काठमाडौँको एक मन्दिरमा लुकेर बसिरहेको छु : दुर्गा प्रसाई

काठमाडौं, १७ चैत । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले आफू काठमाडौँको एक मन्दिरमा लुकेर बसिरहेको जानकारी दिएका छन् । शुक्रबार तीनकुनेमा बबण्डर मच्याएर भागेका उनले आज भिडियो सन्देश जारी गर्दै उक्त कुरा बताएका हुन् ।
राजसंस्था पुर्नस्थापनको माग गर्दै राजावादीहरुले अस्ति तीनकुनेमा आयोजना गरेको प्रदर्शन भड्किएर हिंसामा परिणत हुँदा दुई जनाको मृत्यु भएको छ । आन्दोलनको कमाण्डर तोकिएका प्रसाईले उत्तेजित भिडलाई उक्साउँदै सुरक्षा घेरा नाघेर प्रहरीलाई गाडीले किच्न खोजेपछि परिस्थिति बिथोलिएको थियो ।
त्यसपछि शान्तिनगरमै गाडी छोडेर फरार उनले आज मन्दिरलाई पृष्ठभूमिमा राखेर खिचिएको भिडियो सन्देश जारी गर्दै आफू भागेर कतैपनि नगएको तर्क गरेका छन् । आगो लगाइएको घरलाई सिभिल पोशाकमा रहेका प्रहरीले बिहानैदेखि कब्जा गरेर बसेको र राजावादीको कार्यक्रम सुनियोजित रुपमा बिथोल्ने योजना बनाएको प्रसाईको जिकिर छ । ‘सिभिल प्रहरीले त्यो घरलाई बिहानैदेखि कब्जा गरेर बसेका थिए’, उनले भनेका छन्, ‘म पुग्नुभन्दा १५ मिनेट अघि नै कार्यक्रमस्थल रणभूमि बनिसकेको थियो ।’
आफूलाई मार्न साप सुटर परिचालन गरिएको सुराकी पाएपछि गाडी चलाएर भाग्न बाध्य भएको उनको दाबी छ । ‘प्रहरीलाई मैले जति माया गर्ने कोही छैन, तर छतमा साप सुटर बसेर मलाई टार्गेट बनाइरहेको भन्ने सुराकी पाएँ । त्यहिबेला मेरो गाडीमा टियर ग्याँस आयो र कानको छेउबाट गोली गयो, त्यसपछि मैले ड्राइभरलाई हटाएर आफै गाडी चलाउँदै निस्केँ’, उनले थपेका छन् ।
अस्ति भीडमा आफ्नो कारण चोटपटक लागेका प्रहरीसँग उनले माफी पनि मागेका छन् । ‘तपाईहरुसँग मेरो कुनै दुश्मनी छैन, माफी चाहन्छु, मलाई खोज्नुपर्दैन’, खुलाएका छन्, ‘प्रधानमन्त्रीले मलाई भेट्नबित्तिकै प्रहरीलाई गोली हाल्ल आदेश दिएको जानकारी पाएपछि सुरक्षित भएर बसेको छु एउटा मन्दिरमा । काठमाडौँमै छु, भागेको छैन, भाग्दैन पनि ।’
क्याटेगोरी : जनमञ्च, राजनीति
प्रतिक्रिया