माओवादी केन्द्रको अलमल: वैचारिक दिशा अनुरुप नेतृत्व व्यवस्थापनको संकट
माओवादी केन्द्रले धेरै वर्षदेखि न पुरानो शास्त्रीय कम्युनिस्ट आदर्शको बाटो पछ्याउन सक्यो न त नयाँ लोकरिझाइलाई चिर्ने वैचारिक र आदर्शको मार्ग बनाउन सफल भयो । अहिलेको केन्द्रीय समितिको वैठकले वायाँ हिंड्ने मार्ग तय गर्यो तर तदनुरुपको पार्टीभित्र नेतृत्व व्यवस्थापन र कार्यविभाजनमा अप्ठ्यारो अवस्था सिर्जना गरेको छ ।
केन्द्रीय समितिको वैठकमा तत्काल कार्यविभाजनको निर्णय गर्ने भनिए पनि हालसम्म कुनै ठोस नतिजामा पुग्न नसक्नु पार्टीको असमञ्जसतालाई प्रष्ट पार्छ । फागुन १ गतेदेखि विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको भए पनि आवश्यक प्रशिक्षण र तयारी गर्न प्रदेशस्तरीय कार्यविभाजनसमेत टुंग्याउन नसक्नु माओवादी केन्द्रको नेतृत्व व्यवस्थापनको ठूलो चुनौती बनेको छ ।
कोशी प्रदेशमा हरिबोल गजुरेलको नेतृत्वमा स्थानीय तह निर्वाचनमा सकारात्मक परिणाम आएकाले आगामी अभियानमा पनि उनैलाई जिम्मेवारी दिनुपर्ने सुझाव धेरैले दिएका छन् । तर, लामो समयदेखि उक्त क्षेत्रमा सक्रिय स्थानीय नेतृत्वलाई स्थापित गर्नुपर्ने तर्कले पनि बल पाएको छ ।
मधेश प्रदेशमा मात्रिका यादवलाई अगाडि सारेर युवा नेतृत्वलाई सक्रिय बनाउनेमा लगभग सबै सहमत देखिन्छन् । तर, त्यसका लागि स्पष्ट योजना र नयाँ रणनीतिको खाँचो रहेको धेरैले औंल्याएका छन् ।
बागमती प्रदेशमा गलत व्यक्ति समातेर स्राेत साधन कब्जा गरेकाले वदनाम राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको छायाँमा पुरानो नेतृत्व परेकाले नयाँपनको आवश्यकता स्पष्ट भएको भन्दै दवाव बढेको छ । अग्नि सापकोटालाई प्रदेश इञ्चार्जबाट विदा दिएर महेश्वर दाहाल, सूर्य सुवेदी पथिक, हितबहादुर तामांग, मुक्ति प्रधानमध्ये कसैलाई राख्नुपर्ने मत प्रबल रूपमा उठेको छ । रवि लामिछाने र बालेन साह जस्ता नेताको यस क्षेत्रमा भएको बढ्दो राजनीतिक प्रभावलाई सामना गर्न अग्नि सापकोटाको नेतृत्व पर्याप्त नहुने धारणा पार्टीभित्र बलियो बनेको छ । तर, सापकोटा यही क्षेत्रमा इञ्चार्ज बन्न मरिहत्ते गरेर लागेका छन् ।
गण्डकी प्रदेशमा दीनानाथ शर्माको नियुक्तिले पार्टीभित्र मात्र होइन, बाहिर पनि आश्चर्यको वातावरण सिर्जना गरेको छ । उनलाई केवल ‘पुराना नेतालाई देखाउने पात्र’को रूपमा प्रस्तुत गरिएको टिप्पणी धेरैले गरेका छन् । उनको ठाउँमा हरि अधिकारी वा लेखनाथ न्यौपानेलाई ल्याउन चर्काे दवाव परेको छ ।
लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी सोनाम, कर्णालीमा कालीबहादुर मल्ल र सुदूर पश्चिममा खगराज भट्टलाई नेतृत्वमा ल्याउनु पर्ने सुझाव बलियो रूपमा आएको छ । यी प्रदेशहरूमा प्रभावकारी नेतृत्व व्यवस्थापन गर्न नयाँ जोश र व्यावहारिक अनुभव भएका नेताहरूलाई जिम्मेवारी दिनुपर्नेमा सबैजसो सहमत छन् ।
माओवादी केन्द्रको वर्तमान चुनौती वैचारिक दिशाविहीनता र नेतृत्व व्यवस्थापनको अन्योल हो । पुरानो आदर्शमा मात्र टिकिरहन नसक्ने र नयाँपनलाई आत्मसात् गर्न नसक्ने अवस्थामा माओवादी केन्द्रले आफैंलाई परिभाषित गर्नुपर्ने आवश्यकता छ । समयमै प्रभावकारी निर्णय गर्न नसके पार्टीभित्रको असन्तोष र जनताबीचको विश्वास गुम्ने खतरा छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया