वर्षमानलाई लिएर सेनाको हेलिकोप्टरमार्फत प्रचण्ड तेह्रथुममा, केपी ओलीको जन्मथलो आठराई जाने
काठमाडौं, १४ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमण निस्किएका छन् । उनी आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । उनको साथमा नेता वर्षमान पुन पनि छन् । उनीहरु सेनाको हेलिकोप्टरमार्फत तेह्रथुम प्रस्थान गरेका हुन् ।
प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्नेछन् । त्यहाँबाट उनी प्रधामन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जानेछन् ।
प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ । उक्त स्थानमा २०५८ साल माघ २४ मा सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारण मारिएका थिए ।
प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन् । उनी आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन् । मंगलबार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ । त्यसपछि उनले कन्दङवाको शालिक अनावरण गर्नेछन् । उनले पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर काठमाडौं फर्कने माओवादी केन्द्र तेहथुमका नेता रघु गौतमले जानकारी दिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया