Techie IT
Samayabaddha
मंगलबार, १८ चैत्र, २०८१

प्रधानमन्त्री ओलीले साँझका लागि डाके सर्वदलीय बैठक


काठमाडौं, १७ चैत । मुलुकमा विकसित प्रतिकूल परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन् ।

सभामुख देवराज घिमिरेले आज राखेको मुख्य दलका प्रमुख सचेतकहरुको बैठकमा सो कुरा जानकारी गराइएको हो । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाएको बताए ।

शुक्रबार दुई जनाको ज्यान जानेगरी राजावादीको तर्फबाट भएको हिंसात्मक आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका साथै समसामयिक घटनाबारे छलफल गर्न आज साँझ सर्वदलीय बैठक बस्ने बताइएको छ । संसदको अवरोध खुलाउने सम्बन्धमा प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डबीच टेलिफोन संवाद भएको कुरा पनि सभामुखसहितको बैठकमा बर्तौलाले सुनाए ।

तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले गणतन्त्र पक्षधर शक्तिबीच टसल बढ्नेगरी संसदमा प्रस्तुत हुन नहुने भन्दै नयाँ सहमति कायम भएको बताइएको छ । कुलमान घिसिङ कारवाही प्रकरणलाई लिएर सदन अवरोध गरिरहेका विपक्षीले प्रधानमन्त्रीको जवाफ मागेका छन् ।

तर, एकजना कर्मचारी हटाएको विषयलाई अनावश्यक उचालिएको भन्दै असन्तुष्ट प्रधानमन्त्री कुनै हालतमा रोष्टममा उभिएर जवाफ नदिने अडानमा थिए । तर, राजावादी हर्कत बढेका बेला सत्तापक्ष लचक हुनुपर्ने कांग्रेस नेताहरुको सुझावपछि १८ गते बस्ने संसद बैठकमा प्रधानमन्त्रीले जवाफ दिने सहमति जुटेको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट