Techie IT
Samayabaddha
शुक्रबार, १९ पुस, २०८१

महाभियोग लगाइएका दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं । यसै महिनाको सुरुमा महाभियोग लगाइएका र त्यसपछि निलम्बनमा परेका दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउलविरुद्ध सोलस्थित एक अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

उनले डिसेम्बर ३ मा देशमा मार्शल ल लागु गर्ने प्रयास गरेका थिए । सोही आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

उनीमाथि देशद्रोह सहितका आरोपहरूमा अनुसन्धान भइरहेको छ । त्यस क्रममा उनलाई अदालतले सोधपुछका लागि तीन पटक बोलाइसकेको छ । तर उनले त्यसको अवज्ञा गर्दै अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

किन पक्राउ गर्न खोजियो ?

अनुसन्धानकर्ताहरूले आइतवार राति यउललाई विद्रोह र शक्तिको दुरुपयोग गरेको आरोपमा पक्राउ गर्न पुर्जी जारी गर्नुपर्ने माग गरेका थिए । उनका वकिलले भने उक्त कार्यलाई ‘अवैधानिक’ कार्य भनेका छन ।

यउन र उनीपछिका कार्यवाहक राष्ट्रपति दुवैलाई संसदद्वारा महाभियोग लगाइएपछि दक्षिण कोरियामा राजनीतिक सङ्कट गहिरिएको छ ।

यदि उनी पक्राउ परे भने पदमा रहँदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बन्नेछन ।

डिसेम्बर पहिलो साता छोटो अवधिका लागि ‘मार्शल ल’ लागु गर्न खोजेपछि उनीविरुद्ध प्रदर्शन भएको थियो भने पछि उनीमाथि महाभियोग लगाइएको थियो ।

पक्राउ गर्न कति सहज ?

पक्राउ पुर्जीको कार्यान्वयनका लागि अनुसन्धानकर्ताहरूले जनवरी ६ सम्मको समय पाएका छन र उनीहरूले त्यो समय थप गर्नका लागि पनि अनुरोध गर्न सक्छन ।

अनुसन्धानकर्ताहरूले उनीविरुद्धको पक्राउ पुर्जीलाई कार्यान्वयन गर्न सक्छन वा सक्दैनन वा उनका सुरक्षा गार्डहरू तथा समर्थकको प्रदर्शनका कारण त्यो कार्यान्वयन गर्न अक्षम हुन्छन भन्ने अनिश्चित छ ।

राष्ट्रपतिको सुरक्षा सेवाले यसअघि अनुसन्धानकर्ताहरूलाई राष्ट्रपतिको कार्यालयभित्रको चौरमा र यउनको निजी निवासमा अदालतको अनुमति लिएर पनि प्रवेश गरेर खोजी गर्न रोकिदिएको थियो ।
विगतमा दक्षिण कोरियाली अधिकारीहरूले प्रमुख नेताविरुद्ध उनीहरूको सहयोगी तथा समर्थकले अवरोध गरेपछि पक्राउका प्रयासलाई त्यागेका उदाहरणहरू छन ।

सोमवार यउनको कानुनी टोलीले अनुसन्धानकर्ताहरूलाई उनलाई पक्राउ गर्ने अधिकार नभएको बताए । उनीहरूले ‘मार्शल ल’ घोषणा गर्नु राष्ट्रपतिको संवैधानिक अधिकारभित्र पर्ने बताएका छन ।

यउनले यसअघि ‘मार्शल ल’ लगाउने आफ्नो निर्णयको बचाउ गर्दै ‘अन्तिम अवस्थासम्म लड्ने’ बताएका थिए ।

दक्षिण कोरियामा राजनीतिक अन्यौल

विपक्षीहरू गत बिहीवार हानमाथि महाभियोग प्रस्ताव दर्ता गर्न विफल भएका थिए । हानले यउलको मुद्दा हेर्नका लागि संसद्ले नियुक्त गरेका तीन न्यायाधीशहरूको नियुक्ति रोकेपछि उनीहरू असफल भएका थिए ।
कोरियाको संवैधानिक अदालतमा कम्तीमा नौ जना सदस्य हुन्छन् । त्यसमध्ये कम्तीमा छ जना न्यायाधीशहरूले यउलको महाअभियोगलाई संवैधानिक ठाने भने मात्र उक्त निर्णय पारित हुन्छ ।
हाल उक्त इजलासका लागि जम्मा छ न्यायाधीश मात्र रहेका छन । त्यो भनेको एकजनाले मात्र उक्त निर्णयलाई अस्वीकार गरे भने महाभियोग कार्यान्वयन हुन सक्दैन ।
विपक्षीहरूले नियुक्त हुने तीन नयाँ न्यायाधीश इजलासमा भएपछि महाअभियोगले पूर्णता पाउने आशा राखेका छन् ।
राष्ट्रपति र कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग लागेपछि अर्थमन्त्री चोई साङ–मोकलाई अहिले कार्यवाहक राष्ट्रपति बनाइएको छ । (स्रोतः बीबीसी)


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति

प्रतिक्रिया


ताजा अपडेट