स्ववियु चुनाव हुने मिति घोषणा भएसँगै विद्यार्थी सङ्गठनका गतिविधि बढ्न थाले

तानसेन, २६ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने मिति घोषणा भएसँगै विद्यार्थी सङ्गठनका गतिविधि बढ्न थालेका छन् । आउँदो चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि जिल्लाका विभिन्न क्याम्पसमा विद्यार्थी सङ्गठनले विभिन्न कार्यक्रम गर्न थालेका हुन् ।
क्याम्पसमा क्रियाशील नेवि सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अखिल छैटौँलगायतका विद्यार्थी सङ्गठनले आआफ्ना गतिविधि बढाएका छन् । उनीहरूले विद्यार्थी भेला गर्ने, चुनावमा उम्मेदवारबारे छलफल गर्ने, विद्यार्थीका मागबारे अन्तर्क्रिया गर्ने कार्यक्रम गरिरहेका छन् । स्ववियुको निर्वाचनको तालिका आएपछि विद्यार्थी केन्द्रित कार्यक्रम गर्न थालेको नेवि सङ्घ त्रिभुवन बहुमुखी क्यापसका सभापति पुण्यप्रसाद सुवेदीले बताए ।
पाल्पामा त्रिभुवन बहुमुखी क्यापस, सहिद बहुमुखी क्याम्पस, रामपुर, माण्डव्य बहुमुखी क्याम्पस, दमकडा र उद्धबुद्ध क्याम्पस, पूर्वखोलामा विभिन्न विद्यार्थी सङ्गठनले गतिविधि बढाएका छन् । स्ववियुको निर्वाचनले क्यापसमा विद्यार्थी सङ्गठनको गतिविधि बढेको त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख डा. टङ्कप्रसाद पन्थले बताए।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया