अखिल क्रान्तिकारीको नेतृत्व चयन प्रक्रियाले माओवादी केन्द्रको शक्ति सन्तुलन प्रभावित
काठमाडौं । अखिल क्रान्तिकारीको नेतृत्व चयन प्रक्रियामा देखिएको लामो र नयाँ नयाँ विवादले विद्यार्थी संगठनलाई मात्र नभई नेकपा (माओवादी केन्द्र) भित्रकै शक्ति सन्तुलनलाई पनि प्रभावित पारिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहजीकरणका लागि भनेर अगाडि सारिएका पात्र शक्ति बस्नेतको गुटीय रणनीतिका कुराले यो विषयलाई निकै गम्भीर बनाएको छ । अहिले एउटा पदमा दिएको उम्मेदवारी अर्काे पदमा सारिएको विषय सार्वजनिक भएपछि परिस्थिति निकै तातेको छ । यदि यस्तो हुने हो भने मनोनयन, निर्वाचन, परिणाम फगत औपचारिकतामा सीमित हुने खतरा देखिदैंछ ।
अखिल क्रान्तिकारीको नेतृत्वमा आफ्नो पकड बलियो बनाउने प्रयासमा अध्यक्ष प्रचण्डले शक्ति बस्नेतलाई अगाडि सारेर नयाँ गुट खडा गरेको आरोप अहिले शक्तिले नसमेटेका सबैजसो विद्यार्थीहरुले लगाइरहेका छन् । पार्टी हेडक्वार्टर संकटमा परेको तर्क गर्दै उनले अखिल क्रान्तिकारीमा नयाँ समीकरण बनाएका छन् । शक्ति बस्नेतको निरन्तरको कदम संगठनभित्रको विवाद समाधानमा नभएर संगठनलाई गुटीय स्वार्थमा लगाइरहने अवस्थालाई संस्थागत गरिरहेको छ ।
पाँच महिनाअघि भदौमा सुरु भएको सम्मेलन भोलि माघ १२ गते निर्वाचन गरेर सम्मेलन समापन गरिने तय भएको छ । महिनौदेखि २४ सय प्रतिनिधि, जहाँ हजारौं विद्यार्थी आबद्ध छन्, अनुत्पादक कुरामा अल्मलिएका छन् । कुनै अजेण्डाको बहस छैन, स्वार्थ बर्चस्वको लागि हजारौं नयाँ जागरुक, चेतनशील युवा जमातलाई रचनात्मक काममा भन्दा किचलोमा ‘होल्ड’ गरिएको छ । स्ववियूको निर्वाचनमा जाने तय भएको छ, नयाँ नयाँ विद्यार्थीहरुका माझमा जानुपर्ने यो समयमा देशभरिको मुख्य नेतृत्व आफ्नै विवादमा अल्झिएको छ । त्यो पनि ‘हेडक्वार्टर’को पक्षलाई जिताउनुपर्ने भन्दै सुँढ घुसार्न लगाएर ।
भावी नेतृत्वको रुपमा विद्यार्थी र प्रेस सेन्टरका नेतृत्वलाई हलमै प्रतिबद्धता जनाउनु पर्ने समय आएको छ । अबको नेतृत्वल कमसेकम आफू नेतृत्वमा छउञ्जेल आफ्नो व्यक्तिगतभन्दा सामूहिक हितलाई केन्द्रमा राखेर जान सक्नुपर्छ । सुधारका प्रक्रियाले मात्रै पत्रकारिता र विद्यार्थी आन्दोलनलाई नयाँ उँचाइमा पुर्याउन सक्षम हुनेछ । सही दिशा र नेतृत्वमा सुधार ल्याउने हो भने त्यस्ता व्यक्तिहरुलाई जिम्मेवारी दिनु पर्नेछ, जसले वास्तवमै क्रियाशील र प्रतिबद्ध भएर काम गर्न सक्छन् । पार्टी नेतृत्वलाई रिझाउनु नै जनसंगठनको नेतृत्वमा ल्याउने अब्बल क्षमता मान्ने परिपाटीको अब अन्त्य गर्नैपर्छ
अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्ने, नगर्ने विषयले नेतृत्व चयन प्रक्रियालाई गम्भीर संकटमा पुर्याएकै थियो । सम्मेलन हलमा नै नांगो खुकुरी प्रदर्शन नै भयो । शक्ति बस्नेतले उमेर हद लागू नगर्ने पक्षमा खुलेर वकालत गरे । अध्यक्ष प्रचण्डको पूर्व स्वकीय सचिव जोखबहादुर महराका छोरा, अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष तुकमान महराकै नेतृत्वमा उमेर हदको विरोध गर्दै सम्मेलनमा खुकुरी प्रदर्शन नै भयो । अन्ततः उमेर हद लागू गर्ने पक्षले मतदानमा जित हासिल गर्यो । यो परिणामले शक्ति बस्नेतसँगै अध्यक्ष प्रचण्डकै पराजयका रुपमा हेरियो ।
अखिल क्रान्तिकारीको नेतृत्वका लागि विभिन्न समूह र गुटले आफ्ना उम्मेदवार अघि सारेका छन् । विजय सापकोटालाई अध्यक्ष प्रचण्डको उम्मेदवार भन्दै शक्ति बस्नेतले अगाडि सारेका छन् । सुदिन पौडेललाई वर्षमान पुन र उपदेश यादवलाई नारायणकाजी श्रेष्ठले अगाडि सारेका छन् । जनार्दन शर्माले हेमन्त राईलाई अगाडि सारेका छन् ।
शक्ति बस्नेतको नेतृत्वमा पार्टीका गुटीय स्वार्थलाई प्राथमिकतामा राखेर अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्ने प्रयासले संगठनको स्वायत्ततामाथि प्रश्न उठाएको छ । विद्यार्थी संगठनलाई पार्टीको गुटीय स्वार्थबाट अलग राख्न नसक्दा संगठनले आफ्नो प्राथमिक भूमिका कमजोर बनाएको छ ।
यदि नेतृत्व चयन प्रक्रियामा गुटीय स्वार्थ हाबी नभएको भए संगठन अहिले स्ववियू निर्वाचनमा केन्द्रित हुने अवस्थामा पुगिसकेको हुन्थ्यो । तर, पाँच महिना लामो विवाद र गुटबन्दीका कारण संगठनभित्र आन्तरिक समस्याहरू झन् बल्झिएका छन् ।
शक्ति बस्नेतले पार्टी हेडक्वार्टर संकटमा रहेको तर्क गरे पनि त्यसको स्पष्ट कारण दिन सकेनन् । मूल प्रवृत्तिमा लाग्नुपर्ने भन्दै आएका उनले विद्यार्थी संगठनलाई पार्टीको स्वार्थमा तान्ने काम मात्र गरे । यो प्रक्रियाले संगठनको नेतृत्व चयनलाई निष्पक्ष बनाउनुभन्दा पनि गुटीय स्वार्थ बलियो बनाउने काम गर्यो । अबको प्राथमिकता विद्यार्थी संगठनको स्वायत्तता सुनिश्चित गर्दै नेतृत्व चयन प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउनु हो । यदि संगठनलाई पार्टीको गुटीय स्वार्थबाट मुक्त गर्न सकिएन भने यो केवल विद्यार्थीहरूको प्रतिनिधित्वमाथि होइन, पार्टीको छवि र विश्वसनीयतामाथि पनि गम्भीर प्रभाव पार्न सक्छ ।
यसैगरी माओवादी केन्द्रनिकट पत्रकारहरुको अर्को भातृ संस्था प्रेस सेन्टर पनि महाधिवेशन गर्दैछ । यही माघ १५ गतेका लागि तोकिएको महाधिवेशनको मिति तयारी नपुगेको भन्दै चैतका लागि सार्ने प्रस्ताव गरिएको छ । नेपाल पत्रकार महासंघको यसअघिको नेतृत्वको आफ्नो कार्यकाल लम्ब्याउने सिको सेण्टरमा पनि देखिएको छ । प्रेस सेन्टरको नेतृत्व हात लिन आकांक्षीहरु माऊ पार्टीका बिभिन्न तहका नेता, समूह र गुटलाई फकाउँदै आशीर्वाद लिन धाइरहेका छन् । क्रियाशील श्रमजीवी पत्रकारहरुले दवाव नदिने हो भने आगामी चैतका लागि प्रस्ताव गरिएको महाधिवेशन पनि हुने हो कि होइन ? आशंका उत्पन्न भएको छ । माघभित्र नसके फागुनको पहिलो सातामा नै महाधिवेशन गर्नुपर्ने अधिकांश पत्रकारहरुको माग छ ।
विद्यार्थी आन्दोलन र पत्रकारितामा सुधारको आवश्यकता भने झल्किन थालेको छ । विद्यार्थीहरूले ३२ वर्षे निर्णय गरेका छन्, जसले केही सुधारको संकेत गरेको छ । प्रेस सेण्टरमा पनि केही शर्तसहितको सुधारको आवश्यकता देखिन्छ । वर्तमान समयमा पत्रकारितामा क्रियाशील नभएका व्यक्तिहरूलाई नेतृत्वको जिम्मेवारी दिइनु भनेको पत्रकारिता क्षेत्रको गुणस्तरमा गिरावट ल्याउनु हो । जब नेतृत्वमा उही पुराना, निष्क्रिय विचारधारा भएका व्यक्तिहरू हुन्छन् तब पत्रकारिता केवल एक यान्त्रिक प्रक्रिया बनिरहन्छ र त्यसको कुनै न कुनै असर समाजमा देखिन थालेको छ । पेशागत नेतृत्व भनेको क्रियाशील पेशाकर्मी र पार्टी नेतृत्वको पुलको काम गर्ने मात्र हुनु हुँदैन । त्यसैले आगामी नेतृत्वको चयनमा क्रियाशील र प्रतिबद्ध पत्रकारहरूको आवश्यकता छ ।
यो प्रवृत्तिमा तत्काल सुधार ल्याउन कठिनाइ छ । विद्यार्थीको ३२ वर्षे उमेर हदले मात्र यो प्रवृत्तिको निदान गर्न सक्दैन । नेतृत्वको निष्ठा र आदर्शले त्यसलाई सुधार्न सक्छ । यस्तै, प्रेस सेन्टरका नेतृत्वमा सक्रिय हुन्छु भन्ने व्यक्तिहरुले, जहाँ हजारौं क्रियाशील श्रमजीवी पत्रकारहरूको सपना जोडिएको छ, त्यहाँ प्रतिबद्धता जनाउनु अति आवश्यक छ । भावी नेतृत्वको रुपमा विद्यार्थी र प्रेस सेन्टरका नेतृत्वलाई हलमै प्रतिबद्धता जनाउनु पर्ने समय आएको छ । अबको नेतृत्वल कमसेकम आफू नेतृत्वमा छउञ्जेल आफ्नो व्यक्तिगतभन्दा सामूहिक हितलाई केन्द्रमा राखेर जान सक्नुपर्छ । सुधारका प्रक्रियाले मात्रै पत्रकारिता र विद्यार्थी आन्दोलनलाई नयाँ उँचाइमा पुर्याउन सक्षम हुनेछ । सही दिशा र नेतृत्वमा सुधार ल्याउने हो भने त्यस्ता व्यक्तिहरुलाई जिम्मेवारी दिनु पर्नेछ, जसले वास्तवमै क्रियाशील र प्रतिबद्ध भएर काम गर्न सक्छन् । पार्टी नेतृत्वलाई रिझाउनु नै जनसंगठनको नेतृत्वमा ल्याउने अब्बल क्षमता मान्ने परिपाटीको अब अन्त्य गर्नैपर्छ ।
शक्ति बस्नेतको प्रत्यक्ष निर्देशनमा महासचिवमा भएको मनोनयनलाई उपाध्यक्षमा सारियो
प्रश्न सोध्ने कि अन्धभक्त हुने ?
क्याटेगोरी : बिचार, राजनीति
प्रतिक्रिया