Techie IT
Samayabaddha
शुक्रबार, १६ फागुन, २०८१

नेमकिपाको आठौँ महाधिवेशन सुरू


भक्तपुर, १६ फागुन । आजदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन सुरू हुँदै छ । महाधिवेशन यही फागुन १९ गतेसम्म चल्ने सो पार्टीले जनाएको छ ।

नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले नेमकिपाको आठौँ महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा कन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेण्डा पारित गर्ने बताए ।

उनले महाधिवेशनका लागि काठमाडौं, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने उनले जानकारी दिए ।

आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौंको कोटेश्वर, ताथलीलगायत ठाउँमा बाजागाजा, झाँकी, विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै दिउँसो १ बजे सल्लाघारीमा पुगेर उद्घाटनसत्रमा परिणत हुने उनले बताए ।

अध्यक्ष नारायणमान विजुक्छे रोहितको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको जानकारी दिँदै उनले पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको बताए ।

पार्टीको सातौँ महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छेलाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ ।

यसअघिको सातौँ महाधविशेनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । जसमा २३ केन्द्रीय र दुईजना वैकल्पिक केन्द्रीय सदस्य रहेका थिए ।

यस वर्ष महाधिवेशनले बिजुक्छेलाई नै अर्को कार्यकालका लागि चुन्ने हो वा नयाँ नेतृत्व आउने हो भन्ने चासो छ । रासस


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट