Techie IT
Samayabaddha
आईतबार, १६ चैत्र, २०८१

प्रतिनिधिसभा बैठक आज बस्दै, कुलमानको विषयलाई लिएर विपक्षी दलहरूले बैठक अवरुद्ध गर्ने तयारी


काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीमा राखिएको छ । अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार) पेस गर्ने कार्यसूची रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

विपक्षी दलहरूले कुलमान घिसिङको बर्खास्तबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने भन्दै सदन अवरुद्ध पार्ने तयारी गरेकोले आजको बैठक कार्यसूची अनुसार सञ्चालन हुनेमा आशङ्का कायमै छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट