माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने
काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी’ अभियान चलाउने निर्णय गरेको छ । मंगलबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । अभियानको ६ महिनापछि महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय भएको उनको भनाइ छ ।
बैठकले जनतासँग माओवादी अभियान समाजवादका लागि एउटा कोशेढुंगा सावित हुने विश्वास लिएको उनले बताए । उनले संविधान संशोधनका विषयमा समेत बैठकमा गम्भीर छलफल भएको उल्लेख गर्दै संविधान संशोधनभन्दा कार्यान्वयनको पक्षमा जानुपर्ने पार्टीको धारणा भएको बताए । उनले संविधान संशोधन गर्नैपरेमा अग्रगमन, परिवर्तनको र जनताको अधिकार बढाउनका लागि गर्नुपर्नेमा जोड दिइएको दिइएको सापकोटाको भनाइ छ ।
उनले भने, ‘पार्टीले सुरुको ६ महिना अभियान र अभियानको ६ महिनापछि महाधिवेशनमा जाने निर्णय गरेको छ । उक्त अभियान जनतासँग माओवादी भन्ने नारासहित चलाउने निर्णय भएको छ । यो नयाँ पहलकदमी समाजवादका लागि एउटा कोशेढुंगा हुनेछ भन्ने विश्वास गरिएको छ । पार्टीका सम्पूर्ण मोर्चाहरूको सम्मेलन छ महिनाभित्र गर्ने निर्णय भएको छ ।’
माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध दिवस मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । चैतभरि तयारी गरेर वैशाख महिनाभर हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने बताइएको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया