Techie IT
Samayabaddha
बिहीबार, १७ माघ, २०८१

अखिल क्रान्तिकारीको नेतृत्व चयन : माओवादीभित्र प्रचण्डको पकड कमजोर बन्दै


काठमाडौं । पाँच महिनासम्म अन्योलमा रहेको अखिल (क्रान्तिकारी) को नेतृत्व चयनमा अन्ततः अध्यक्ष प्रचण्ड पक्षका विजय सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । तर, यो प्रक्रियाले माओवादी केन्द्रभित्रको शक्ति सन्तुलनमा ठूलो असर पारेको देखिएको छ । नेतृत्व चयन प्रक्रियामा भएको ढिलाइ, अन्तर्कलह र अन्ततः आएको परिणामले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पकड कमजोर हुँदै गएको संकेत गरेको छ ।

अध्यक्ष प्रचण्डको पक्ष कमजोर, जनार्दन शर्मा समूह बलियो

पार्टी अध्यक्ष प्रचण्डको सचिवालयले शक्ति बस्नेतमार्फत अखिल क्रान्तिकारीको नेतृत्व निर्माण गर्ने प्रयास गरे पनि अन्ततः अपेक्षाकृत नतिजा प्राप्त भएन । अध्यक्ष पदमा प्रचण्ड पक्षका उम्मेदवार विजय सापकोटाले केवल ७३ मतको झिनो अन्तरले जिते । अर्का प्रतिस्पर्धी हेमन्त राई, जो जनार्दन शर्मा निकट मानिन्छन्, झन्डै विजयी हुने अवस्थामा पुगे ।

महासचिव, कोषाध्यक्षसहित सचिवालयका अधिकांश पदमा जनार्दन शर्मा पक्षका उम्मेदवारहरू विजयी भएका छन् । यसले पार्टीभित्र शर्मा पक्षको प्रभाव बढ्दै गएको देखाउँछ ।

अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको नेतृत्व आफ्नो पकडमा राख्न नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन लगायत नेताहरूलाई पनि आफ्नो पक्षमा तान्ने प्रयास गरे । पम्फा भुसाल, देव गुरुङ पक्षले अध्यक्षलाई नै सघाउ गरेको देखिन्छ । नारायणकाजी श्रेष्ठ र वर्षमान पुन पक्षले भने आआफ्ना पक्षका उम्मेदवारहरु मैदानमा खडा गरेका थिए । तर, उनीहरु निकै कमजोर सावित भए ।

किन कमजोर हुँदै छन् प्रचण्ड ?

अध्यक्ष प्रचण्ड पार्टीभित्र एकलौटी रूपमा निर्णय गर्दै आएका भए पनि पछिल्लो समय उनको पकड खुकुलो बन्दै गएको छ । युद्धकालीन नेताहरू मोहन वैद्य ‘किरण’ र डा बाबुराम भट्टराईसँग प्रतिस्पर्धा गर्दै पार्टी नियन्त्रणमा लिएका प्रचण्ड अहिले आफ्नै पार्टीका दोस्रो तहका नेतासँग संघर्ष गर्न बाध्य भएका छन् ।

विशेषगरी जनार्दन शर्मा  जस्ता नेताहरू सांगठनिक रूपमा प्रभावशाली बन्दै गएकाले प्रचण्ड एकल रूपमा निर्णय लिने अवस्थामा नरहेको विश्लेषण गरिएको छ ।

शान्ति प्रक्रियामा आएदेखि प्रचण्डको निकट रहेर तर मार्दै आएको प्रवृत्तिले प्रचण्डलाई खोपीको देवता बनाएर लुटिरहेको छ । नयाँ पुस्ताका निकै सशक्त युवा विद्यार्थी प्रतिक कार्कीलाई हेडक्वाक्वार्टरकाे उमम्दवार बनाउन दिएको दवावलाई विरोध गर्दै शक्ति बस्नेतले अहिलेको जमानामा आदर्शको कुरा गरेर माओवादी बढ्दैन भन्दै हास्दै उपहास गरेका थिए ।

अध्यक्ष प्रचण्ड पक्षले सत्ताको दुरुपयोग गरेर महासचिवमा ल्याएको भन्दा प्रतिक कार्कीको मत धेरै फरक छैन । उनले कसैसँग अडेस नलागी ल्याएको मत निकै प्रभावकारी छ ।

पार्टीभित्र चुलिँदै गएको गुटबन्दी

माओवादी केन्द्रभित्र गुटगत प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचन नतिजाले माओवादीभित्रको शक्ति सन्तुलन बिथोलिएको संकेत गरेको छ ।

अखिल क्रान्तिकारीको निर्वाचनले स्पष्ट देखाएको छ कि माओवादीभित्रको आन्तरिक गुटबन्दी झन् बलियो बन्दै गएको छ । पार्टी नेतृत्वलाई पूर्ण रूपमा आफ्नो पकडमा राख्ने अध्यक्ष प्रचण्डको रणनीति कमजोर भएको छ भने नयाँ पुस्ताका नेताहरू प्रभावशाली बन्दै गएका छन् ।

यस घटनाक्रमले आगामी दिनमा माओवादी केन्द्रभित्र थप शक्ति संघर्ष बढ्ने संकेत गरेको छ ।

 

 

 

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट