डडेल्धुराका अध्यक्ष भइसकेका नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य डा तारा जोशी र नेपाली कांग्रेस (बीपी) का उपसभापति कर्ण मल्लले सोमबार टोखास्थित निवासमै पुगेर रावललाई भेटेका छन् । जोशी र मल्ल पनि रावलको नयाँ दलमा जाने गृहकार्य भइरहेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट