Techie IT
Samayabaddha
सोमबार, २२ पुस, २०८१

माओवादी केन्द्रले विशेष अधिवेशनको तयारी गर्दै, स्थायी समितिको बैठक आज पेरिसडाँडामा


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पेरिसडाँडामा सुरु हुँदैछ । दिउँसो १ बजे बोलाइएको बैठकले आगामी केन्द्रीय समितिको बैठकका लागि एजेण्डा तय गर्नेछ । केन्द्रीय समितिको बैठक आगामी पौष २१ गतेदेखि सुरु हुने तय भइसकेको छ ।

स्थायी समितिको बैठकले केन्द्रीय समितिका लागि विशेष अधिवेशनको मिति निर्धारण गर्न प्रस्ताव गर्ने वा त्यसलाई हाललाई स्थगित गर्ने विषयमा पनि छलफल गर्नेछ। यदि विशेष अधिवेशन नगर्ने निर्णय गरियो भने पार्टीको संगठनात्मक संरचना र कार्यविभाजनमा व्यापक फेरबदल हुने सम्भावना रहेको बताइएको छ ।

बागमती प्रदेशका इञ्चार्ज अग्नि सापकोटा र गण्डकी प्रदेशका इञ्चार्ज दीनानाथ शर्मालाई इञ्चार्ज पदबाट हटाउने सम्भावना रहेको माओवादी केन्द्रका उच्च स्रोतले जानकारी दिएको छ । यी दुवै नेतामाथि संगठनमा सिर्जनात्मक भूमिका निर्वाह नगरेको, अध्यक्ष प्रचण्डको चापलुसीमात्रै गरेर पदमा टिकिरहेको र गलत प्रवृत्तिको संरक्षण गरेको ब्यापक आरोप लागेको छ ।

दुवै नेतामाथिको आलोचना तीव्र भएपछि उनीहरुलाई विशेष अधिवेशन भएमा सल्लाहकार वा जेष्ठ नागरिकको भूमिकामा स्थानान्तरण गर्ने सुझाव  व्यापक रुपमा आएको छ ।

विशेष अधिवेशन भएमा पार्टीभित्रको नीति, संगठनात्मक संरचना र आगामी राजनीतिक रणनीतिलाई स्पष्ट बनाउने अपेक्षा गरिएको छ । यसले माओवादी केन्द्रलाई नयाँ दिशा दिन सक्ने विश्वास गरिएको छ । पार्टीको स्थायी समितिको बैठकको निर्णयले विशेष अधिवेशन र संगठनात्मक परिवर्तनको दिशाबारे केही संकेत गर्नेछ ।

माओवादी केन्द्रको संगठनात्मक सुधार र नेतृत्वको भूमिकामा आउने सम्भावित परिवर्तनहरुप्रति सबैको ध्यान केन्द्रित भएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट