Techie IT
Samayabaddha
सोमबार, १४ माघ, २०८१

अखिल क्रान्तिकारीको मतगणना अनिश्चित समयका लागि स्थगित


काठमाडौं, १३ माघ । नेकपा (माओवादी केन्द्र) निकटको अखिल क्रान्तिकारीको २३औँ सम्मेलनअन्तर्गत हिजो शनिबार सम्पन्न निर्वाचनको मतगणना अनिश्चित सयमका लागि स्थगित भएको छ ।

उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशका मतदान केन्द्रको मतगणना विशेष कारणबस स्थगित गरिएको केन्द्रीय निर्वाचन समिति अनेरास्ववियू क्रान्तिकारी विश्वविद्यालय प्रदेश समितिका अर्जुन अधिकारी र केन्द्रीय निर्वाचन समिति अनेरास्ववियू उपत्यका विशेष समितिका जगत पोखरेलद्वारा संयुक्त जारी सूचनामा उल्लेख गरिएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरिएको सूचनामा उल्लेख छ ।

मत गणना शुरु गर्न दुवै पक्षबीच विभिन्न चरणका छलफल भए पनि अझै सहमति हुन नसकेको विद्यार्थी नेताहरु बताउँछन् । महासचिवका उम्मेद्वार प्रतिक कार्कीका अनुसार सबैलाई जित्नै पर्ने भएको कारण मत गणना शुरु हुन नसकेको हो ।

बिहानसम्मको मत परिणाममा अध्यक्ष पदको मतगणनामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकटका उम्मेदवार विजयप्रकाश सापकोटा र उपमहासचिव जनार्दन शर्माका उम्मेदवार हेमन्त राईबीच कडा टक्कर देखिएको थियो ।

गणना शुरु हुन लागेको विशेष र विश्वविद्यालयमा पनि रातो मसीले मत हाल्न व्यवस्था गरिएकोमा मतपत्रमा कालो मसी पनि प्रयोग भएको पाइएपछि विवाद भएर गणना रोकिएको हो । प्रदेशहरूमध्ये सबैभन्दा बढी मतदाता यी दुईमा रहेका छन् । जसमा विशेषमा २६४ र विश्वविद्यालयमा २५८ मत खसेको थियो ।

संस्थापन पक्षका उम्मेद्वार सापकोटा पक्षले कालो मसीलाई पनि मान्यता दिनुपर्ने बताएको छ भने जनार्दन पक्षका उम्मेद्वार हेमन्त राईले संस्थापन पक्षले धाँधली गरेको आरोप लगाउँदै कालो मसीलाई मान्यता दिन नहुने बताउँदै आएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट