Techie IT
Samayabaddha
सोमबार, २९ पुस, २०८१

सामाजिक सञ्जाल नियमन गर्ने विधेयक मन्त्रिपरिषदमा स्वीकृतिको क्रममा


काठमाडौं, २९ पुस। सरकारले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक मन्त्रिपरिषदमा स्वीकृतिको क्रममा रहेको बताएको छ ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक मन्त्रिपरिषदबाट स्वीकृतिको चरणमा रहेको जानकारी दिएकी हुन् ।

सचिव अर्यालले भनिन, ‘‘सामाजिक सञ्जालमा कन्टेन्टलाई नियमनको दायरामा ल्याउने हो । त्यसमा इन्फरमेसन पनि विज्ञापन पनि अरु सबै कन्टेन्टहरु कानुन प्रतिकुल छन्, ति सबै नियमनको दायरामा आउने गरी प्रस्ताव गरिएको छ । सूचना प्रविधिमा आएको तीव्र परिवर्तनलाई मन्त्रालय क्रमैसँग अनुकूलन गरेर जानुपर्ने अवस्था हाम्रो जस्तो कम विकसित देशलाई पनि जरुरी छ । प्रविधिको प्रयोग गर्दैनौँ भनेर भन्न सक्दैनौँ । एआई नीतिको मस्यौदा अन्तिम चरणमा छ ।’’

उनले विधेयक स्वीकृत भइसकेपछि सङ्घीय संसदमा पेश हुने र छलफल गर्न सकिने बताइन् । उनले विधेयकमा प्रतिवन्धित सेवा र वस्तुहरुको विज्ञापन गर्न नपाउने र गरेको खण्डमा कसुर कायम हुनेगरी दफाहरु प्रस्तुत गरिएको जानकारी दिइन् ।

विधेयकमा सामाजिक सञ्जालमा कन्टेन्टलाई नियमनको दायरामा ल्याउने कुरा उल्लेख गरिएको बताइन् ।

‘सामाजिक सञ्जाल नियमन गर्ने विधेयक तयार भएर अहिले मन्त्रिपरिषदमा स्वीकृतिको क्रममा रहेको छ । स्वीकृत भइसकेपछि सङ्घीय संसदमा पेश हुन्छ । त्यसमा विस्तृत छलफल हुन्छ । मिस इन्फरमेसन, डिस इन्फरमेसन, डिप फेकका कुराहरु अहिले जुन सम्माननीयज्युको विषय अहिले उठाउनुभयो ।,’’ उनले भनिन्, ‘‘ति सबै विषयहरु, विज्ञापनको विषय पनि उठाउनुभएको छ । प्रतिबन्धित सेवा र वस्तुहरुको विज्ञापन गर्न नपाउने र गरेको खण्डमा कसुर कायम हुनेगरी दफाहरु त्यसमा प्रस्तुत गरिएको जानकारी गराउँछु ।’’

सचिव अर्यालले सूचना प्रविधिमा आएको तीव्र परिवर्तनलाई मन्त्रालय क्रमबद्ध रुपमा अनुकूलनका साथ अघि बढिरहेको बताइन् । उनले एआई नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताइन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट