अखिल क्रान्तिकारीबाट सुरु भएको अग्रगामी कार्यलाई प्रेस सेन्टरले पछ्याउला ?
उमेर हद राख्नुपर्ने र नहुने पक्षको अडानका कारण तोडफोडकै अवस्था आएपछि गत असोजमा उद्घाटन भएको नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनमा नेतृत्व चयन नगरी स्थगित भएको करिव तीन महिनापछि उमेरहद लगाउनुपर्ने मतसहित टुंगिएको छ । यद्यपी संगठनको अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय कार्यसमिति चयनका लागि पुनः मतदान गर्न भने बाँकी नै छ । केन्द्रीय नेतृत्व चयनका लागि माघ १२ गतेको मिति तय गरिएको छ ।
कम्युनिष्ट पार्टी, अझ त्यसमा पनि माओवादी केन्द्रको भातृ संगठनमा लोकतान्त्रिक पद्धतीको अभ्यास हुनुलाई धेरैले स्वागत गर्दै सकारात्मक रुपमा लिएका छन् । कुनै पनि नेताको कोटको खल्तीबाट टिके शैलीमा आफ्ना परिवार र गूटका व्यक्तिको नाम झिकेर नेतृत्व सुम्पिने गलत प्रथाको अन्त्य हुने आशाको दीयो विद्यार्थीहरुले सल्काएका छन् । यो अभ्यासले माउ पार्टी नेकपा (माओवादी केन्द्र) र अन्य भातृ संगठनहरुलाई पनि लोकतान्त्रिक प्रकृया (निर्वाचन) लागू गर्न दवाब दिने विश्वास गरिएको छ । नेकपा (माओवादी केन्द्र)मा तीन दशक भन्दा बढि समयदेखि पुष्पकमल दाहाल (प्रचण्ड)ले उत्तराधिकारी नभएको भन्दै पार्टी अध्यक्ष पद छाडेका छैनन् ।
अखिल (क्रान्तिकारी)ले संगठनमा ३२ वर्षे उमेर हद राख्ने वा नराख्ने भन्ने प्रस्तावमा ७७ जिल्ला र गैरभौगोलिकसहित ८६ मतदान केन्द्रमा गत शनिबर मतदान भएको थियो । मतदानमा ९ सयले उमेरहद लगाउनु पर्छ भन्नेमा र ८ सय ७९ ले उमेरहद लगाउनु हुँदैन भन्नेमा मतदान गरेका थिए । उमेरहद लगाउनु हुँदैन भन्ने पक्षमा अधिकाँश नेताले आफ्ना छोरा, छोरी र केही गुटका कार्यकर्ताहरुलाई लबिङ गर्दे हिँडेका थिए । निर्वाचनको परिणाम यसको बिपरीतमा आउने संकेत पाएपछि मत परिणाम सार्वजनिक गर्न केहीबेर रोकेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवस खुमलटारमा पार्टीको पदाधिकारी बैठक नै डाक्नु परेको थियो । पदाधिकारी बैठकले मत परिणाम जस्तो आएपनि त्यसलाई स्वीकार गरेर जानुपर्ने निर्णय गरेपछि पक्ष र विपक्षमा खसेको मत सार्वजनिक गर्न निर्वाचन समिति पनि बाध्य भएको थियो ।
कतिपय बौद्धिकहरुले संगठनभित्र बैचारिक पक्ष कमजोर भएपछि एजेन्डा र विचारमा बहस नभएर उमेरजस्तो प्रविधिक विषयमा विवाद हुनेगरेको भन्दै व्यङ्ग्य गरेका छन् । उमेरहदको निर्णयसँगै अब अखिल (क्रान्तिकारी)मा नेतृत्वका लागि उमेर सीमा तोक्ने प्रावधान लागू हुने भएको छ । यो प्रावधानले संगठनभित्र नयाँ पुस्ताको नेतृत्वलाई अवसर प्रदान गर्ने विश्वास गरिएको छ । यो निर्णयले कलेज भर्ना भएर विद्यार्थी बन्नु नपर्ने तर विद्यार्थीको नेतृत्व भने ओगटिरहने प्रबृत्ति पराजीत भएको छ । साथै विद्यार्थी नेतृत्वमा हुने जामलाई खुलाउने काम पनि उमेरहदको निर्णयले गर्ने छ ।
कुनै पनि राजनीतिक पार्टीका भातृ संगठनहरुमा पत्रकारको संगठन र विद्यार्थीको संगठनलाई बौद्धिक तथा अध्ययनशील संगठनका रुपमा हेर्ने गरिन्छ । यी संगठनहरुले आफ्नो माऊ पार्टीका नेताहरुलाईसमेत मार्गनिर्देशन गर्न सक्छन् भनिन्छ । तर माओवादी पार्टीको पत्रकारको संगठन प्रेस सेन्टरमा भने त्यस्तो अवस्था छैन ।
उमेर हद राख्नुपर्ने तर्कलाई पञ्छाउन नसक्ने तर उमेर हद राख्दा लामो समयदेखि संगठनमा रहेका नेताहरु बाहिरिने परिस्थितिका कारण यो विषय निकै जटिल बनेको थियो । उमेर हद लागु हुँदा निवर्तमान महासचिव दिपेश पुन नेतृत्व होडबाट बाहिरिनेछन् । उनीसँगै उपाध्यक्षहरू सबै बिदा हुनेछन् । ३२ वर्ष उमेर नाघेकाले कमिटीबाट बाहिरिनेमा उपाध्यक्षहरू इन्द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, अच्यूत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रविणा अधिकारी, सूर्यनारायण साह, गजेन्द्र देव नेतृत्वको होडबाट बाहिरिनेछन् । उमेर हद पारित भएपछि अव अखिल (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष पदमा निवर्तमान कमिटीका उपमहासचिव वा त्यो भन्दा तल्लो वरियताका नेताहरूबीच प्रतिस्पर्धा हुनेछन् । जसका निम्ति उपमहासचिवहरू सुरजसिंह ठकुरी, नारायण बडाल, सुदिन पौडेल, योगेन्द्र बुढा र पार्वती नेगीले अध्यक्ष पदमा आकांक्षी देखाइसकेका छन् । त्यो भन्दा मुनिका वरियताका हेमन्त राई, रोशन थापामगर, राजेन्द्र विष्ट, तिर्सना हमाल लगायत पनि अध्यक्ष पदका आकांक्षी छन् । यी दुई सम्भावनाकै कारण उमेर हदको प्रस्ताव अखिल क्रान्तिकारीमा पेचिलो बन्यो, जसलाई टुंग्याउन देशभरका प्रतिनिधिबाट मतदानको विकल्प रोजिएको थियो ।
कुनै पनि राजनीतिक पार्टीका भातृ संगठनहरुमा पत्रकारको संगठन र विद्यार्थीको संगठनलाई बौद्धिक तथा अध्ययनशील संगठनका रुपमा हेर्ने गरिन्छ । यी संगठनहरुले आफ्नो माऊ पार्टीका नेताहरुलाईसमेत मार्गनिर्देशन गर्न सक्छन् भनिन्छ । तर माओवादी पार्टीको पत्रकारको संगठन प्रेस सेन्टरमा भने त्यस्तो अवस्था छैन । प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष र अधिकाँश पदाधिकारी कुनै न कुनै नेता वा गुटका खल्तीका मानिसहरु टपक्क टिपेर पदमा राखिएको छ । तीन वर्षअघि चितवनमा सम्पन्न प्रेस सेन्टरको चौथो अधिवेशनको क्रममा हलबाट निर्वाचनमार्फत प्रेस सेन्टरको नेतृत्व चयन हुनुपर्छ भन्ने आवाज उठेपनि त्यसलाई जर्वजस्ती दवाउँदै प्रचण्डले नै जुगललाई अध्यक्ष बनाउन चाहे र दलिदिए अविर र पहिरिदए खादा–माला ।
पत्रकारिता कर्मभन्दा कोशौँ टाढाको व्यक्तिलाई प्रेस सेन्टरको केन्द्रीय अध्यक्ष र केही पदाधिकारी जवर्जस्ती बनाउँदा संगठन प्रचण्डको व्यक्तिगत क्लव जस्तै भएको छ । अदुरदर्शी प्रेस सेन्टरको केन्द्रीय नेतृत्व पत्रकारिता पेशालाई लत्याउँदै जग्गा दलाली, कसैको पीए, विज्ञापन एजेन्सी संचालक, ठेक्क पट्टा, दलाली, आदिमा लाग्ने गर्दा यो संगठनका सदस्यहरु माउ बिनाको चल्ला झैँ बनेका छन् । बौद्धिक र अध्ययनशील भनिएको पत्रकारिता जगतलाई प्रेस सेन्टरको वर्तमान केन्द्रीय नेतृत्वले खुमलटारमा लगेर बुझाउँदा दुनियाँ चकित परेको छ । भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको केन्द्रीय पदाधिकारीमा पराजीत हुनु यसैको परिणाम भएको सेन्टरका नेताहरु स्वयम् बताइरहेका छन् ।
प्रेस सेन्टरको आगामी माघ १५ गते पाँचौ महाधिवेशन हुँदैछ । यो महाधिवेशनले पनि बिधि, पद्धतिको पालना गर्ने र प्रश्न गर्न सक्ने तथा गलत गर्ने आफ्नै नेतृत्वकोसमेत टुप्पीमा राँको सल्काउन सक्ने हिम्मत भएको नेतृत्व चयन गर्न जरुरी छ । अखिल क्रान्तिकारीबाट सुरु भएको अग्रगामी कार्यलाई पत्रकारको संगठन प्रेस सेन्टरले पनि पछ्याउन जरुरी छ । अव प्रेस सेन्टर टिके शैलीबाट चल्दैन, यसका लागि मतदान गर्न ढिला भइसकेको छ । कम्तिमा यसपटक प्रचण्डले प्रेस सेन्टरको नेतृत्व चयनमा अनावश्यक हस्तक्षप नगरुन् ।
आफ्नै घर जलाएर खरानीको व्यापार गर्न दंग ‘प्रेस सेन्टर’
क्याटेगोरी : बिचार, राजनीति
प्रतिक्रिया