Techie IT
Samayabaddha
मंगलबार, ११ चैत्र, २०८१

राजतन्त्रको भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन् : बाबुराम भट्टराई


जनकपुर, ९ चैत । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले राजतन्त्र भूत हो, र भूत भ्रम हुने बताएका छन् । ‘यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना’, उनले भने।

शनिबार जनकपुरमा पार्टीको पहिलो महाधिवेशनको भाव सम्प्रेषण तथा प्रशंसा अभियान उद्घाटन गर्दै भट्टराईले पञ्चायती शासन चलाउने सपना देख्नेहरू अहिले आफै द्विविधामा रहेको बताए। ‘तसर्थ, सत्ताको भोकले तिर्खाएका नेताहरूले पनि यो सत्य स्वीकार गर्नुपर्छ’, उनले भने। अध्यक्ष भट्टराईले राजा र राणाका पालामा आजभन्दा तीन गुणा बढी भ्रष्टाचार हुने बताए।

‘आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजाहरू र राणाहरूको पालामा हुन्थ्यो। तर उनीहरू त्यति कुटिल थिए कि तिनका गलत कामहरू जनतासम्म पुग्नै दिँदैनथे। त्यसैले जनतालाई शिक्षित नै गराइएन। अहिले जनता पढ्न-लेख्न पाएका छन्। केही क्षेत्रमा अझै शिक्षा आवश्यक छ, तर त्यस समयमा त आधारभूत शिक्षा पनि सीमित व्यक्तिहरूसम्म मात्र सीमित थियो। राजाहरूले आफ्नै सत्ता सुरक्षित राख्नका लागि खोलिएका केही विद्यालयहरूमा मात्र शिक्षाको पहुँच थियो’, उनले भने।

उनले पुराना दलबाट परिवर्तन सम्भव नभएको पनि बताए । पुराना पार्टीले देशलाई नयाँ उपलब्धि नदिने दाबी गर्दै वैकल्पिक शक्ति एकजुट भएर हिँड्नुपर्ने उनको धारणा छ । लोकतान्त्रिक व्यवस्थाले जनतालाई स्वतन्त्र ढंगले बोल्ने, आलोचना गर्ने र सरकार छान्ने अवसर दिएको बताउँदै भट्टराईले अब जनताले विकल्पयुक्त सोच भएका नयाँ पुस्ताका सक्षम नेताहरुलाई छान्नुपर्ने बताए।

‘हामी पछाडि फर्किने कुरा हुँदैन्। मधेशजस्तो क्षेत्र, जहाँ विभिन्न समुदायहरू वर्षौंदेखि उत्पीडनमा परेका थिए, अब जागिसकेका छन्, र तिनलाई छलकपट गर्न अब कठिन छ’, उनले भने।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट