वामदेव गौतम एमाले प्रवेश गर्ने निश्चित, गौतमको व्यवस्थापनबारे आजै निर्णय गरिंदै
काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमालेमा फर्किने भएका छन् । आज बोलाइएको एमाले सचिवालय बैठकको एजेन्डामा गौतम र उनी नेतृत्वको घटकका नेताहरू व्यवस्थापनसम्बन्धी विषय समावेश रहेको एमाले पार्टी कार्यालय स्रोतले बताएको छ ।
सचिवालय बैठकमा आफूहरुको व्यवस्थापनलाई अलग्गै एजेन्डा बनाएकोमा खुशी लागेको प्रतिक्रिया पार्टी एकता राष्ट्रिय अभियानका संयोजक गौतमले बताए ।
राष्ट्रिय सभा सदस्य समेत रहेका गौतम नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्व उपाध्यक्ष समेत हुन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमका बीचमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएपछि गौतम एमालेमा प्रवेश गर्न तयार भएका हुन् ।
तर गौतम एमालेमा प्रवेश गरे पनि उनी सम्बद्ध दल अभियानमा आबद्ध केही नेता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गर्ने भएका छन् ।
यसअघि गौतमले एकीकृत समाजवादीमा प्रवेश गर्न समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल चलाएका थिए । माधव नेपालले गौतम र केही नेताको मात्र पार्टीको केन्द्रमा व्यवस्थापन गर्न सकिने बताएपछि उनी एकीकृत समाजवादीसँग भड्किएको बताइन्छ ।
नेकपा एमालेभित्र भिम रावल बाहिरिएपछि ओलीलाई पार्टी फुटाएको आरोप लागेको थियो । उनले वामदेव गौतमलाई भित्र्याएर आफूमाथि लागेको आरोप मेटाउन मात्र वामदेवलाई भित्र्याउन चाहेको एमालेभित्र चर्चा चलिरहेको छ । यसभन्दा अघि पनि गौतम एमाले प्रवेश गर्न चाहँदा ओलीले त्यति चासो दिएका थिएनन् ।
वामदेवलाई दिने जिम्मेवारीबारे निर्णय गर्न एमालेले आज सचिवालय बैठक डाकेको छ । दिउँसो चार बजे बस्ने बैठकले वामदेवको जिम्मेवारी टुंग्याउने तयारी छ ।
एमालेको २१ देखि २३ पुसमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी विभाजनलगायत कारणले पार्टीबाहिर रहेका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेको थियो ।
एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको तत्कालीन नेकपा विभाजन भएपछि गौतम कुनै दलमा नलागी स्वतन्त्र बसेका थिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया