प्रेस चौतारीमा गणेश पाण्डे र राजेश राईबीच कडा प्रतिस्पर्धा

काठमाडौं, ८ चैत । सत्ताको नेतृत्त्व गरिरहेको नेकपा (एमाले)को जनवर्गीय संगठन प्रेस चौतारीको अधिवेशन यही चैत १० देखि १२ गतेसम्म विराटनगरमा हुँदैछ । पार्टी प्रचार विभाग सचिवसमेत रहेका गणेश पाण्डे र उपाध्यक्ष राजेश राईबीच अध्यक्षमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रधानमन्त्री केपी ओलीले जनसंगठन प्रमुख भानुभक्त ढकाल, पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, प्रेस चौतारी अध्यक्ष गणेश बस्नेतलगायत नेताहरुलाई केही दिनअघि बालुवाटार बोलाएर प्रेस चौतारीको नेतृत्व सहमतिमा टुंग्याउन निर्देशन दिएका थिए ।
तर महाधिवेशन आउन एक दिन बाँकी छँदा आज राई र पाण्डेले अध्यक्षमा उम्मेदवारी घोषणासमेत गरिसकेका छन् । अध्यक्ष बन्नका लागि पाण्डेले पार्टी प्रचार विभाग सचिवबाट राजीनामा दिइसकेका छन् । उनलाई अध्यक्ष बनाउने ओलीको तयारी छ र सोहीअनुसार हाल चौतारीका अध्यक्ष गणेश बस्नेतसहितलाई बालुवाटारले निर्देशन दिइसकेको बताइन्छ ।
यसअघि फागुन १६ गते बालुवाटारमै बसेको पार्टी सचिवालय बैठकले पाण्डेलाई प्रचार विभाग सचिवमा लगेर चौतारीको अध्यक्ष राईलाई बनाउने भनेको थियो । ढकाल, गौतम र बस्नेतसँगको छलफलपछि उक्त निर्णय सुनाएका ओलीले लगत्तै बसेको सचिवालय बैठकमा सोही प्रस्ताव राखेका थिए । त्यसपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असन्तुष्टि जनाएका थिए ।
सोही बैठकमा सचिवालय सदस्यबीच कुराकानी हुँदा राजेशलाई चौतारीको अध्यक्ष बनाउने प्रस्ताव ओलीबाटै भएको थियो । तर एकाएक पाण्डेले प्रचार विभाग सचिवबाट राजीनामा दिएर खुल्ला मोर्चामै सकृय हुने अडान दोहोर्याएपछि राईले पनि चुनाव लड्ने घोषणा गरेका छन् । यतिबेला एमाले अध्यक्ष ओलीले कस्तो निर्णय गर्लान् ? यो निकै चाखलग्दो विषय बनेको छ । अध्यक्ष ओलीले पाण्डेको लेखन, डक्युमेन्ट्री निर्माण, जनसम्पर्क क्षमता र खट्नसक्ने प्रतिभा पहिचान गरेपछि विराटनगर उड्न ठिक्क परेका चौतारीका नेताहरु के, कसो गर्ने भन्ने दोधारमा परेका छन् ।
नेतृत्वका लागि पुराना चौतारीवाला एकमत नभएको स्थितिमा अघिल्लो महिना समाजवादी प्रेस संगठन छोडेर फर्किएको विश्वमणि सुवेदी समूहले कुन पद हात पार्ला यो पनि रोचक विषय बनेको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया