‘नेता त प्रचण्ड र नारायणकाजी रहेछन्’ भन्दै स्याङ्जाको आँधिखोलाबाट एक सय नेता–कार्यकर्ता माओवादीमा प्रवेश
पोखरा, २८ पुस । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता–कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रीइ सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गरे । उनीहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताए । उनले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख गरे ।
युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताए । एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाए । ‘आम जनमानसमा माओवादीले गर्न खोजेको के रैछ । हामीजस्तो युवा किन माओवादीमा लागेको रैछ । बुझ्दै बुझ्दै गएका छन्’, उनले भने, ‘चाहे त्यो काठमाडौंका गल्लीमा होस् । चाहे आँधिखोलाको गल्लीमा होस् । एउटै गुञ्जायस हुन्छ । नेता त प्रचण्ड रैछन् । नेता त नारायणकाजी रहेछन् ।’
उनले थपे, ‘यति धेरैजनालाई सखाप पार्दै थिए । कांग्रेस एमालेका भ्रष्ट तत्वहरु मिलेर यो सरकार ढालिछाने भनेर आजभोलि चोकचोक गल्लीगल्लीमा गुञ्जायमा हुने आवाजहरु हो ।’ अहिलेसम्म बच्चाबच्ची र देशको भविष्य सम्झिएर भोट नहालेको उनको भनाइ थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया