रवि लामिछानेले सहकारी ठगीमा सजाय पाउनैंपर्छ : शेखर कोइराला

काठमाडौँ, १० फागुन। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौँमा प्रजातन्त्र सेनानी सङ्घका प्रतिनिधिहरूको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शङ्का नरहेको भन्दै सजाय पाउनुपर्ने बताए । तर सभापति लामिछानेमाथि भएको मानव अधिकार उल्लङ्घनबारे सरकार पन्छिन् नमिल्ने बताए ।
मानव अधिकारका कुरा नबुझ्नेहरू कांग्रेसी नहुने उनको तर्क छ । सहकारीको रकम हिनामिना गरेको प्रकरणमा केही समय अघि सभापति लामिछानेलाई रातारात पोखरा पुर्याइएको घटनाप्रति आपत्ति जनाउँदै सुरक्षा चुनौती देखाएर सरकारले मानव अधिकारको उल्लङ्घन गरेको जानकारी दिए । उनले सुरक्षा चुनौती भए किन चितवन लगेको ? भन्दै प्रश्न गरे । उनले सभापति लामिछानेमाथि अन्याय भयो भनेर आफूले नबोलेको दाबी गरे ।
उनले भने, ‘‘कांग्रेसीहरूले जबसम्म मानव अधिकारका कुराहरू बुझ्दैनौँ तबसम्म हामी कांग्रेसी हुँदैनौँ । ठगेको छ उसले । उसले सजाय पाउनुपर्छ । तर त्यसको पनि एउटा प्रक्रिया हुन्छ नि राति उठाएर लगिदिने पोखरा । र पुलिसले, गृह मन्त्रालयले यो भन्नेकी हामी संरक्षण लिन सक्दैनौँ । किन लगेको थियो त ? संरक्षण दिन सक्दैन भने चितवनमा ? कुरा त्यो हो ।’’
सांसद कोइरालाले अहिले नेपाली कांग्रेस कमजोर भएको दाबी गर्दै अधिवेशनको टुङ्गो नलागेको प्रति आपत्ति जनाए । समयमा नै अधिवेशन गर्न सामाजिक सञ्जालबाट दबाब दिन आफू निकट नेता÷कार्यकर्तालाई दबाब दिए । अहिले राज्य नै एमालेकरण भइरहेको भन्दै गम्भीर हुनुपर्ने बताए ।
‘‘नेपाली कांग्रेस कमजोर भएको छ । अधिवेशन पनि कहिले हुने टुङ्गो छैन हाम्रो । ०८४ को चुनावपछि गर्ने भनिरहेको छ । तपाईंहरूले साथीहरूलाई भेट्दा कुरा गर्दा अधिवेशन समयमा गर भनेर प्रेसर दिनुपर्यो । सामाजिक सञ्जालमा पनि लेख्न थाल्नुपर्यो । दोस्रो कुरा चिन्ता मलाई कहाँ लागेको छ ।,’’ उनले भने, ‘‘राज्य नै एमालेकरण भइरहेको छ की भन्ने देखिरहेको छु । सरकार नै एमालेकरण भइरहेको छ की भन्ने हो । त्यसलाई हामीले कसरी व्यवस्थापन गर्ने भन्नेतिर सोच्नुपर्छ । मन्त्रीज्युहरूले सहकार्य गर्ने हो त्यसमा कुनै शङ्का नै भएन । तपाईं हामीले खबरदारी गरिरहनुपर्छ । र मात्रै हाम्रा मन्त्रीहरू सचेत हुनुहुन्छ र एमाले पनि सचेत हुन्छ ।’’
सांसद कोइरालाले सरकारलाई एमालेकरण हुनबाट जोगाउन सबैले दबाब दिनुपर्ने बताए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया