शेरा दरवार प्रकरण: विकेश श्रेष्ठको विवाद र विचलित राजनीतिक संस्कृति
राजतन्त्रको अन्त्य हुनु पूर्व राजनीतिको क्षेत्रमा प्रष्ट देखिने र बुझिने दुइटा मूल्य, दुइटा संस्कृति र दुइटा आचरणहरू आपसममा टकराइरहेका देखिन्थे । एकातिर गिरिजाप्रसाद कोइराला, खुमबहादुर खड्का, शेरबहादुर देउवाको राजनीतिक संस्कृति थियो भने अर्कोतिर त्यही पार्टीभित्र चुनौती दिने गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, भीमबहादुर तामाङहरूको संस्कृति र आचरण थियो । वदनाम महाकाली सन्धि गरेर ढाडिएका एमाले नेताहरूलाई चुनौती दिन माओवादी, मसाल लगायत अन्य कतिपय कम्युनिस्ट पार्टी उभिएका थिए । त्यतिबेला भित्रिएको प्राडो, पजेरोको संस्कृति विरूद्ध उभिएको अवस्था थियो । राजतन्त्रको समाप्तिपछि यो भेद मेटिएको छ । अहिले त ‘तँ भन्दा म के कम’ भनेर काण्डहरू घटाउने र आफ्नो काण्ड लुकाउन अर्कोलाई आक्रमण गर्ने खुल्ला र छद्म हर्कतहरू बग्रेल्ती देखिन्छन । परिणाम भने ‘बगैंचामा फल चोर्ने दुई बाँदरको कथा’ मा जस्तै ‘तैं तुप, मै चुप’ को सिद्धान्त अनुसार दण्डहीनता कायम हुन पुगेको छ ।
नेपालको राजनीति पछिल्लो लामो समयदेखि आदर्श र नैतिकतामा च्युत, स्खलित भएको विभिन्न उदाहरणले देखाउँदै आएको छ । यस विचलनको पछिल्लो दृष्टान्त हो, नुवाकोटस्थित ऐतिहासिक शेरा दरवार प्रकरण । पृथ्वीनारायण शाहले निर्माण गरेको यो ऐतिहासिक सम्पदा, जसलाई राष्ट्रिय सम्पदाका रूपमा जगेर्ना गर्नुपर्ने हो, यसको बिक्री प्रकरणले नेपालको विद्यमान राज्यसत्ता, राजनीतिक नेतृत्वप्रति गम्भीर प्रश्न खडा गरेको छ ।
विकेश श्रेष्ठद्वारा यो सम्पदाको खरिदले नेतृत्वको पारदर्शिता र जवाफदेहिता माथि शंका उब्जाएको छ । यो घटना केवल व्यक्तिगत स्वार्थको कुरा मात्र नभई त्याग र वलिदानको जगमा निर्माण भएको राजनीतिक नेतृत्वप्रति पनि आर्थिक अपारदर्शिता र गैरजिम्मेवारीलाई उजागर गरेको छ ।
शेरा दरवार नेपाल एकीकरणको प्रतीक हो । जसलाई संरक्षण गर्नुको सट्टा बिक्री गरेर यसको ऐतिहासिक र सांस्कृतिक महत्वलाई ओझेलमा पारिएको छ । यो घटना अध्यक्ष प्रचण्डसँग एक समय निकटता राख्ने विकेश श्रेष्ठद्वारा भएको भन्दै एकथरिबाट व्याख्या गरिए पनि यो समस्या एक ठाउँमा मात्रै होइन । सुनकाण्डदेखि रक्तचन्दन, बालुवा गिट्टी, गाँजा तस्करी लगायत धेरै काण्ड माओवादीका नेतासँग जोडिएका छन् । माओवादी आन्दोलनका आदर्श, त्याग र बलिदानबाट नेतृत्व कसरी एकपछि अर्काे रुपमा विचलित भएका छन् भन्ने देखाएको छ ।
विकेश श्रेष्ठ सिन्धुलीको किसान परिवारमा जन्मेर कैलालीमा हुर्केर माओवादी जनयुद्धपूर्व र जनयुद्धकालमा सक्रिय भए । त्याग र वलिदानको संस्कृति देखाएका श्रेष्ठ इमान्दार र वौद्धिक नेता नै मानिन्थे । शान्ति प्रक्रियापछि भने उनको आर्थिक गतिविधि विवादास्पद छ । मकवानपुरमा पार्टी जिम्मेवारी सम्हाल्दा उनले पार्टीको नाममा प्रेस किनेर त्यसलाई व्यक्तिगत बनाएको घटना अहिले पनि विवादित छ । पार्टीको केन्द्रीय कार्यालयमा रहेर गरेको विवादित नेटवर्किङ बिजनेस धेरैलाई थाहा छ ।
तत्कालीन प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव समेत रहेका श्रेष्ठ विशेषतः जग्गा कारोबार र आर्थिक लेनदेनका विषयमा मुछिनुले माओवादी केन्द्रभित्रै आर्थिक अपारदर्शिताको एक हदसम्म पर्दाफास गरेको छ । शेरा दरवार प्रकरणले माओवादी आन्दोलनको आदर्शको छविलाई थप कमजोर बनाएको छ । जहाँ नेतृत्वले व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखेर ऐतिहासिक सम्पदाप्रतिको जिम्मेवारी भुलेको छ ।
माओवादीको स्थिति यतिबेला यस्तो टिठ लाग्दो बन्न गएको छ कि सिन्धुपाल्चोकका मोहन बस्नेतहरू जस्ताले समेत माओवादी तर्फ फर्केर हाकाहाकी भ्रष्ट भनेर नामै किटी किटी सार्वजनिक रुपमा ओैंला ठड्याइ रहेका छन् ।
सबैभन्दा पछिल्लो शेरा दरवार प्रकरणले त्याग र वलिदानको जगमा निर्माण भएको नेपाली राजनीतिक संस्कृतिमा समेत गहिरो समस्या देखाएको छ । यो केवल विकेश श्रेष्ठको विवादमा सीमित छैन, यो समग्र राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र अपारदर्शिताको प्रमाण हो ।
पारदर्शी र जवाफदेही नेतृत्व निर्माण गर्नका लागि यो प्रकरणलाई गम्भीरताका साथ विश्लेषण गरी सुधारको मार्ग अवलम्बन गर्नुपर्छ । सुनको शुद्धता आगोमा पोलेपछि कायम हुन्छ, माओवादीले पनि सरकारले कदाचित अनुसन्धान गरिहाले त्यो प्रक्रियालाई साथ दिनुसँगै पार्टीबाट नै स्वतन्त्र विश्वसनीय ब्यक्तिहरूको अनुसन्धान टोली बनाएर यो घटनाको अनुसन्धान गरेर दूधको दूध पानीको पानी बनाएर जनता सामु स्पष्ट गर्नु पर्छ । सत्यनिष्ठाले मात्र राजनीतिप्रतिको विश्वास पुनःस्थापना गर्न सक्छ ।
क्याटेगोरी : बिचार, राजनीति
प्रतिक्रिया