कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरौँ : वर्षमान
पाल्पा, १७ माघ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।
माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको बुधबार उदघाटन गर्दै पुनले पछिल्लो समय सहतमा आएका प्रकरणहरूको छानबिनका लागि समिति गठन गर्न माग गरेका हुन् । आफूमाथि दर्जनौं अनियमिता र भ्रष्टचार आरोप लागेपछि विवादमा पार्न सकिन्छ कि भन्ने नियतका साथ प्रधानमन्त्री केपी ओलीले शेरादरबारको प्रसंग चर्चामा ल्याइएको उनको आरोप छ ।
उनले शुक्रबार संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शेरादरबारबारे छानबिनको माग राखेर बोल्ने जानकारी दिए ।
“माओवादी नेता पनि कतै जोडिएका छन् र तर्साउन सकिन्छ कि भनेर ओलीजीले शेरादरबारको कुरा गरिरहनुभएको छ । हामी हिजो गणतन्त्रका लागि ज्यानको बाजी लगाएर लडेर आएका हौँ,” उनले भने, “हाम्रो अध्यक्षले संसदमै शेरादरबारको छानबिन सुरु गर्नुस् भनेर बोल्दै हुनुहुन्छ ।”
पुनले प्रधानमन्त्री ओलीलाई आफू र आफ्ना नेताबारे उठेका प्रश्नबारे छानबिन गर्न तयार हुन चुनौती दिउ । “कम्बोडियामा तपाईंको लगानी छ भने प्रश्न उठ्यो, स्वीस बैंकमा पैसा छ भनिएको छ,” उनले अगाडि थपे, “गिरीबन्धु टी स्टेटमा तपाईंको नाम मुछियो । तपाईं लोकतान्त्रिक देशको प्रधानमन्त्री हो । मममाथि संसदीय छानबिन होस् भन्न सक्नुहुन्छ ?”
पुनले विगतमा पनि नेताहरूमाथि छानबिन गर्नुपर्दा उच्चस्तरीय न्यायिक आयोग र संसदीय छानबिन समिति बन्ने गरेको स्मरण गरे । प्रचण्डले यसअघि प्रधानमन्त्री रहेकै बेला प्रहरी प्रमुखसहित छानबिन गर्ने निकायलाई आफ्नो पार्टीका नेता, कार्यकर्ता, परिवारका सदस्या वा आफू स्वयंबाट राज्य दोहन र भ्रष्टाचारजन्य क्रियाकपाल भएको भए छानबिन गर्न अपिल गरेको बताए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया