Techie IT
Samayabaddha
बिहीबार, ३ माघ, २०८१

एमालेसँगको सहकार्य लम्ब्याउने मुडमा देउवा


काठमाडौं । बजारमा ओली सरकार ढल्ने हल्ला चलिरहेको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना मन्त्रीहरुलाई एमालेसँगको गठबन्धन अहिले नटुट्ने सन्देश प्रवाह गरेका छन् ।

आज बिहान सभापति देउवाले कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गरेर सहभागी भएका मन्त्रीहरुसँग अध्यादेश दुवै दलको सल्लाहबाटै आएकाले त्यसबारेमा सकारात्मक हुन सबै मन्त्रीलाई निर्देशसमेत गरेका हुन् ।

बर्तमान सरकारी गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति देउवाले बिहीबार बिहान निजी निवास बुढानिलकण्ठमा आफ्ना मन्त्रीहरुसँग कार्य प्रगति विवरणबारे जानकारी समेत लिएका छन् ।

नेपाली काँग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुले देउवा निवासमै उपस्थिति भएर कार्यप्रगति विवरण पेश गरिरहेका छन् । मन्त्रीहरुले गरेका राम्रा कामहरु, कामलाई प्रभावकारी बनाउन के कस्ता अवरोधहरु छन् त्यसबारेमा पनि सभापति देउवासँग व्रिफिङ गरिरहेका छन् ।
सभापति देउवाले मन्त्रीहरुलाई परिणाम निकाल्ने गरी काम गर्न निर्देशन दिएको समाचार स्रोतले बताएको छ ।

देउवा निवासमा अध्यादेशको बारेमा पनि छलफल भएको बताइएको छ । एमाले र कांग्रेसका नेताहरुको सार्वजनिक रुपमा अध्यादेशको बारेमा फरक फरक धारण आइरहेको बेला देउवा निवासमा अध्यादेशको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने निर्देशन दिइएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले सरकार बन्दा भएको मुख्य सहमति संविधान संशोधनबारे बोलि फेरेको भन्दै कांग्रेसभित्र असहमति बढ्दै गएको छ । एमालेको हालै बसेको केन्द्रीय समितिको बैठकले २०८७ मा मात्रै संविधान संशोधन गर्ने निर्णय गरेपछि कांग्रेस तरंगित भएको छ ।

उता संसदको प्रतिपक्ष दलहरु भने सरकारले संसद नबोलाइकन अध्यादेश ल्याएको भन्दै सरकारको आलोचना गरिरहेका छन् । प्रतिपक्ष दलहरु विशेष अधिवेशन बोलाउनको लागि तयारीमा जुटिरहेका छन् ।

प्रतिनिधि सभा नियमावलीमा संसदमा रहेका सांसदहरु मध्ये २५ प्रतिशत सांसदहरुले हस्ताक्षर गरेर विशेष अधिवेशनको माग गर्न सकिने व्यवस्था रहेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट