Techie IT
Samayabaddha
मंगलबार, ८ माघ, २०८१

प्रश्न सोध्ने कि अन्धभक्त हुने ?


नेकपा (माओवादी केन्द्र) मुलुकमा जति उन्नत प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, समाजवाद आदिका बारेमा वकालत गर्छ, यसका भातृ संस्थामा भने त्यसको आभास हुन सकेको छैन । सहमतिका नाममा नेताहरुले गुटका व्यक्तिहरुको नामावली कोटका खल्तिबाट झिकेर टिका लगाई विजयी घोषणा गर्दा पार्टीका बिभिन्न भातृ संस्थाको आन्तरिक लोकतन्त्र मर्दै गएको छ ।

तर ढिलै भएपनि पछिल्लो सयम विद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन भने लोकतान्त्रिक पद्धतिबाट हुन थालेकोमा भने स्वागत गर्ने पर्छ । क्रान्तिकारीले यही माघ ८ गतेका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका सर्वजनिक गरेको छ । विद्यार्थी संगठनमा निर्वाचनद्वारा ३२ बर्से उमेर हद कायम भएपछि नेतृत्व चयनका लागि पनि निर्वाचन नै हुने भएको हो । तर अन्तिम समयमा माऊ पार्टीका नेताहरुले सहमतिका नाममा कसैलाई उम्मेदवारी दर्ता नगर्न र सहमतिमार्फत नेतृत्व चयन गर्न बिभिन्न प्रलोभन दिनसक्ने उत्तिकै आशंका छ ।

माओवादी केन्द्रको अर्को भातृ संस्था वाइसीएल हो । वाइसीएलको पनि बिनानिर्वाचन सहमतिका नाममा सुवोध श्रीपाइली दुई वर्ष अघि अध्यक्ष चयन भए । उनलाई काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले अध्यक्ष चयन गरेको हो । बन्दसत्र सम्पन्न भए पनि निर्वाचन प्रक्रिया सुरु भएपछि सर्वसम्मत रुपमा श्रीपाइली अध्यक्ष चयन भएका हुन् । यसअघि श्रीपाइली वाईसीएलको सहसंयोजक थिए भने सुमन देवकोटा संयोजक थिए । देवकोटाको ४० वर्षे उमेर हद कटेपछि श्रीपाइलीले नेतृत्व गर्ने मौका पाएका हुन् ।

मात्र नेताको भक्तिगान गरेर न आफ्नो व्यक्तित्व विकास हुन्छ न त आफू समर्थित पार्टीको नै भलो हुन्छ । यसले मात्र उसको निहीत स्वार्थ पुरा हुन्छ । स्वार्थ पूरा भएपछि ऊ उपियाँ जस्तै फड्केर बाँकटे हान्छ । त्यतिबेला न संगठन बाँकी रहन्छ, न नेतृत्व नै ।

यसैगरी माओवादी केन्द्रनिकट पत्रकारहरुको अर्को भातृ संस्था प्रेस सेन्टर हो । सेन्टरले पनि पाँचौ महाधिवेशन गर्दैछ । यही माघ १५ गतेका लागि तोकिएको महाधिवेशनको मिति तयारी नपुगेको भन्दै चैतका लागि सारिएको छ । प्रेस सेन्टरको नेतृत्व हात लिन आकांक्षीहरु माऊ पार्टीका बिभिन्न तहका नेता, समूह र गुटलाई फकाउँदै आशीर्वाद लिन कहिले खुमलटार (प्रचण्ड निवास) त कहिले हात्तिबन (नारायणकाजी श्रेष्ठ निवास) धाइरहेका छन् । सेन्टरका वर्तमान अध्यक्ष विष्णु सापकोटा जुगल राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको सचिवालयमा जागिर खान जाँदा सेन्टरमा सयम दिन नसकेपछि मिति तोकिएर पनि महाधिवेशन धकेलिएको हो । उनले हालसम्म कसैलाई पनि कार्यबाहक अध्यक्ष नतोक्दा र संगठनमा समय दिन नसक्दा अगामी चैतका लागि सारिएको महाधिवेशन पनि हुने हो कि होइन ? आशंका उत्पन्न भएको छ ।

अखिल क्रान्तिकारीमा उमेर हद र वाईसीएलमा पनि उमेर हद लागू भइसकेपछि अव प्रेस सेन्टरमा पनि पदमा बसिरहने तर पत्रकारिता नगर्नेहरु कपर्छान गर्न जरुरी छ । प्रेस सेन्टरको सदस्यताबाट गैरपत्रकारहरु हटाउन सकेको खण्डमा यो संगठनको गरिमा बँच्नेछ । आगामी महाधिवेशनमा यो अजेण्डा जोडतोडकासाथ लिएर जान जरुरी छ । पत्रकारिताको नाममा दलाली गर्ने, विदेश शयर गर्ने, पत्रकारिता नगर्ने तर संगठनमा बसेर पद हत्याइरहने पुरानो पराम्परा तोड्न नसक्ने हो भने आगामी नेतृत्व पनि वर्तमान नेतृत्व जस्तै संगठनको नाम भँजाएर कुनै नेताको सचिवालयमा जागिर खान जाँदैनन् भन्न सकिँदैन । प्रेस सेन्टरमा बरु थोरै संगठिन होउन् तर कृयाशील पत्रकार मात्र होउन् । यदि कसैलाई माओवादी केन्द्र नै मनपर्छ, माओवादीमै संगठित हुने इच्छा छ तर पत्रकारिता गर्दैन भने उसलाई किन प्रेस सेन्टरमै राखिरहने ? पार्टीका अन्य जनवर्गीय संगठनहरु पनि छन्, त्यतैतिर स्थान्तरण गर्दा उत्तम हुन्छ ।

पत्रकार र विद्यार्थी संगठन भनेका कुनै पनि राजनीतिक पार्टीका बौद्धिक सम्पत्ति हुन् । यिनीहरु अन्य संगठनभन्दा अध्ययनशील र तर्कशील हुन्छन् । विशेषतः विद्यार्थी र पत्रकारहरु आलोचनात्मक हुन्छन् न कि अन्धभक्त । सही, सत्य र खरो विश्लेषणसहितको आलोचनाले बाटो बिराएको नेता र नेतृत्वलाई पनि सचेत बनाउँछ, मार्गनिर्देशित गर्छ । त्यसैले आजको नयाँ पुस्ता अझ बढि प्रश्न गर्न सक्ने खालको हुन जरुरी छ । प्रश्न गर्नका लागि अध्ययनको जरुरत छ । मात्र नेताको भक्तिगान गरेर न आफ्नो व्यक्तित्व विकास हुन्छ न त आफू समर्थित पार्टीको नै भलो हुन्छ । यसले मात्र उसको निहीत स्वार्थ पुरा हुन्छ । स्वार्थ पुरा भएपछि ऊ उपियाँ जस्तै फड्केर बाँकटे हान्छ । त्यतिबेला न संगठन बाँकी रहन्छ, न नेतृत्व नै ।

 

 


क्याटेगोरी : बिचार, राजनीति

प्रतिक्रिया


ताजा अपडेट