केजरीवालले बनाएको ‘शिश महल’मा भाजपा मुख्यमन्त्री नबस्ने घोषणा

दिल्ली । भारतीय जनता पार्टी (भाजपा) की नेता रेखा गुप्ताले आज दिल्लीको नयाँ मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेकी छिन्। यो ऐतिहासिक समारोह दिल्लीको रामलीला मैदानमा सम्पन्न भयो, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष जेपी नड्डा लगायतका उच्च पदस्थ नेताहरू उपस्थित थिए। रेखा गुप्ता दिल्लीकी चौथो महिला मुख्यमन्त्री बनेकी छिन् । यसअघि सुषमा स्वराज, शीला दीक्षित र आतिशीले यो पद सम्हालेका थिए।
भाजपा नेतृ रेखा गुप्ताले दिल्लीको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेपछि, उनले पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालद्वारा निर्माण गरिएको ‘शिश महल’ भनेर चिनिने सरकारी निवासमा नबस्ने घोषणा गरेकी छिन्। उनले उक्त निवासलाई जनताको करबाट बनाइएको विलासिता भनेकी छिन् र आफू त्यहाँ नबसी सादा जीवनशैली अपनाउने बताएकी छिन्।
दिल्लीका मुख्यमन्त्रीको आधिकारिक निवासलाई भाजपाले शीशमहल नाम दिएको थियो । अरविन्द केजरीवालले यसलाई निर्माण गराएका थिए । केजरीवालले नियमहरूलाई बेवास्ता गरेर करोडौं रुपैयाँ खर्च गरेर यो भवन निर्माण गरेको भाजपाको आरोप छ । भाजपाले यसलाई चुनावी मुद्दा पनि बनाएको थियो । भाजपा नेतृ रेखा गुप्ताको यो निर्णयले जनतामा सकारात्मक सन्देश जाने विश्वास गरिएको छ।
रेखा गुप्ता शालीमार बाग विधानसभा क्षेत्रबाट पहिलो पटक विधायक निर्वाचित भएकी हुन्। हालै सम्पन्न विधानसभा चुनावमा उनले आम आदमी पार्टीकी उम्मेदवार बन्दना कुमारीलाई २९,००० भन्दा बढी मतान्तरले पराजित गरेकी थिइन्। यो विजयले भाजपा लाई २७ वर्षपछि दिल्लीको सत्ता पुनः प्राप्त गर्न मद्दत पुर्यायो, जहाँ पार्टीले ७० मध्ये ४८ सीटमा जीत हासिल गर्यो।
शपथ ग्रहण समारोहमा रेखा गुप्तासँगै ६ अन्य मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिए। यी मन्त्रीहरूमा प्रवेश वर्मा, आशीष सूद, मनजिंदर सिंह सिरसा, रविन्द्र इन्द्राज सिंह, कपिल मिश्रा र पंकज कुमार सिंह समावेश छन्। प्रवेश वर्मा, जो पूर्व मुख्यमन्त्री साहिब सिंह वर्माका पुत्र हुन्, उनले नयाँ दिल्ली सीटबाट आम आदमी पार्टीका नेता अरविन्द केजरीवाललाई पराजित गरेका थिए।
शपथ ग्रहण गर्नुअघि रेखा गुप्ताले बिहीबार बिहान मिडियासँग कुराकानी गर्दै यो एउटा ठूलो जिम्मेवारी भएको बताएकी दिइन । आफूमाथि विश्वास देखाएकोमा प्रधानमन्त्री मोदी र पार्टी हाईकमान्डलाई उनले धन्यवाद दिएकी दिइन ।
शपथ ग्रहणपछि मुख्यमन्त्री रेखा गुप्ताले आफ्नो पहिलो सम्बोधनमा दिल्लीको समग्र विकास र जनताको कल्याणका लागि प्रतिबद्धता व्यक्त गरिन्। उनले विशेष गरी यमुना नदीको सफाईलाई प्राथमिकतामा राख्ने बताइन्। यसै सन्दर्भमा, शपथ ग्रहणपछि साँझ ५ बजे उनले आफ्नो सम्पूर्ण मन्त्रिमण्डलसँगै यमुना बजारस्थित वासुदेव घाटको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। साँझ ७ बजे दिल्ली सचिवालयमा पहिलो मन्त्रिपरिषद् बैठक आयोजना हुनेछ, जसमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू लिइने अपेक्षा गरिएको छ।
रेखा गुप्ताको मुख्यमन्त्री पदमा नियुक्तिसँगै दिल्लीमा नयाँ युगको सुरुवात भएको छ भाजपाले बताएको छ । उनको नेतृत्वमा दिल्लीले समृद्धि र विकासको नयाँ मार्गमा अग्रसर हुने विश्वास भाजपाले लिएको छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति
प्रतिक्रिया