Techie IT
Samayabaddha
शनिबार, २० पुस, २०८१

एमालेबाट निकालिएका भीम रावलले जागरण अभियान सञ्चालन गर्ने


काठमाडौं । नेकपा (एमाले) बाट निकालिएका नेता डा. भीमबहादुर रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।

नेता रावलले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर अभियान सञ्चालन गर्ने जानकारी दिएका हुन् । देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य बनेको उनले बताए ।

यही पुस १० गते बसेको नेकपा एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । नेता रावलले एमाले अध्यक्ष ओलीले निरङ्कुश र अन्यायपूर्ण किसिमले आफ्नो पार्टी सदस्यता खाइदिएको आरोप लगाएका छन् ।

महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिएकै कारण अध्यक्ष ओलीले ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम गरेको रावलले जिकिर गरे । रावलले वाचन गरेको ३१ पृष्ठको विज्ञप्तिमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ७४ वटा प्रश्न सोधिएका छन् । रावलले आफूले सोधेका प्रश्नको जवाफ अध्यक्ष ओलीले नदिएमा एमाले पार्टी सकिने दाबी गरे ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लाग्ने घोषणा गरेका छन् । नेकपा एमाले घोषित सिद्धान्त, गन्तव्य र आदर्शविहीन बनेकाले वैकल्पिक पार्टी निर्माण गर्नुपरेको रावलको निष्कर्ष छ ।

यस्तै रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरूप नरहेको जिकिर गरेका छन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट