Techie IT
Samayabaddha
शनिबार, ३ फागुन, २०८१

ट्रम्प-मोदी भेटः चीन नै मुख्य प्रतिस्पर्धी भएको संकेत


सबल दाहाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ह्वाइट हाउसमा भएको पछिल्लो बैठकले व्यापार, सुरक्षा, र कूटनीतिक सम्बन्धमा नयाँ तरङ्ग ल्याएको छ।

ट्रपले आफ्नो दोस्रो कार्यकाल  सुरुगरेपछि उनलाई भेट्ने मोदी चौथो विश्व नेता बनेका छन्।

व्यापार ट्यारिफ विवाद

ट्रम्पले विदेशी वस्तुहरूमा लगाउने नयाँ ‘पारस्परिक ट्यारिफ’ (Reciprocal tariffs) को नीति ल्याएसँगै मोदी झस्किएका थिए । भारतसँग अमेरिकाको व्यापार घाटा ४५ अर्ब डलर रहेको तथ्यांकले बताउँछ ।

ट्रपको ‘पारस्परिक ट्यारिफ’ (Reciprocal tariffs) को नीतिले उच्च व्यापार घाटा भएको देशलाई उच्च टयारिफ लगाउने योजना छ । उक्त नीतिले  भारतीय अर्थतन्त्रलाई ठूलो असर पुर्याउन सक्छ भन्ने बुझेर मोदी ट्रम्पसँग भेट्न अमेरिका पुगेका हुन । ट्रम्पले लामो समयदेखि मोदीलाई ‘ट्यारिफको राजा’ भनेका थिए, किनभने भारतले विदेशी सामानमा उच्च आयात कर लगाउने गर्छ र भारतको यस नीतिले अमेरिकालाई ठूलो घाटा व्यहोर्नु परेको छ ।

तर, मोदीले ट्रम्पसँगको बैठकमा यो विवादलाई साम्य पार्ने प्रयास गरे। बैठकपछि दुई नेताले व्यापारिक असन्तुलन हटाउन वार्ता जारी राख्ने सहमति जनाए। मोदीले २०३० सम्म अमेरिका-भारत द्विपक्षीय व्यापारलाई ५०० अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य घोषणा गरे, जुन हाल १२९. अर्ब अमेरिकी डलर छ।

ट्रम्पले भारतले अमेरिकी उत्पादनमा लगाउँदै आएको उच्च कर कम गर्ने घोषणा गरेकोप्रति सन्तोष व्यक्त गरे। ट्रम्पले भारतसँग अमेरिकाबाट तेल र ग्यासको खरिद गरेर अमेरिकी व्यापार घाटा घटाउने अपेक्षा गरेका छन् । जबकि रसिया–युक्रेन युद्धपछि रसियाको अरु देशसँग सम्बन्ध विग्रिएको बेला भारतले उसबाट सस्तोमा तेल र ग्यास खरिद गर्दै आएको छ ।

बिआरआईको विकल्पबारे छलफल

मोदी र ट्रम्पबीच राष्ट्रवादी विचारधारा साझा देखिन्छ। ट्रम्पको ‘Make America Great Again’ (MAGA) नारालाई समर्थन गर्दै मोदीले ‘Make India Great Again’ (MIGA) को अवधारणा प्रस्तुत गरे। उनले ‘MAGA र MIGA’ मिलेर ‘MEGA’ साझेदारी बन्ने बताए।

मोदीले ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिसँग आफ्नो हिन्दू राष्ट्रवादी विचारधारालाई तुलना गर्दै भने, राष्ट्रको हित सर्वोपरि राख्ने कुरा मैले राष्ट्रपति ट्रम्पबाट सिकेको छु। मोदीको यो अभिव्यक्ति ट्रम्पसँगको सम्बन्धलाई अझ बलियो बनाउन गरिएको प्रयासको रूपमा हेरिएको छ।

अमेरिकी राष्ट्रपतिले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) जस्तै एउटा अन्तर्राष्ट्रिय पूर्वाधार परियोजनाको संकेत गरे, जसले विश्वभरका साझेदार राष्ट्रहरूलाई जोड्नेछ।

“हामी इतिहासकै एक महान व्यापार मार्ग निर्माण गर्न सहकार्य गर्ने सहमतिमा पुगेका छौं। यो मार्ग भारतबाट इजरायल, इटाली हुँदै संयुक्त राज्य अमेरिकासम्म फैलिनेछ, जसले हाम्रो साझेदार राष्ट्रहरूलाई भौतिक पूर्वाधारको रुपमा जोड्ने र यो बिआरआईलाई काउन्टर दिन ल्याइएको प्रोटेक्ट भएको संकेत गरे ।

ट्रम्पले सम्भवत: भारत-मध्यपूर्व-युरोप आर्थिक करिडोर (India-Middle East-Europe Economic Corridor – IMEC) को उल्लेख गरेका थिए, जुन सेप्टेम्बर २०२३ मा घोषणा गरिएको थियो। अमेरिकाको पहलमा प्रस्तावित यो करिडोर संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, इजरायल, र ग्रीस हुँदै जाने योजना बनाइएको छ। तर, इजरायल-गाजा युद्धका कारण यसको भविष्य अनिश्चित देखिएको छ।

अमेरिकी राष्ट्रपतिले यो करिडोरले अमेरिकालाई नेतृत्वमा रहन मद्दत गर्ने बताए, जुन सम्भवत: चीनसँगको आर्थिक प्रतिस्पर्धालाई ध्यानमा राखेर गरिएको टिप्पणी थियो।

मोदी-ट्रम्प भेटघाटले अमेरिका-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रयास गरेको छ। व्यापार, सुरक्षा, र रणनीतिक साझेदारीलाई केन्द्रमा राख्दै दुवै नेताले आफ्नो सम्बन्धलाई बलियो बनाउन खोजेका छन्। तर, व्यापार घाटा, ट्यारिफ विवाद, र कूटनीतिक तनावलाई सम्हाल्न अझै ठूलो प्रयास गर्नुपर्ने देखिन्छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति

प्रतिक्रिया


ताजा अपडेट