Techie IT
Samayabaddha
शुक्रबार, १४ चैत्र, २०८१

सिन्धुली बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानल घोषणा, स्वतन्त्र उम्मेदवार बिनोद कुमार कार्कीलाई क्रान्तिकारीले गर्यो कारबाही


सिन्धुली, ८ चैत । अखिल क्रान्तिकारी सिन्धुलीले बिनोद कुमार कार्कीलाई संगठनबाट निस्कासन गरेको छ । कार्कीले सिन्धुली बहुमुखी क्याम्पसमा भोलि शनिबार (चैत ९ गते) हुने निर्वाचनमा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको भन्दै अखिल क्रान्तिकारी जिल्ला समित सिन्धुलीले साधारण सदस्यसमेत नरहने गरि कार्कीलाई संगठनबाट निस्कासन गरेको हो ।

जिल्ला अध्यक्ष सुमन रानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भोलि हुन गइरहेको स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै संयुक्त प्यानल बनाई निर्वाचनमा सहभागी हुने अनेरास्ववियु र अखिल क्रान्तिकारी सिन्धुलीको निर्णय अनुसार सहमति कार्यान्वयन भई मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ । यसै विषयलाई लिएर सिन्धुली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका नेता बिनोद कुमार कार्कीले संगठनको निर्णय विपरित स्वतन्त्र ढंगले अध्यक्ष पदमा उम्मेदवारी दिएको र पटक पटक संगठन र पार्टी नेतृत्वको अनुरोधलाईसमेत कुनै प्रवाह नगरी अटेर गरेकाले साधारण सदस्य समेत नरहनेगरी संगठनबाट निस्कासन गरिएको छ ।’

तुलसी राम भुजेल अध्यक्ष र विष्णु पाण्डे सचिवको नेतृत्वमा रहेको संयुक्त प्यानललाई मतदान गर्न क्रान्तिकारीले अपिल गरिएको छ ।

अध्यक्ष पदका उम्मेदवार बिनोद कुमार कार्कीको भनाई (उनको फेसबुकबाट साभार) :

म, बिनोद कुमार कार्की, सिन्धुली बहुमुखी क्याम्पसको स्वतन्त्र उम्मेदवारका रूपमा स्ववियु सभापतिमा उम्मेदवारी दिएको छु। यस सम्बन्धमा केही सञ्चारमाध्यम तथा व्यक्ति विशेषले अनर्गल आरोप लगाइरहेको सन्दर्भमा सत्य जानकारी गराउन यो विज्ञप्ति जारी गर्न चाहन्छु।

सबैलाई अवगत नै छ, यसअघि म यही क्याम्पसमा अखिल क्रान्तिकारीको तर्फबाट स्ववियु सचिवको जिम्मेवारी सम्हालेको थिएँ। तर, वर्तमान परिस्थितिमा विद्यार्थी राजनीतिमा बढ्दै गएको दलगत हस्तक्षेप, विद्यार्थीका मुद्दालाई ओझेलमा पार्ने प्रवृत्ति र अस्वस्थ प्रतिस्पर्धालाई नजिकबाट अनुभव गरेपछि मैले राजनीतिक दल त्याग्ने निर्णय गरेको हुँ। म अहिले कुनै पनि राजनीतिक दलको साधारण सदस्य समेत छैन। पूर्ण रूपमा स्वतन्त्र रूपमा, विद्यार्थीहरूको हकहितको लागि, निःस्वार्थ रूपमा काम गर्ने अठोटका साथ स्ववियु सभापतिमा उम्मेदवारी दिएको छु।

तर, मेरो स्वतन्त्र उम्मेदवारीप्रति नियोजित ढंगले गलत प्रचारहरू गरिएका छन्। केही सञ्चारमाध्यम तथा व्यक्तिहरूले मलाई संसद राजन दाहालले ‘बागी उम्मेदवार’ बनाएको भन्ने आरोप लगाएका छन्, जुन पूर्ण रूपमा निराधार, भ्रामक र कपोलकल्पित हो। म स्पष्ट पार्न चाहन्छु— मेरो उम्मेदवारी कसैको इसारामा नभई, केवल मेरो नैतिक दायित्व, विद्यार्थीहरूको आवश्यकताप्रति बुझाइ, र स्वतन्त्र विद्यार्थी आन्दोलनको आवश्यकतालाई ध्यानमा राखेर दिइएको हो।

जब कुनै स्वतन्त्र उम्मेदवारको प्रभाव बढ्न थाल्छ, तब उसलाई विभिन्न राजनीतिक आस्थाका मानिसहरूले आक्रमण गर्नु नेपाली विद्यार्थी राजनीतिमा नयाँ कुरा होइन। मलाई विभिन्न राजनीतिक दलका व्यक्तिहरूबाट दबाब दिने, धम्की दिने, मानसिक तनाव सिर्जना गर्ने जस्ता कार्यहरू भएका छन्। तर म विचलित हुने छैन। किनभने म कुनै व्यक्तिगत स्वार्थका लागि नभई स्वतन्त्र विद्यार्थी नेतृत्व निर्माण गर्ने दृढ सङ्कल्पसहित अघि बढिरहेको छु।

आजको मुख्य प्रश्न के हो भने— विद्यार्थी राजनीति कहिलेसम्म दलहरूको ‘पपेट’ बनिरहनेरु विद्यार्थीहरूको आवाज कहिलेसम्म दलगत स्वार्थमा लटपटी रहनेरु अब समय आएको छ, विद्यार्थी राजनीति स्वतन्त्र बनाउने, वास्तविक रूपमा विद्यार्थीहरूको हितका लागि काम गर्ने, शिक्षालाई व्यापार र राजनीतिको उपकरण बन्न नदिने 

त्यसैले, म सम्पूर्ण विद्यार्थीहरूलाई आग्रह गर्न चाहन्छु—

हामीले सिन्डिकेट तोड्नुपर्छ, विद्यार्थी राजनीतिलाई स्वच्छ, स्वतन्त्र र प्रभावकारी बनाउनुपर्छ। राजनीतिक दलहरूबाट निर्देशित नभई, आफ्नै विवेकले निर्णय गर्ने संस्कार विकास गर्नुपर्छ।

सिन्धुली बाउमुखी क्याम्पसका हरेक विद्यार्थी साथीहरूलाई म अनुरोध गर्न चाहन्छु— आउनुहोस्, हातमा हात मिलाएर स्ववियु सभापतिमा स्वतन्त्र नेतृत्वको लागि मतदान गरौँ।

बिनोद कुमार कार्की
स्ववियु सभापति उम्मेदवार (स्वतन्त्र)
सिन्धुली बहुमुखी क्याम्पस


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट