Techie IT
Samayabaddha
शनिबार, ३ फागुन, २०८१

डलरवादीको प्रहारको निशानामा गृहमन्त्री रमेश लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले तथ्यलाई तोडमोड गरी समाजलाई विभाजनतर्फ धकेल्ने कार्यको कडा आपत्ति जनाएका छन् ।

समयबद्धसँग संक्षिप्त प्रतिक्रिया दिदैं मिडियाहरूले जिम्मेवारीपूर्वक समाचार सम्प्रेषण नगर्दा पानी धमिल्याएर माछा मार्ने स्वार्थी तत्व हावी हुनसक्ने भएकाले यसमा सतर्क हुनुपर्नेमा गृहमन्त्रीको जाेड थियाे ।

गृहमन्त्री लेखकले वास्तविक पीडितहरूलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको कुरालाई दोहोर्याए ।

सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको प्रेम विवाहपछि देखिएको विवादबारे सरकार गम्भीर रहेको गृहमन्त्री लेखकले स्पष्ट पारे । उनले भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको उल्लेख गरे ।

‘नेहा र सत्येन्द्रबीचको प्रेम विवाह कानुनी रूपमा मान्य छ । सरकारले उनीहरूको सुरक्षाको प्रत्याभूति गर्दछ,’ गृहमन्त्री लेखकले भने । उनले आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछुतविरोधी रहेको उल्लेख गर्दै अन्तरजातीय विवाहलाई राज्यले पूर्ण रूपमा स्वीकार गर्ने बताए ।

गृहमन्त्री लेखकले अनावश्यक हल्ला फैलाएर समाजमा उत्तेजना सिर्जना गर्न खोज्नेहरूलाई सावधान रहन चेतावनी पनि दिए ।

‘मन्त्रालयले यो विषयलाई स्पष्ट पारिसकेको छ । सरकार पीडितलाई सुरक्षा दिन प्रतिवद्ध छ,’ उनले दोहोर्‍याए ।

समाजमा केही व्यक्तिहरू जातीय मुद्दालाई उचालेर चर्चा कमाउने, डलर झार्ने र राजनीतिक लाभ उठाउने काम गरिरहेका छन् । त्यही प्रवृत्तिबाट पछिल्लो समय गृहमन्त्री रमेश लेखकलाई शिकार बनाउन खोजिरहेको प्रष्ट देखिन्छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट