Techie IT
Samayabaddha
बिहीबार, ३ माघ, २०८१

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणप्रति कांग्रेसको भर्त्सना


काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपात र दुर्व्यवहार को घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधवार राति एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बिचमा बहस गर्न पाउने जो सुकैलाई पनि अधिकार रहेको हुने बताउँदै यो घटनालाई नेपाली कांग्रेसले अत्यन्त दुःखदायी घटनाका रुपमा लिएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ स् ‘विधिको शासन, कानुनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवाञ्छित गतिविधि कदापि स्वीकार्य हुन सक्दैन । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।’

कांग्रेसले यस्ता घटनामा संलग्न जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ । वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि बुधवार सहकारी ठगी प्रकरणका सम्बन्धमा थुनछेक बहस सकेर निस्कँदै गर्दा काठमाडौँ जिल्ला अदालत परिसरमा रास्वपाका कार्यकर्ताहरूले दुर्व्यवहार गरेका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट