ओली सरकार संकटमा
काठमाडौं । केपी ओली नेतृत्वको वर्तमान सरकार विभिन्न पक्षबाट गम्भीर संकटको सामना गरिरहेको छ । ओली आफ्ना विरोधीहरूलाई हल्का टिप्पणी गरेर वास्तविक भावना लुकाउन प्रयास गर्दछन् तर संकटले उनीहरूको सरकारलाई गहिरो असर गरिरहेको छ । यो संकट छिमेकी भारतदेखि आफ्नै पार्टीभित्रका गुटबन्दी र सञ्चार माध्यमसम्मबाट छ ।
सञ्चारमाध्यमबाट ओलीले प्राप्त गरेको तीव्र आलोचनाले उनको राजनीतिक भविष्यका लागि खराब संकेत देखाएको छ । धेरैले ओलीको भविष्यको बारेमा चिन्ता नगरे पनि राष्ट्रको भविष्यप्रति भने गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
वर्तमानमा सत्तारूढ र विपक्षी दलहरूबीचको वैमनस्यता कुनै नयाँ कुरा होइन । तर, दलहरूभित्रको आन्तरिक विवादले उनीहरूलाई कमजोर बनाउँदै बाह्य शक्तिलाई नेपाली राजनीतिमा हस्तक्षेप गर्ने अवसर दिइरहेको छ । यसले नेपाललाई विदेशी हस्तक्षेपको जोखिममा पार्न सक्छ ।
नेपालमा भारत र अन्य शक्तिहरूले प्रभाव फैलाउने प्रयास गरेको कुरा नयाँ होइन । तर, दुःखको कुरा नेपाली राजनीतिक नेताहरूले राष्ट्रिय हितको बारेमा नसोचीकन विदेशीहरूको प्रभावमा सजिलै फस्ने प्रवृत्ति देखाएका छन् । कतिपय नेताहरूले देशको सार्वभौमिकतालाई वेवास्ता गर्दै विदेशीहरूको ’एजेन्ट’का रूपमा काम गरिरहेका आरोपसमेत छन् । नेताहरूमा भ्रष्टाचार र विदेशी शक्तिप्रतिको नतमस्तकता बढ्दो छ । ्
सरकारले जनताका समस्या समाधान गर्न नसकेको मात्रै होइन, सानातिना काममा अल्झने, मुद्दालाई विषयान्तर गर्ने गरिरहेको छ । सहकारी ठगी प्रकरण भनेको रवि लामिछाने मात्रै हो जसरी काम गरिरहेको छ । गाँजिएको समस्याको गाँठो फुकाउने, समाधान गर्नेतिर कुनै दिलचस्पी छैन ।
विदेशी शक्तिहरूको चुनौतीसँगै जनताको समस्यामा ध्यान नदिने र परिणाममुखी कामभन्दा पनि बढी हल्ला गर्ने कार्यले ओली सरकारको अस्तित्वका लागि गम्भीर चुनौती खडा गरेको छ । आन्तरिक र वाह्य समस्यालाई हल गर्न केपी ओलीले पनि नयाँनयाँ रणनीति त बनाएकै छन् तर त्यो लामो समय कामयावी हुने देखिदैंन ।
पछिल्लो समयमा डा. भीम रावलले पार्टीमा पारेको क्षतिलाई पूर्ति गर्न केपीले वामदेव गौतमलाई पार्टीमा भित्र्याउन ओलीले कोशिश गरेका छन् । पार्टीका टाउको मिलाउने र अलग हुने प्रक्रियाले खासै गुणात्मक भिन्नता ल्याउँदैन । माधव नेपाल र झलनाथ खनालसँग नै एकता गरे त तत्काल एमालेलाई राहत पुग्नसक्ला अन्यथा तलतल भत्कदैं गएको आधारलाई एकाध टाउको मिलाएर जमिन खस्कन रोकिदैंन । उता काँग्रेसभित्र बढ्दै गएको असन्तोषको आगोले पनि ओली सरकारमाथि गम्भीर धक्काको संकेत नै हो । शेरबहादुर देउवालाई गगन थापाले काँधमा जति नै बोके पनि उनको स्थिति अब धेरै नै कमजोर बन्दै गएको छ । अहिलेकै कार्यशैली बोकेर जाने हो भने देउवा ढल्दा गगन थापा पनि काँग्रेसमा ढल्ने अवस्था छ । यो भनेको पनि ओली सरकारकै आयुसँग जोडिएको हो ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया