नेतृत्व चयनका लागि अखिल क्रान्तिकारीमा मनोनयन दर्ता
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।
आज बिहान ८ बजेदेखि सुरु उम्मेदवारी दर्ता साँझ ६ बजेसम्म चल्ने छ । उम्मेदवारी दर्ता अनलाइनमार्फत् भइरहेको अखिल क्रान्तिकारीले जनाएको छ ।
२३ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वको छनोटका लागि माघ १२ गते निर्वाचन हुँदै छ । अध्यक्षमा उपमहासचिवहरू विजय प्रकाश शर्मा सापकोटा, तिर्सना हमाल, योगेन्द्र बुढा, पार्वती नेगी, सुमन थुलुङ राई, राजन आले, हेमन्त किराँती, सुदिन पौडेल र विश्वमणि थापालगायत दावेदार छन् ।
निर्वाचनमार्फत् नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहे पनि सहमतिको प्रयास पनि जारी रहेको नेताहरुले बताएका छन् । केन्द्रीय नेतृत्वमा अखिल क्रान्तिकारीले उमेरहद लागू गरेको छ ।
जसअनुसार ३२ वर्षभित्रका अर्थात् २०४९ माघ ७ गतेपछि जन्मिएका प्रतिनिधिले मात्रै केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा उम्मेदवारी दर्ता गर्न पाउनेछन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया