यूएसएआईडीका ८० प्रतिशत भन्दा धेरै कार्यक्रम ‘औपचारिक रूपमै बन्द’ हुँदै

काठमाडौं । विगत छ सातादेखि जारी पजनीपश्चात अमेरिकी सहयोग नियोग (यूएसएआईडी)का अधिकांश कार्यक्रमहरू बन्द गरिएको विदेशमन्त्री मार्र्काे रुबिओले घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै रुबिओले उक्त नियोगले दशौँ अर्ब डलर ‘अमेरिकी स्वार्थअनुकूल नहुने ठाउँमा वा प्रतिकूल हुने गरी’ खर्च गरेको जनाए ।
यूएसएडका केही बाँकी कार्यक्रम (१८ प्रतिशत) मात्र अब अमेरिकी विदेश मन्त्रालयबाटै सञ्चालन हुने छ ।
विश्वभरि असर पर्ने चेतावनी
संसारभरिका मानवीय सहायता कार्यक्रममा सामेल सङ्घसंस्थाहरूले लामो समयदेखि चलिरहेका यूएसएआईडीका सहायता कार्यक्रम बन्द हुँदा अहिले नै त्यसका गम्भीर परिणामहरू देखा परिसकेको र फलस्वरूप कतिपय ठाउँमा मानव जीवन समेत जोखिममा पर्ने चेतावनी दिएका छन् ।
ट्रम्प प्रशासनले उसले अन्तर्राष्ट्रिय जगतमा गर्ने खर्च उसको ‘अमेरिका पहिले’ भन्ने नीतिसँग मेल खानुपर्ने बारम्बार बताउँदै आएको छ ।
जनवरी २० मा ट्रम्पले दोस्रो कार्यकाल सम्हाल्ने बित्तिकै यूएसएआईडीका हजारौँ कर्मचारीलाई बिदामा बस्न भनियो भने विदेशमा खटेका कर्मचारीहरूलाई फिर्ता बोलाइयो ।
पहिलो दिनमै हस्ताक्षर गरिएको कार्यकारी आदेशमा ट्रम्पले अन्तर्राष्ट्रिय सहायतालाई पनि रोक्का गर्दै यूएसएआईडीका विदेशस्थित कामको समीक्षा गर्न आदेश दिए । ती समीक्षा गर्ने जिम्मेदारी इलोन मस्क नेतृत्वको डिपार्टमन्ट अफ गभन्र्मन्ट इफिशन्सी (डीओजीई) लाई दिइयो ।
विकास सहायता कार्यसम्बन्धी हजारौँ ठेक्काहरू रद्द गरिए अनि हजारौँ कर्मचारीलाई अन्ततः बर्खास्त गरियो ।
‘एक्स’मा राखेको पोस्टमा विदेशमन्त्री रुबिओले समीक्षाका आधारमा अमेरिकाले यूएसएआईडीका ६,२०० कार्यक्रमहरूमध्ये करिब ५,२०० लाई ‘औपचारिक रूपमै बन्द’ गर्न लागिएको जनाएका छन् ।
‘कङ्ग्रेससँगको सरसल्लाहमा बाँकी १८ प्रतिशत कार्यक्रमहरू जुन हामी निरन्तर गर्न चाहन्छौँ (तिनलाई) विदेश मन्त्रालयअन्तर्गत थप प्रभावकारी रूपमा सञ्चालन गर्ने छौँ’ रुबिओले भनेका छन् ।
उनले “लामो समयदेखि आवश्यक रहेको र ऐतिहासिक सुधारका निम्ति घण्टौँ घण्टा काम गरेकोप्रति” डीओजीई र विदेश मन्त्रालयका कर्मचारीहरूलाई धन्यवाद दिएका छन् ।
अब के होला ?
डेमोक्र्याटिक पार्टी अनि कैयौँ मानवीय सहायता संस्थाहरूले अमेरिकी संसद् कङ्ग्रेसले कोष उपलब्ध गराउँदै आएको यूएसएआईडीका कार्यक्रमहरू रोक्ने कार्य अवैध भन्दै मुद्दा हालेका छन् ।
संसारभरि यूएसएआईडीलाई विभिन्न कार्य दिइएको थियो जसमा भोकमरीको अनुगमनदेखि लिएर पोलिओ खोप तथा द्वन्द्वग्रस्त क्षेत्रहरूमा खाद्य सहयोग रहेका थिए ।
उसका कार्यक्रम रोक्का गरेपछि त्यसका असर देखा पर्न थालिसकेका छन् ।
उदाहरणका लागि, सुडानमा मानवीय सहायता बन्द हुँदा त्यहाँको गृहयुद्धमा परेका अतिविपन्न मानिसहरूको निम्ति खडा गरिएका सामुदायिक भान्सा बन्द भएका छन् ।
यसबाट करिब २० लाख मानिस प्रभावित भएको अनुमान छ ।
तालिबान सरकारले महिला शिक्षामा बन्देज लगाएपछि भागेर ओमान पुगेका दर्जनौँ अफगान महिलाहरू अब तिनलाई यूएसएआईडीमार्फत् प्राप्त छात्रवृत्ति अकस्मात् रोकिएपछि अन्योलमा परेका छन् र स्वदेश फर्कने बाध्यतामा छन् ।
त्यस्तै भारतमा तेस्रो लिङ्गीहरूका निम्ति तीनवटा सहरमा खोलिएका मेडिकल क्लिनिकहरू बन्द भएका छन् । स्रोतः बीबीसी
क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति
प्रतिक्रिया