सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतंकित पारेको छ : नारायणकाजी श्रेष्ठ
काठमाडौं, १८ माघ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतंकित पारेको बताएका छन् ।
शुक्रबारदेखि सुरु राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा उनले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भएको बताए । तर, बोल्नै नपाउने गरी नियन्त्रण गर्न खोज्दा नागरिक आतंकित भएको उनले उल्लेख गरे । सामाजिक सञ्जालसम्बन्धी विधेयकले निरंकुशताको झल्को दिएको उनले टिप्पणी गरे ।
उनले सकारात्मक अन्तर्वस्तुलाई प्रहार गर्ने अभिप्रायले संविधान संशोधन गर्न खोजिएको आरोप लगाए । सत्तासाझेदार दलका नेताहरू नै दुईदलीय व्यवस्थाको पक्षमा खुलेर लागेको अवस्थामा देश निरंकुशतामा जान सक्ने संकेत देखिएको उनले धारणा राखे ।
उनले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन सरकार गम्भीर नदेखिएको टिप्पणी गरे । छिटो सिफारिस समिति गठन गरेर संक्रमणकालीन न्यायसँग सम्बन्धित समितिलाई पूर्णता दिन उनले माग गरे ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया