Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

भारतको राजधानी दिल्लीमा भाजपा २७ वर्षपछि फर्कियो, कहाँ चुक्यो आप ?


नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले राजधानी दिल्लीमा २७ वर्षपछि पहिलो पटक चुनावी जित हासिल गर्दै सरकार बनाउने भएको छ ।

भारतीय जनता पार्टी (भाजपा)ले ७० सीट रहेको दिल्ली विधानसभामा ४८ सिटमा जित हासिल गरेको छ भने हाल सत्तामा रहेको आम आदमी पार्टी (आप) २२ सीटमा खुम्चिएको छ ।
भारतको दिल्ली सभामा कुल ३५ भन्दा बढी सीट जित्ने दलले सरकार बनाउन सक्छ ।

‘विकासको जीत, सुशासनको विजय’, मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै आफ्नो पार्टीले दिल्लीको विकासमा ‘कुनै कसर नछाड्ने’ बताएका छन् ।

भाजपाले के गर्यो, आप कहाँ चुक्यो ?

भारतीय मतदातामाझ मोदीको लोकप्रियतालाई सुदृढ बनाउन दिल्लीमा भाजपाको जीत राजनीतिक रूपमा महत्वपूर्ण रहेको विज्ञहरू बताउँछन । उनको पार्टीले पछिल्लो आम चुनावमा भने स्पष्ट बहुमत गुमाएको थियो ।

आपका लागि यो पराजय एउटा ठूलो झट्का हो । एउटा सानो दल भए तापनि सहरमा शिक्षा र स्वास्थ्य सुविधाहरू सुधार गर्न ध्यान केन्द्रित गरेकोमा दिल्लीमा सत्ता सम्हालेका प्रारम्भिक वर्षहरूमा आपको प्रशंसा हुने गरेको थियो ।

केजरीवालको दल पञ्जाब राज्यमा पनि सत्तामा छ । तर यतिखेर आफ्नो भविष्यबारे प्रश्नहरू उठाइएको यस दलका लागि दिल्लीको आफ्नो वर्चस्व कायम राख्नु संकटमाथिको विजय हुने थियो ।

मध्यमवर्गमा केजरीवालको भ्रष्टाचार विरोधी अडानका कारण कुनै समय चुलिएको आपप्रतिको आकर्षण एक दशकभन्दा बढी दिल्लीको सत्तामा रहेपछि घटेको छ ।

मध्यमवर्गको नेतृत्वमा भएको भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व गरेका केजरीवालले गरिबको पार्टी बन्ने बाटो रोजेका थिए ।

गरिब र दिल्लीमा संघर्षरत मजदुर वर्गले उनलाई कहिलेबाट साथ दिन छाडे भन्ने अझै प्रस्ट भएको छैन ।

भ्रष्टाचारको आरोप, प्रमुख नेताहरू जेल पर्ने क्रम र केजरीवाल स्वयंको गिरफ्तारीले आम आदमी पार्टीको अभियानलाई क्षति र्पुयाउँदा देखा परेको रिक्ततालाई भाजपाले तत्काल सदुपयोग ग¥यो ।

भारतमा नरेन्द्र मोदीको पार्टीले बहुमत गुमाउनुको अर्थ के हो ?

विशाल स्रोत र शक्तिशाली चुनावी संयन्त्रसहितको भाजपाले राज्य र सङ्घीय सरकारहरू एउटै पार्टीले स्थिरता र सुशासनसहित चलाउने वाचा गरेको थियो ।

झण्डै ३० वर्षमा भाजपाले दिल्लीमा ल्याएको पहिलो बहुमत एउटा ऐतिहासिक जीत हो । यसको परिवर्तनको सन्देशले काम ग¥यो । अनि यसको राजनीतिक र आर्थिक बलले ठूलो जीत दिलायो ।

केजरीवाल चुनावमा पराजित भए भने बहालवाला मुख्यमन्त्री आतिशीले झिनो अन्तरले जित हासिल गरिन् ।

हरियाणा र महाराष्ट्र राज्यहरूमा ताजा जीतले गत वर्षको आम चुनावमा पराजयपछि भाजपा तङ्गरिन खोजेको देखाउँछ ।

दिल्लीमा पकड गुमेपछि विपक्षीहरू चिन्तामा छन् भने भाजपा उच्च मनोबलसाथ अर्काे चुनावी चक्रमा प्रवेश गर्दैछ ।

आपका शीर्ष नेताहरू केजरीवाल र मनिष सिसोडिया पराजित भएपछि शनिवार आपमा ठूलो निराशा छायो । बहालवाल मुख्यमन्त्री आतिशी समेत झिनो अन्तरको जित हासिल गर्न सफल भइन् ।

कुल ६० प्रतिशतभन्दा भन्दा बढी योग्य मतदाताहरूले मतदान गरेको चुनावमा धेरैजसो एक्जिट पोलले भाजपाले पूर्ण बहुमत ल्याउने भविष्यवाणी गरेका थिए । तर विगतमा त्यस्ता भविष्यवाणीहरू गलत समेत साबित भएका थिए ।

कस्तो थियो भाजपाको प्रचार ?

भाजपाको धेरैजसो प्रचार अभियान केजरीवाल लक्षित थियो । भ्रष्टाचार विरोधी अभियानकर्मी केजरीवाल मदिरा बिक्री नीति सम्बन्धी भ्रष्टाचारको मुद्दामा सिसोदियासँगै जेल परेका थिए । उक्त नीति यतिखेर खारेज गरिएको छ ।

महिनौँ जेलमा बिताएर हालसालै छुट्टाछुट्टै जमानतमा रिहा भएका उनीहरूले ती आरोपहरू अस्वीकार गर्दै आएका छन् ।

केजरीवाल मोदीको पार्टीले आफू र आपविरुद्ध ‘राजनीतिक प्रतिशोध’ लिएको आरोप लगाउँछन् । तर भाजपा त्यसलाई अस्वीकार गर्छ ।

संघ प्रशासित दिल्लीको शासन व्यवस्था अनौठो छ । सार्वजनिक सुव्यवस्था, प्रहरी र भूमि व्यवस्थापनजस्ता विषयमा मुख्य निर्णय लिने अधिकार संघीय सरकारले नियुक्त गरेका लेफ्टिनेन्ट गभर्नरसँग हुन्छ ।

राज्यसभाले शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवाबारे निर्णय लिने अधिकार राख्छ । प्रतिस्पर्धी पार्टीले संघीय सरकार र राज्य सरकार सञ्चालन गर्दा अधिकार प्रयोगको विषयमा केन्द्र र राज्य सरकारबीच टकराब देखिने गरेको छ ।

अधिकार बाँडफाँटको यस्तो संरचनाका कारण पनि दिल्लीमा चुनावी नाराहरू राजनीतिक भन्दा बढी कल्याणकारी मुद्दामा केन्द्रित देखिएका थिए ।

भाजपाले दिल्लीको वायु गुणस्तर सूचकाङ्क अर्थात् एक्यूआईलाई सन् २०३० सम्ममा आधाले घटाउने वाचा गरेको छ ।

भाजपाले दिल्लीको वायु गुणस्तर सूचकाङ्क अर्थात एक्यूआईलाई सन् २०३० सम्ममा आधाले घटाउने वाचा गरेको छ ।

आप र भाजपा दुवैले सरकारी विद्यालयहरूमा सुधार, निःशुल्क स्वास्थ्य सेवा र महिलाहरूका लागि भत्ताको नारा अघि सारेका थिए ।

गत साता मात्रै सार्वजनिक भएको भारतको बजेटमा मध्यम आय भएका मानिसहरूका लागि कर छुटको घोषणा भएको थियो ।

मध्यम आय भएका मानिसहरूको उच्च जनसंख्या बसोबास गर्ने दिल्ली राज्यसभा निर्वाचनमा त्यसको फाइदा आफूलाई पुग्ने भाजपाको आंकलन थियो ।

यद्यपि हप्तौँ लामो तिक्ततापूर्ण प्रचार अभियानमा प्रदूषणको विषय भने धेरैजसो समेटिएन । दिल्लीको पुरानो वायु प्रदुषण सङ्कटले सहरका ३ करोड बासिन्दालाई बर्सेनी सताउँछ ।

भाजपाले आफूले जितेमा सहरको वायु गुणस्तर सूचकाङ्क अर्थात् एक्यूआईलाई सन् २०३० सम्ममा आधाले घटाउने वाचा गरेको थियो ।

अन्य दलहरूले पनि आफ्नो घोषणापत्रमा सङ्कटलाई उल्लेख गरे तापनि यस मुद्दा छलफलमा हाबी भएन वा चुनावी अभियानमा छलफलको केन्द्रमा पर्न सकेन ।

दिल्लीमा को कहिले सत्तामा थिए ?

देशको राजधानीको सहर भएका कारण पनि दिल्ली राज्यसभाको निर्वाचनलाई भाजपा र आपले प्रतिष्ठाको विषय बनाएका थिए ।

भारतको राजधानी सङ्घीय प्रशासित क्षेत्र हो । मतदाताले कल्याणकारी मुद्दालाई समर्थन गरेसँगै यहाँ सन् २०१३ यता केजरीवालको आपले सरकार चलाइरहेको थियो ।

भाजपाका लागि राजधानी सहरमा देखिएको निर्वाचन परिणाम चुनावी सफलतामा मात्रै सीमित छैन ।

सन् १९९८ यता राजधानीमा सत्ता बाहिर रहेको भाजपाले यो निर्वाचनसँगै राजधानीमा महत्वपूर्ण आधार पाएको छ ।

कांग्रेसले सन् १९९८ देखि २०१३ सम्म यहाँ सरकार चलाएको थियो ।

तर भ्रष्टाचारको आरोपपछि यहाँका मतदाताहरूले कांग्रेसलाई पाखा लगाएर आम आदमी पार्टीलाई सरकारमा पु¥याएका थिए । स्रोत बिबिसि


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति

प्रतिक्रिया


ताजा अपडेट