Techie IT
Samayabaddha
बुधबार, २८ फागुन, २०८१

काठमाडौंको तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको रास्वपा सांसदले बताएपछि कांग्रेसको अपत्ती


काठमाडौं, २८ फागुन । प्रतिनिधिसभामा रास्वपा सांसदले काठमाडौंको तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गरेको आरोप लगाएपछि नेपाली कांग्रेसले आपत्ती जनाएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद शिशिर खनाल र सुमना श्रेष्ठले तारकेश्वर वडा नम्बर ९ को लोकतान्त्रिक चोकको जग्गा कब्जा गरेको आरोप लगाएका थिए। त्यसपछि गैरजिम्मेवार ढंगले आफ्ना नेतामाथि आरोप लगाएको भन्दै कांग्रेस सांसदहरूले तथ्य पुष्टि गर्नुपर्ने माग गर्दै उठेर विरोध जनाएका थिए ।

शून्य समयमा सांसद श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ को लोकतान्त्रिक चोकमा रहेको किता नम्बर ६२ र ६३ को सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको आरोप लगाइन्। उनले स्थानीय बासिन्दाको उजुरीको बाबजुत पनि स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको दावी गरिन्।

सांसद खनाल र श्रेष्ठको आरोपपछि कांग्रेस सांसदहरूले उठेर आपत्ति जनाएका थिए । सुरूमा खनालको विषयमाथि कांग्रेसको आपत्तीपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जनाएका थिए। त्यसपछि सांसद श्रेष्ठले पुनः सोही विषय उठाएपछि कांग्रेस सांसदहरूले अभिव्यक्ति रेकर्डबाट हटाउन समेत माग गरेका थिए ।

सभामुख घिमिरेले प्रमाणित ढंगले आफ्नो अभिव्यक्ति राख्नुपर्ने बताए। यस विषयमा आएका विवादलाई प्रक्रियागत ढंगले समाधान खोज्नुपर्ने भन्दै उनले कांग्रेस सांसदहरूलाई बस्न आग्रह गरे। त्यसपछि कांग्रेस सांसदहरुले आसन ग्रहण गरेपछि सभामुखले बैठक अघि बढाए।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट