ज्ञानेन्द्र शाहले अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन : प्रचण्ड

काठमाडौं, १५ चैत। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा गरिएका कमजोरीकै कारण इतिहास बनिसकेको राजतन्त्रले टाउको उठाउन खोजेको बताएका छन् ।
जनआन्दोलन र जनयुद्धको माध्यमबाट सामन्ती राजतन्त्रको ढाड भाँचेको भए पनि संविधान जारी गरेपछि गरिएका केही कमजोरीका कारण अहिले उनीहरूले टाउको उठाउने कोशिश गरेको उनको भनाइ छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित समाजवादी मोर्चाको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनयुद्धको नेतृत्वकर्ता, शान्ति सम्झौता, गणतन्त्र घोषणा र संविधान निर्माणको नेताको हैसियतले देशभरका जनतालाई भन्न चाहन्छु, समस्या विगतमा केही त्रुटी गरेकाले पनि पैदा भएका छन् । ‘हामी गणतन्त्रवादीहरूले केही कमजोरी गरेकैले दलाल, नोकरशाहीहरूले पनि थुप्रै लाभ लिने अवसर प्राप्त गरे । तर, अब त्यसलाई सच्याइनेछ ।’
उनले समाजवादी मोर्चा र व्यक्तिगत तर्फबाट आत्मआलोचना र्दै अब जनअपेक्षा अनुसार काम गर्ने र इतिहासमा कुडाकर्कट बनिसकेकाहरूले टाउको उठाउन चाहेको आन्दोलनलाई अन्त्य गर्ने जिकिर गरे ।
‘गल्तीबाट शिक्षा लिएर पुनः मजदुर, किसान, उत्पीडित जनता, महिला, मुस्लिम सबैको पक्षमा काम गर्न अर्को क्रान्तिको नेतृत्व गर्न हामी तयार भएका छौं,’ उनले भने, ‘यो कुरा मञ्चबाट औपचारिकताको लागि मात्र भनिराखेको छैन । एउटा नयाँ आन्दोलन, नयाँ क्रान्तिको नेतृत्वद्वारा अहिले देखिएको समस्या समाधान गर्न चाहन्छौं ।’
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी समेत दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न आग्रह गरे ।
‘नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगरियोस् । विगतमा उनले धेरै गल्ती गरे,’ प्रचण्डले भने, ‘त्यो गल्तीको परिणाम भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन । खबरदार ।’
क्याटेगोरी : राजनीति
प्रतिक्रिया